तानसेनको बजेट नीति तथा कार्यक्रम सार्वजनिक : १ अरब ७६ करोड ७६ लाख बराबरको बजेट, उत्पादन र राेजगारीमा उच्च प्राथमिकता

पाल्पा, तानसेन नगरपालिकाले १५ औँ अधिवेशनकाे नगर सभा मार्फत बजेट नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । तानसेन नगरपालिकाकाे अधिवेशन तथा नगर सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम पेश भएको हो ।नगरपालिकाकाे १५ औँ अधिवेशन तथा नगर सभाकाे बैंठकमा तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले १२० बुँदे नीति तथा कार्यक्रम र नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले १ अर्व ७६ करोड ७६ लाख रूपैयाँकाे बजेट नगर सभा समक्ष पेश गर्नुभएको थियोे ।

नगर प्रमुख र उप-प्रमुखद्वयले प्रस्तुत बजेट नीति तथा कार्यक्रम नगरकाे विकासका लागि नीति कार्यक्रममा समेट्दै ‘स्वस्थ्य शिक्षित नागरिक, उद्यमशील, व्यवसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने नगर, स्वच्छ, सुन्दर, पर्यटकीय, व्यवस्थित एवं समावेशी र समृद्ध सांस्कृतिक नगरपालिका’ भन्ने लक्ष्यलाई साकार पार्ने गरी नीति तथा कार्यक्रममा समावेश गरि ल्याइएको नगर प्रमुख श्रेष्ठले बताउँनुभयाे । उहाँले नगर सभामा पेश गर्नुभएको नीति तथा कार्यक्रमले नेपालकाे संविधान एवं संघीयताकाे प्रभावकारी कार्यान्वयनलाई जोड दिएको छ भन्दै प्रस्तुत नीति तथा कार्यक्रमले उत्पादन, उत्पादकत्व, रोजगारीलाई समेत उच्च प्राथमिकतामा राखेको उहाँले भन्नुभयो ।

तानसेनकाे विकास पर्यटन कृषि क्षेत्रमार्फत युवा उद्यमशीलता र रोजगारसँग जोड्ने गरी नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयाे। पर्यटकीय क्षेत्रको पूर्वधार विकासका लागि आवश्यकता अनुसार सडक, विद्युत्, पुलपुलेसा, खानेपानी र सार्वजनिक शौचालय,सूचना तथा जानकारी पाटीको प्रवन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ऐतिहासिक पाल्पा दरबार परिसरको विकासका लागि संघ, प्रदेश र पुरातत्व विभागसँग सहकार्य गरिने नीति तथा कार्यक्रमले समेटेको भन्दै नगर प्रमुख श्रेष्ठले अमरनारायण मन्दिर परिसर रहेको फुलबारी लगायत वडाहरुमा रहेका खुला क्षेत्रहरुको सौन्दर्यकरण गरिने भगवती मन्दिरलाई पुरानै संरचनामा निर्माण गर्न आवश्यक पहल गरिने,स्थानीय समुदायको साझेदारीमा ऐतिहासिक टक्सार क्षेत्रलाई खुला संग्रहालयको रुपमा विकास गरिने, स्थानीय संस्कृतिकहरुको संरक्षण संवर्द्धन लागि श्रीनगर सांस्कृतिक डवलीलाई अधिकतम प्रयोगमा ल्याउन स्थानीय समुदाय र निजीक्षेत्रसँग सहकार्य गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यस्तै कृषि विकास तथा पशु सेवातर्फ कृषि तथा पशुपन्छी बजार सुचना केन्द्र, बजार तथा हाटबजारको पूर्वधार निर्माण, साना सिचाई निर्माण, तालिम तथा सीप विकास, प्रविधि प्रसार, प्राविधिक सेवा, टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने, किसानलाई विउ, मल, प्रविधि, प्रशोधन, भण्डार कार्यमा प्रत्यक्ष सहयोग तथा सशक्तीकरण गरिने,उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारिकरणलाई उच्च प्राथमिकता दिइने,व्यवसायिक गाईभैसी, बाख्रा, कुखुरा, बंगुरपालन तथा कृषि विउ, विजन वितरण तथा मौरी घारमा विशेष अनुदानको व्यवस्था मिलाईने, पशु नश्ल सुधार पद्धतीको विकासलाई विस्तार गरिने, जंगली जनावर नियन्त्रणको लागि सफल विकल्पहरु कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख श्रेष्ठले बताउँनुभयाे ।

युवा रोजगार र स्वरोजगारका कार्यक्रमहरु अगाडि बढाइने, पाल्पाली करुवा,तामा र फलामका भाँडा तथा औजारहरुको उत्पादन र बजारिकरणमा विशेष पहल गरिने जनाइएको छ । यस्तै पाल्पाली ढाकाको विकास, विस्तार र प्रचार प्रसार गर्न तानसेन नगरपालिका मातहतका जनप्रतिनिधि,कार्यालयहरुमा कार्यरत कर्मचारीहरुका लागि शुक्रबारका दिन अनिवार्य रूपमा पाल्पाली ढाकाबाट निर्मित पोशाक र ढाका ढोपी लगाउने नीति समेत नगर सरकारले लिएको छ । यस्तै नगर सरकारले द्धन्द्ध पीडित,असहाय तथा एकल महिलाहरुको लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने,रोजगार सूचना केन्द्रमार्फत बेरोजगार रहेकाहरुको तथ्यांक संकलन गर्ने अध्यावधिक गरी प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ श्रममा आधारित रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै तानसेन नगरपालिकाकाे १५ औँ अधिवेशन तथा नगर सभाकाे पहिलो बैंठकमा उपप्रमुख सिंजालीले आर्थिक वर्षको लागि १अरब,७६ करोड ७६ लाख २० हजार ९ सय ५७ बराबरको अनुमानित बजेट पेश गर्नुभएको छ। अघिल्लो बजेट भन्दा याे वर्षकाे बजेट बढेर आएको छ । तानसेन नगरपालिका सरकारले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अरब २ करोड ८० लाख ६४ हजार ३ सय ६७ बराबरको बजेट ल्याएको थियो । यस पटक पूँजीगत बजेट बढी देखिएको हाे । शहरी शासकीय कार्यक्रमतर्फको पुँजीगत रकमको कारण पुँजीगत खर्च बढी देखिएको तानसेनकाे प्रस्तुत नीति तथा कार्यक्रममा बजेट पेश गर्दै उपप्रमुख सिंजालीले बताउँनुभयाे। उहाँका अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि चालुतर्फ ८४ करोड ७७ लाख ७ हजार ५ सय ७५ (४७.९६ प्रतिशत) र पुँजीगततर्फ ९१ करोड ९९ लाख १३ हजार ३ सय ८२ (५२.०४ प्रतिशत) रहेको छ। आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार १ सय ४९, भौतिक पूर्वधार विकासतर्फ ८३ करोड ८१ लाख ९२ हजार ४ सय ५३, सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार ४ सय ७२, सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७ हजार ७ सय २, वातारण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५ हजार १ सय ८९ रहेको उपप्रमुख सिंजालीले उल्लेख गर्नुभयाे ।

यस्तै बैंठकमा आर्थिक विकास समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक २०८१, उपप्रमुख प्रतिक्षा सिंजालीले विनियोजन विधेयक २०८१, मध्यकालीन खर्च संरचना २०८१, न्यायक समितिको चालु आ.व. को हालसम्मको प्रतिवेदन, विधायन समितिका संयोजक महेश्वर श्रेष्ठले लैंङिक समानता, अपाङ्ता, तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८१ समेत पेश गर्नुभएको थियोे । नगर सभामा पेश गरिएको प्रतिवेदन एवं विधेयक माथि असार २८गते बस्ने नगर सभाको दोस्रो बैंठकमा छलफल सहित पारित गरिने नगरप्रमुख श्रेष्ठले बताउँनुभयाे । नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा भएको नगर सभा पहिलो बैठक सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, जनप्रतिनिधि, कर्मचारी एवं पत्रकारहरुको उपस्थितीमा सूचना अधिकृत भरत आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *