त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकाे सत्तरी औँ वार्षिकोत्सव सम्पन्न

पाल्पा, पश्चिम क्षेत्रकै पुरानो शैक्षिक इतिहास बाेकेकाे शिक्षाकाे क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले सत्तरी औँ वार्षिक उत्सव मनाएको छ । त्रिभुवन बहुमुखी क्याम्पसले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो वार्षिक उत्सवलाई मनाएको हो । बि.सं २०११ सालमा तत्कालिन गभर्नर तारकबहादुर शाहको अध्यक्षतामा स्थापना भई यु.पि बोर्डको कोर्स राखेर सुरु भएको त्रिभुवन इन्टर मिडियट कलेजले विभिन्न आराेह पार गर्दै आफ्नो शैक्षिक यात्रा सुरु गरेको क्याम्पसले स्थापना भएकाे दिन देखि वर्तमानमा आइपुग्दा क्याम्पसबाट लाखौ दक्ष जनशक्ति उत्पादन भैसकेको छ ।

बि.सं.२०११ देखि २०३० सम्मको बीस वर्षकाे अवधिमा पाल्पा क्याम्पसमा त्यस बेला पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका साेह्र जिल्लाबाट अध्ययन गर्न आउँदा सात देखि आठ हजार विद्यार्थी क्याम्पसमा हुने गर्दथे । जसका कारण तानसेन बजार नै गुल्जार हुने गर्दथ्यो । समय बदलिदो परिस्थिती र विकास क्रमले अहिले त्यस्तो अवस्था रहेको पाइँदैन ।

सत्तरी औँ वार्षिकोत्सवको अवसरमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनले यिनै कुराहरु औल्याएका छन् । वर्तमानमा त्रिभुवन बहुमुखी क्याम्पसमा दुई हजार छ सय दस जना विद्यार्थीहरू अध्ययनरत रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।क्याम्पसकाे सत्तरी औँ वार्षिकोत्सबकै अवसरमा तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पूर्व क्याम्पस प्रमुख स्वर्गीय धिरेन्द्र प्रसाद श्रेष्ठको स्मृतिमा बनाइएको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियाे ।

वार्षिकोत्सब कार्यक्रममा नगर प्रमुख श्रेष्ठले त्रिभुवन क्याम्पसको गरिमा र यसको शैक्षिक इतिहास बारे चर्चा गर्दै क्याम्पसले उत्पादन गरेका दक्ष जनशक्तिहरू आज राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको बताउँनुभयाे । उहाँले विगतको गौरवशाली इतिहास बोकेको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसले समय सापेक्ष शैक्षिक तथा गुणात्मक विकासका लागि सबै क्षेत्रबाट रचनात्मक सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्ती, नेकपा माओवादी जिल्ला संयाेजक राजेन्द्र विश्वर्कमा, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला अध्यक्ष सुमन गैरे, नेकपा समाजवादी जिल्ला अध्यक्ष अशोककुमार शाही, राप्रपा जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष विशाल दर्लामी, पूर्व क्याम्पस प्रमुखहरु चोलेश्वर शर्मा, मनमोहन श्रेष्ठ, केशवराज शर्मा लगायत सघंसस्था प्रमुखहरुले वार्षिकोत्सबकाे अवसरमा शुभकामना मन्तब्य राख्दै त्रिभुवन बहुमुखी क्याम्पस सबैको साझा संस्था भएकाले यसमा राजनीति करण नगरी विशुद्ध शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएकाे थियोे ।सत्तरी औँ वार्षिकोत्सब कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईको अध्यक्षतामा सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीको स्वागत र प्रध्यापक पुस्कर आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *