पाल्पाकाे पत्रकारितामा नेतृत्वदायी भूमिकामा प्रेस चौतारी नेपाल

नवराज ज्ञवाली पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाकाे आयोजनामा चौतारीसंग आबद्ध पत्रकारहरूकाे भेला तथा पार्टी नेतृत्व र पदाधिकारीका लागि बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । प्रेस चाैतारी नेपाल पाल्पाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित भेलाकाे आयोजना गर्दै हालसालै सम्पन्न भएको पार्टीको दसौं अधिवेशनबाट नव निर्वाचित पार्टी नेतृत्व र पदाधिकारीलाई बधाई एवं सम्मान गरिएको हाे। नेकपा एमालेकाे भातृ संगठनकाे रूपमा रहेको प्रेस चाैतारी नेपालले विभिन्न गतिविधि सहित पाल्पाली पत्रकारिताकाे क्षेत्रमा रचनात्मक कार्यक्रम सहित नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

प्रेस चाैतारी नेपाल पाल्पाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रिय पोलिटव्यूरो सदस्य ,पाल्पा क्षेत्र नं.-२ का संघीय सांसद ठाकुरप्रसाद गैरेले समाजमा भएको बेथिति र विसंगतिका विरुद्धमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउँनुभयो।कार्यक्रममा बाेल्नुहुँदै संघीय सांसद गैरेले पाल्पाकाे पत्रकारिता र पत्रकारिताकाे विकासमा प्रेस चौतारीकाे नेतृत्वदायी भूमिका रहेको बताउँनुभयो । पछिल्लो समय प्रविधिको विकास संगै पत्रकारितामा उत्पन्न समस्याकाे न्यूनीकरणमा सहजीकरण गर्न सक्ने नेतृत्व पत्रकार महासंघमा आवश्यक रहेको भन्दै प्रेस चौतारीको नेतृत्वमा पत्रकार महासंघ पाल्पालाई अगाडि बढाउनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो । हिजोकाे दिनमा भएका केहि कमीकमजोरीकाे अभ्यासलाई सिकाईकाे रुपमा लिएर अघि बढ्नुपर्ने बताउँदै पत्रकारिताको मर्म र धर्मको रक्षाका लागि सधै चौतारीकर्मीहरु एक ठाउँमा रहनुपर्ने उहाँले बताउँनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले आफ्नो नेतृत्वमा बनेको जिल्ला कमिटी पदाधिकारीलाई बधाई ज्ञापन गरेकोमा प्रेस चौतारी नेपाल पाल्पालाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले प्रेस चाैतारीकाे भेला छलफल तथा समीक्षाले काम गर्ने उत्साह थप्ने बताउँदै आसन्न पत्रकार महासंघको निर्वाचन लक्षित भेला छलफल तथा बिचार व्यक्त गर्ने महत्वपूर्ण थलो भएकोले पनि खुलेर छलफल हुनुपर्ने बताउँनुभयो । सिङ्गो समाजलाई नै रुपान्तरण गर्नमा पत्रकारहरुको ठुलो भूमिका हुने भएकोले त्यसलाई पूर्ण इमानदारीपूर्वक पेशागत धर्म निर्वाह गर्दा हरेक वर्गको हित हुने अध्यक्ष घर्तीले बताउँनुभयो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको पछिल्लो क्रियाशीलता प्रसंशायाेग्य रहेको भन्दै सोहि अनुसार नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको हितमा क्रियाशील गराउन निर्वाचनमा एक भएर नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेकपा एमाले केन्द्रिय कमिटी सल्लाहकार मेघराज शर्माले सिङ्गो प्रेस चौतारी एक ठाउँ उभिदा महासंघको नेतृत्वका लागि कुनै समस्या नरहेको बताउँनुभयो ।उहाँले महासंघको स्थापना कालदेखि अहिलेसम्म भएका हरेक निर्वाचनको एक मात्र साक्षी आफूमात्र रहेको बताउर्दै नैतिकता नबेचेर इमान्दारी पूर्ण प्रस्तुत हुँदा प्रेस चौतारी नेपालको नेतृत्व सुनिश्चित रहने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एमालेका नेता तथा पाल्पा क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले चौतारीकर्मी पत्रकारहरुले खोजी पत्रकारितालाई प्राथमिकताा राखेर काम गर्नुपर्ने बताउँनुभयो । उहाँले औपचारिक समाचार भन्दा खोजी पत्रकारिताको बजार राम्रो भएकोले यसमा ध्यान दिन आग्रह गर्नुभयो । विगत लामो समयदेखिको पत्रकारिता क्षेत्रमा रहेको प्रेस चौतारी नेपालको योगदानको निरन्तरताका लागि पनि नेपाल पत्रकार महासंघको नेतृत्व आवश्यक रहेको सांसद आचार्यको भनाइ थियो ।भेला तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी चौतारीकर्मीहरुले अहिलेसम्म भएका गतिविधि र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको निर्वाचन र आफ्नो उमेदवारी विषयमा आ-आफ्ना भनाइ राख्नुभएको थियोे । उहाँहरूले पत्रकार महासंघ पाल्पा शाखामा चौतारीको एकल बहुमत रहेकोले निर्वाचनमा एकल रुपमा जानुपर्ने सुझाव समेत राख्नुभएकाे थियाे । सधै मिलेर र मिलाएर जाने विषयमा उदार हुँदा बहुमत भैकन पनि पछिल्लो निर्वाचनमा चौतारीले पाएको घोकालाई सिकाईका रुपमा लिएर अघि बढ्नुपर्ने कुरामा सहभागीले जोड दिनुभएको थियोे ।

भेलाले पत्रकार महासंघ चौतारीको नेतृत्वमा अगाडि बढाउने निर्णय गरेको छ । साथै निर्वाचनमा प्रेस चौतारीको तर्फबाट उमेद्वारको छनोटका लागि पाँच सदस्यीय कार्यदल गठन समेत गरेको छ । नेकपा एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीमगर र वरिष्ठ पत्रकार मेघराज शर्माको प्रत्यक्ष निगरानीमा प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष केशवराज नेपाल, पूर्व अध्यक्ष भगवान भण्डारी, रामप्रसाद न्यौपाने, कमलराज तिमिल्सेना र राजेन्द्र लिगलले काम गर्नेगरी कार्यदल गठन गरिएको छ । कार्यदलले आवश्यक समन्वय र छलफलबाट उमेद्वारको टुंगो लगाउने छ । प्रेस चौतारी नेपाल पाल्पा शाखा अध्यक्ष कृष्ण कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष बस्यालको स्वागत र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *