पाल्पा जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

नवराज ज्ञवाली पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाले नेपाल सरकारले ताेकेकाे तेह्र वटा राेग बिरूद्धकाे खाेपहरू जिल्लाका सबै पालिकाद्वारा पुरा भए पछि जिल्लालाई एक कार्यक्रमका बीच पूर्णखोप दिगोपना सुनिश्चितता भएको घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय पाल्पाले नेपाल सरकारले तोकेका तेह्र वटा सरुवा रोगहरू विरुद्धका खोपहरू सबै बालबालिकाहरूलाई लगाए पछि पाल्पा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय पाल्पाद्वारा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पा जिल्ला लाई पूर्णखोप दिगोपना सुनिश्चितता भएको घोषणा गर्नुभएकाे हाे ।

कार्यक्रममा सभामुख घर्तीमगरले, प्रदेशका पूर्व मन्त्री विर बहादुर राना, प्रदेश सदस्य खेमबहादुर सारुको सहभागितामा जिल्ला खोप समन्वय समिति पाल्पा प्रमुख एवं जिल्ला खाेप समन्वय समिति संयाेजक टंकनाथ खनाल,सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा.राजेन्द्र कुमार गिरी सहितको टोलीलाई लुम्बिनी प्रदेश सरकारकाे प्राप्त पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको प्रमाण-पत्र प्रदान गर्नुभएको थियोे ।

पूर्णखाेप दिगोपना सुनिश्चितता जिल्ला खोप समन्वय समितिको निगरानीमा स्वास्थ्य कार्यालय पाल्पाको अगुवाइमा प्रत्येक वर्ष पालिकाको प्रत्यक्ष सहभागितामा कार्ययोजना सहित प्रत्येक वर्ष चैत महिनाभित्र पालिकाका हरेक बालबालिकाहरूकाे घरघरमा पुगी बच्चा जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको रोष्टर तयार गरि खोप कार्डको आधारमा कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटेको प्रमाणित गरेर वडा,पालिका हुँदै जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने गरिएको खोप समन्वय समिति सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताउँनुभयाे । उहाँले जिल्लाका वडा,पालिकाले वैशाख २० गतेदेखि जेठ ३० गतेसम्म पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिसकेकाले जिल्ला खोप समन्वय समितिकाे अनुगमन तथा बैठकले जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता भएको घोषणा गर्ने निर्णय संगै एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण खाेप दिगोपना सुनिश्चितता घाेषणा गरिएको हो भन्नुभयो । उहाँले पाल्पा जिल्लामा जन्मेदेखि १५ महिनासम्मका ३३०८ जना बालबालिकामा र १६ महिनादेखि ५९ महिना सम्मका १० हजार ५६० जना बालबालिका मध्ये १० हजार ५५४ जनामा पुर्णखोप लगाई जिल्लालाई पूर्णखाेप दिगोपना सुनिश्चितता गरिएको जानकारी गराउँनुभयाे।जसमा १६ देखि ५९ महिना उमेरका ६ जना बालबालिका आंशिक रुपमा पूर्णखोपबाट बञ्चित रहेका छन्। उमेर समूहका आधारमा १६देखि २३ महिनासम्मका २०२५ जना, २४ देखि ५९ महिनासम्मका ८५३५ जना बालबालिकाले पूर्ण खोप पाएका छन् उहाँले भन्नुभयो । जिल्लामा पूर्णखोप दिगोपना सुनिश्चितता भएको कार्यक्रमको निरन्तरताले कुनै पनि बालबालिकाहरू नेपाल सरकारले प्रदान गरेको तेह्र प्रकारका सरुवा रोग विरुद्धको खोप कार्यक्रमबाट नछुट्ने बताउँदै यदि छुटिहालेमा त्यसको खोजबिन गरेर पुन: खोप लगाउने भन्दै याे अभियानले बालमृत्यु दरको अवस्थालाई समेत न्युनिकरण हुँदै निर्मुल गर्ने स्वास्थ्य कार्यालय प्रमुख डा.गिरीले बताउँनुभयाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले संघीय सरकारदेखि स्थानीय सरकारसम्म स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन निकै कम हुने गरेको बजेट जति भौतिक पूर्वाधारमा खन्याउने प्रचलनमा तुरुन्त सुधार गर्नुपर्ने बताउँनुभयाे । राजनीतिक दलका नेता, सरकारका मन्त्री, कर्मचारीहरू भाषणमा स्वास्थ्यलाई राम्रो बनाउने भन्ने तर व्यवहारमा नीति अनुसार काम नगरेको जसको कारण लुम्बिनी प्रदेशमा मातृ मृत्युदर बढेको समेत सभामुख घर्तीमगरले बताउँनुभयाे ।

घोषणासभामा प्रदेशका पूर्व मन्त्री विरबहादुर रानाले घोषणा गरिएका कार्यक्रमहरूको दिगोपना सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयाे। पूर्णखोप घोषणासँगै दिगोपना सुनिश्चितता भए जस्तै स्वास्थ्यको अन्य मानवीय हितका कुराहरूमा समेत ध्यानदिन आवश्यक देखिएको भन्दै प्रदेश सांसद रानाले बताउँनुभयाे। प्रदेश सांसद खेमबहादुर सारुले प्रदेशस्तरमा पाल्पा पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने पहिलो जिल्ला भएको बताउँनुभयाे। पाल्पाले विगत तीन वर्षदेखि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्दै आएको छ। पाल्पा जिल्लालाई यसअघि वि.सं. २०७० साल फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप जिल्ला घोषणा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *