पाल्पा, पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप दिगोपना सुनिश्चितता र पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषित भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आथित्यतामा पूर्वखोला गाउँपालिकामा भएको घोषणा सभामा जिल्ला समन्वय समिति प्रमुख,जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल र खाेप समन्वय समिति सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पूर्वखाेला गाउँपालिका अध्यक्ष नुनबहादुर थापालाई उपलव्धी सुनिश्चितता भएको प्रमाण-पत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।सो अवसरमा गाउँपालिका उपाध्यक्ष भागिरथी भटराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतको उपस्थिति थियो ।
घोषणा सभामा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारुले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको हुँदा स्थानीय तहका स्वास्थ्य शाखाहरुले सोही अनुसारको सेवा दिनुपर्ने समेत बताउँनुभयाे । उहाँले मानिसहरू स्वस्थ भएमा मात्रै उसले लिने शिक्षा तथा समाजको विकासमा काम लाग्न सक्ने बताउँदै स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्यमा सचेत बताउनुपर्नेमा जोड दिनुभयाे । स्वास्थ्य क्षेत्रमा मातृशिशु मृत्यूदर कम गर्न एएनसी टू पीएनसी कार्यक्रम सबै क्षेत्रमा लागु गर्ने प्रयासमा स्वास्थ्य मन्त्रालय लागि रहेको बताउँदै उहाँले आगामी वर्षहरुमा समेत पूर्ण खोप, पूर्ण संस्थागत प्रसूति र पोषणमैत्री पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिनेगरी प्रतिवद्धता-पत्रमा हस्ताक्षर गर्नुभयाे ।




जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंक खनालले नागरिक हरेक क्षेत्रमा स्वस्थ रहेर मात्र समग्र क्षेत्रको विकास गर्न सकिने बताउँनुभयाे। उहाँले स्वास्थ्य कर्मीको व्यवहारदेखि सामाजिक पद धारण गर्ने व्यक्ति तथा सामाजिक क्षेत्रका सबै मानिसहरु सामाजिक एवं मानसिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिनुभयाे।गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै नागरिकहरूले भाैतिक, सामाजिक, आर्थिक विकास गर्न स्वस्थ्य जीवनशैली र शैक्षिक विकास गर्न जरुरी रहेको बताउँनुभयाे । गाउँपालिकाले स्वास्थ्य तथा पूर्वाधार र प्रविधिमा एवं दक्ष जनशक्तिकाे विकास गरी प्रत्येक वर्ष नयाँ सेवाहरु दिने गरेको समेत बताउँनुभयाे ।
उपाध्यक्ष भागिरथी भट्टराई प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ,लगायतले गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्यका क्षेत्रमा उपलब्धि मूलक काम गर्दै आएको बताउँदै निरन्तरताका लागि सबै पक्षकाे सहयोग एवं सहकार्य हुनु आवश्यक रहेको बताउँनुभयाे ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा नागरिकको सहयोगमा घोषणा गर्न सफल भएको बताउँनुभयाे । उहाँले सरकारले तोकेका सबै सूचकहरु पूरागरी गरिएको घोषणाबाट थप उपलब्धी हासिल हुनेगरी काम गर्न सबै स्वास्थ्यकर्मी र सोका लागि सहजीकरण गर्न आम नागरिकलाई अनुरोध समेत गर्नुभयाे।स्वास्थ्य शाखा प्रमुख ढकालले गाउँपालिकाभित्रको स्वास्थ्यमा सेवाको अवस्था, प्रसूति सेवा, खोप, किशोर किशोरी मैत्री सेवा र पोषण मैत्री स्वास्थ्य संस्थाका विषय प्रतिवेदन प्रस्तुत गर्नुभएको हाे।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य चौकी व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो ।



