माथागढिले मौलाथरमा सुन्तला तथा कागतीकाे पकेटक्षेत्रका लागि अनुदानमा गर्‍याे बिरुवा वितरण

पाल्पा, माथागढी गाउँपालिकाले माैलाथरलाई सुन्तला पकेटक्षेत्र निर्माणका लागि मौलाथर कृषि समुहलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले किसानहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाउनलाई छब्बीस जना व्यावसायिक किसानलाई पचहत्तर प्रतिशत अनुदानमा एक हजार आठ सय तेत्तीस बाेट सुन्तलाको बिरुवा र तीन सय एकानब्बे वटा कागती गरी करिब दुई हजार तीन बिरुवा माैलाथरका किसानलाई समुहमा वितरण गरिएको गाउँपालिकाले जनाएको हाे । माथागढी गाउँपालिकाले पचहत्तर प्रतिशत र सम्बन्धित किसानले पच्चीस प्रतिशत तिर्ने गरी बिरुवा खरिद गरि वितरण गरेको बताएको छ ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदिले किसानलाई आर्थिक रूपमा सक्षम र व्यवसायिक बनाउनलाई व्यावसायिक खेती पद्धतिलाई अघि सार्दै गाउँपालिकाले पचहत्तर प्रतिशत र किसानकाे पच्चीस प्रतिशतमा जोड दिएको बताउँनुभयो । उहाँले गाउँपालिकाका जनतालाई फलफूल तथा तरकारी खेतीकाे माध्यमबाट आत्मनिर्भर गराउने लक्ष्य सहित आफ्नो भान्छामा आफ्नो उत्पादन र आत्मनिर्भरका लागि आवश्यक पर्ने सुन्तला, कागती तथा तरकारी आफ्नै बारीबाट उत्पादन गर्नलाई प्रेरित गर्ने उद्धेश्य वातावरण मिलोस् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष चिदिले बताउँनुभयो ।

व्यावसायिक कृषि उत्पादनलाई जाेड दिएको गाउँपालिकाले नीति तथा कार्यक्रममा आफ्नो प्राथमिकतामा राख्दै सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख गौतम थापाले बताउँनुभयो । गाउँपालिकाले किसानकाे चाहना अनुसार वहाँहरूले के–के जातका फलफूल लगाउन चाहनुहुन्छ, त्यहीँ अनुसारको वडा कार्यालय मार्फत निवेदन माग गरी बिरुवा वितरण गरिएको समेत कृषि शाखा प्रमुख थापाले बताउँनुभयो ।गाउँपालिकाका अधिकांश स्थानमा विभिन्न किसिमका फलफूलको उत्पादन सम्भावना रहेकाले पनि व्यावसायिक रूपमा फलफूल खेतीलाई प्राथमिकता दिएको बताउँदै फलफूल र तरकारी खेती प्रवर्द्धन तथा विकास कार्यक्रमलाई प्राथमिकता साथ राखिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउँनुभयो ।

गाउँपालिकाले किसानलाई प्रोत्साहन गरी फलफूलको उत्पादन बढाउन गाउँपालिकाले महत्त्व दिदै आर्थिक वर्षमा व्यावसायिक फलफूल, तरकारी खेती प्रवर्द्धन तथा विकास कार्यक्रमकाे लागि गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मौलाथरका किसान कोष बहादुर बाह्रघरेले पालिकाले आफ्नो मौलाथर क्षेत्रलाई सुन्तला तथा कागती पकेटक्षेत्र निर्माण गर्नका लागि माग अनुसारकाे फलफुलका बिरुवा उपलब्ध गराएको बताउँनुभयो। उहाँले गाउँपालिकाले वितरण गरेका बिरुवालाई राम्रो मलजल गरी छिटो नै उत्पादन दिने बनाउन कुनै कसुर बाँकी नराख्ने समेत बताउँनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *