रामपुर नगरपालिकाले संशोधन सहितकाे बजेट पारित गदै १५ औँ नगर सभा सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाकाे १५औँ नगर सभा समक्ष प्रस्तुत भएको बजेट तथा नीति कार्यक्रम अधिवेशनको दोस्रो बैठकले बजेट संशोधन सहित पास गर्दै सम्पन्न भएको छ । रामपुर नगरपालिकाकाे १५ औँ अधिवेशन तथा नगर सभाको पहिलो बैठकमा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत भएको आर्थिक विनियोजन विद्येयक ऐनलाई पारित गर्दै दोस्रो बैठक सम्पन्न भएको थियोे । नगर अधिवेशनकाे दाेस्राे बैठकमा नगर उप-प्रमुख बालकुमारी थापाले नगरसभामा प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन विद्येयक ऐन लाई संशोधन सहित पारित गरेको छ ।

नगरपालिकाकाे नगरसभाकाे पहिलो बैठकमा उपप्रमुख थापाले प्रस्तुत भएको बजेट मध्ये प्रदेश सरकारबाट विशेष अनुदान २० लाख र प्रदेश सशर्तमा ६ लाख थप भए संगै नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ७४ करोड ११ लाख ४ हजार भएको छ । संशोधन सहितको बजेट प्रस्तुत गर्दै चालु तर्फ ५६ करोड ३२ लाख ४४ हजार र पूँजिगत तर्फ १७ करोड ७८ लाख ६० हजार गरी ७४ करोड ११ लाख ४ हजार विनियोजन गरिएको बताउनुभयो । जस मध्ये आर्थिक विकास तर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा १२ करोड ५ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र काठर्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । नगरपालिकाले १० वटै वडालाई ४२ लाख बराबरको बजेट प्रदान गरेको छ ।

नगरपालिकाले आय तर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालु तर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश विशेष अनुदान २० लाख, प्रदेश सशर्त १ करोड ६ लाख र आन्तरिक स्रोत बाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने लक्ष्य लिएको छ ।बैठकमा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले रामपुर नगरपालिकाको नगरसभाको कार्यसञ्चालन कार्यविधि विद्ययेक २०८१ प्रस्तुत गर्नु भएको थियो । सो विद्येययक सर्व सम्मत रुपमा पारित भएको छ ।

सभाको विशेष समयमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण र शुन्य समयमा रामपुर नगरपालिका–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले आफ्नो भनाई राख्नु भएको थियो । नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगर सभाको अधिवेशनले ४ वटा ऐन पारित गरेको जानकारी दिनुभयो । उहाँले नगर सभा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सभा समापनको अवसरमा शुभकामना मन्तव्य राख्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सकारात्मक सन्देश सहित जनप्रतिनिधिहरु जनताको माझमा पुग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विगत बाट सिकेको पाठलाई ग्रहण गर्दै नयाँ योजनाका साथ जनप्रतिनिधिहरु सक्रिय हुने समय आएको बताउनुभयो ।

रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले नगरको विकासको लागि एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा भएको हो ।

यस्तै सभाको अवसरमा रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । नगरको नमुना विद्यालय दरैठाँटी माध्यमिक विद्यालय बाट चार जीपीए ल्याउन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगद सहित सम्मान गरेको हो । कुँवरलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगर १० हजार र सम्मान पत्र सहित दोसला ओढाई सम्मान गर्नु भएको थियो । सिङ्गो नगरको गरिमा उच्च बनाउन सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको हो । साथै नगरपालिकाले उत्कृष्ट नतिजा दिन सफल दरैठाँटी माध्यमिक विद्याललयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई ढाका टोपी र सम्मान पत्रले सम्मान गरेको हो । कुँवरका अभिभावक मान बहादुर कुँवरलाई पनि सम्मान गरेको थियो ।

सभाको अवसरमा १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही हाल स्वऐच्छिक अवकाश लिनु भएका कार्मचारी शिवा देवी थापालाई सम्मान गरिएको थियो । दोसला र सम्मान पत्र सहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत २ लाख ९४ हजार प्रदान गरी थापालाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *