अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि मनाइयो

पाल्पा, अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ पाल्पामा पनि दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसर पारेर नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्ने बताउनुभयाे । उहाँले युवाहरुले पनि राजनीतितर्फ सकरात्मक चासो राख्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयाे । प्रमुख अतिथि खनालले स्थानीय सरकारले पनि युवा लक्षित कार्यक्रमहरु गर्न आवश्यक रहेकाे बताउँदै आफुले सबै स्थानीय सरकारसँग समन्वय गर्ने पनि बताउनुभयाे ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले युवालाई स्वरोजगार बनाउने दिशामा तीनै तहका सरकारले ध्यान दिनुुपर्नेमा जोड दिनुभयाे ।

कार्यक्रममा पत्रकार नारायण न्यौपानेले स्थानीय सरकारहरु दिवसका बारेमा नै अनविज्ञ रहेको बताउनुभयाे । स्थानीयतहमा युवा दिवस हो भन्ने सम्म थाहा नभएको बताउँदै पत्रकार न्याैपानेले नेपाल परिवार नियोजन संघ र रोट्रयाक्ट क्लव जस्ता संस्थाहरुले दिवसका दिन कम्तीमा छलफल चलाएकोमा याे सुखद रहेको धारणा व्यक्त गर्नुभयाे।

संघका शाखा प्रवन्धक शोभाकान्त न्यौपानेले अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम माथि प्रकाश पार्दै सीपमूलक शिक्षा,पाल्पा जिल्लामा युवाहरुको अवस्थाकाे बारेमा जानकारी गराउनुभएकाे थियोे । उहाँले राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पामा २ लाख ४५ हजार २७ जनसंख्या रहेकोमा ४५ हजार ९ सय ९९ युवा रहेको बताउनुभयाे । यो कूूल जनसंख्याको १८ दशमलव ७७ प्रतिशत हो । न्यौपानेका अनुसार १५ वर्षदेखि २४ वर्षकाहरुलाई युवाको तथ्यांकमा समावेश गरिएको छ ।

संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले अधिकांस युवाहरु विदेशमा जस्तो सुुकै काम गर्न पनि तयार हुने तर स्वदेशमा केही नगर्ने प्रचलनले समस्या उत्पन्न गरेको बताउनुभयाे । उहाँले ऊर्जावान युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागीहरुले सरकारले वर्षेनि विभिन्न कार्यक्रम गरि युवा दिवस मनाउने गरेता पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको बताउनुभयाे । उहाँहरुले युवा लक्षित गरि ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको गुनासो गर्नुभयाे । सोही अवसरमा युवा परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएका परिवार नियोजन संघ पाल्पाका युवा सदस्य कमल बस्याललाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष सुुशिलराज शाक्यको अध्यक्षता, रोट्रयाक्ट क्लव अफ तानसेनका प्रेसिडेन्ट विक्रम सिंहको स्वागत, संघका सदस्य आदित्य पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् । सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *