अपांग भएका नागरिकलाई घरमै पुगेर ह्विलचेयर दिदै : रिब्दिकाेट गाउँसरकार

पाल्पा, रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै पुगेर ह्विल चेयर दिएको छ ।  गाउँपालिकाले कुसुमखोलाकाे देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी लगायतको टोलीले लम्तरीको घरमै पुगेर ह्विल चेयर हस्तान्तरण गर्नुभएकाे हाे ।

लम्तरी रुखमा घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएकाे थियाे । रुखबाट लडेर घाइते हुनुभएका लम्तरीलाई ढाडको समस्या देखिएपछि वहाँ घर वरीपरी हिडडुल गर्न र दिसा पिसाव गर्नका लागि शौचालय जान समेत नसक्ने  भई कठिनाइ हुँदै आएपछि गाउँपालिकाले ह्विल चेयर उपलब्ध गराएको छ । लम्तरीले गाउँपालिकाबाट प्राप्त ह्लिलचेयरले घर वरपर हिडडुल गर्न दिसा पिसाव गर्न सजिलो हुने  बताउनुभयाे । उहाँले दुःख परेका बेलामा गाउँपालिकाले गरेको  सहयोगबाट घर नजिकैकाे सरकार भएको भन्ने  अनुभूति गाउँपालिकाले दिएको बताउँनुभयो ।

विभिन्न घटना दुर्घटनाबाट अपाङ्ग भएका व्यक्तिहरुलाई गाउँपालिकाका जनप्रतिनिधिहरु घरघरमै पुगेर अवस्था बुझेर ह्विलचेयर, बैशाखी जस्ता जीवनलाई साहारा हुने खालका आवश्यक सरसमान वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयाे । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको संयोजकत्वमा रहेको अपाङ्ग समन्वय समिति मार्फत गाउँपालिकाभित्रका जनताहरूलाई सहयोग गर्ने कार्यक्रम गर्दै आएको गाउँपालिकाले जनाएको छ ।  वडाका जनप्रतिनिधीहरुले अपाङ्गहरुको घरघरमै पुगेर अवस्था बुझिकन पालिकामा सिफारिस गर्ने सोही आधारमा अपाङ्ग समन्वय समितिले निर्णय गरेर पुनः जनप्रतिनिधी मार्फत घरघरमा सहयोग पुर्‍याउने, नागरिकको अवस्थाबारे जानकारी लिने गरिएको समिति संयोजक तथा उपाध्यक्ष अधिकारीले बताउनुभयाे ।

गाउँपालिकाले श्रावण महिनामा वडा नंं २ देउरालीमा २ वटा, वडा नंं ५ कुसुमखोलामा ३ वटा, वडा नंं ६ मा २ वटा, वडा नंं ७ मा १ वटा र वडा नंं ८ मा १ वटा गरी ९ वटा ह्विलचेयर वितरण गरेको छ । समितिले घरवाट बाहिर हिडडुल गर्ने नसक्ने अपाङ्ग, जेष्ठ नागरिकहरुलाई घरघरमै पुगी परिचयपत्र वितरण गर्दै आएको स्वास्थ्य संयोजक सुनिल अधिकारीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *