अमरनारायणको रथयात्रा निकालियाे

पाल्पा, तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य,पाल्पा, नेपाल राज्यमा विलय भए पछि पाल्पाका कमाण्डर काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने परम्परा अनुसार यस वर्ष पनि निकालिएको हो ।काठमाडौंको जात्राबाट प्रभावित भएका थापाले नारायणको रथयात्रा सुरु गरेका हुन्।

भजनकीर्तन र नेपाली सेनाको ब्यान्ड बाजा, सलामी सहित, टोलविकास संस्था, विद्यालयका विद्यार्थी शिक्षकहरूकाे सहभागितामा रथयात्रा गरिएको हो । तानसेनको नारायणस्थान,मखनटोल, पाल्पा दरबार संग्रहालय, शीतलपाटी हुँदै भगवती मन्दिर, वसन्तपुर हुँदै पुनः शीतलपाटीको बाटोभएर टक्सार, लहरेपीपल, ब्यारेक हुँदै तानसेन नगरपालिका क्षेत्रबाट पुनः अमरनारायण मन्दिरमा रथ लगेर विर्सजन गरिएको छ ।अमरनारायण रथ यात्रा परम्परागत शैलीमै निकालिएको थियो । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रालाई निकाल्दै नगर परिक्रमा गर्ने परम्परा रहेको छ । यस वर्ष अष्टमीका दिन सुुभ साइत परेकाले अमरनारायणकाे रथ निकालिएको बताइएको छ ।

भगवती जात्रा र अमरनारायणको जात्रा एकै दिन निकालिएको थियो । नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमका रूपमा जनरल अमरसिंह थापा आएका थिए । जनरलअमरसिंह थापाले वि.सं.१८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका हुन् ।

मन्दिरमा भगवान नारायणको मुर्ति राखिएको भएपनि अमरसिंह थापाले आफै मन्दिर बनाएकाले उक्त मन्दिरको नाम नै अमर नारायण मन्दिर राखिएको किंवदन्ती रहेको छ । मन्दिर निर्माण पुरा भएपछी यो मन्दिर बनाउन काठमाडौँका नेवार कालीगढहरु झिकाएका कारण पनि तानसेनमा काठमाडौंमा जस्तै असन, टुँडिखेल, मखन आदि नामहरु राखी सोही अनुसारकाे कला संस्कृती निर्माण र जात्रा सञ्चालन हुँदै आएको छ ।

पाल्पाको अमरनारायण मन्दिरमा किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । काजी अमर सिंह थापाकै कारण पाल्पाका विभिन्न मन्दिरहरुको रथयात्रा निकाल्ने परम्परा चलेको बुढापाकाहरुको भनाई रहेको छ । गुठीको जग्गा प्रशस्त भएपनि मोहीबाट कति पनि खर्च नआएकाले रथयात्रा सञ्चालन गर्न कठिनाई भएको अमर नारायण मन्दिर गुठि व्यबस्थापन समितिले जनाएको छ ।

पाल्पामा गाठेमंगल देखि शुरु भएको जात्राको रौनक भगवती जात्रा र नारायण जात्रासम्म रहने गरेको पाइन्छ । तानसेनमा गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, बाघ जात्रा, भीमसेन जात्रा, लक्ष्मीनारायण जात्रा, हनुमान जात्रा, शिवजात्रा, कृष्णजात्रा लगायतका जात्राहरु सञ्चालन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *