आगामी योजनाकाे बारेमा रामपुरमा जनप्रतिनिधिहरू बीच छलफल

पाल्पा , रामपुर नगरपालिकाले आगामी बर्षका लागि नगरका लागि आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसदसंग रामपुर नगरपालिका नगर प्रमुख , उपप्रमुख, वडा अध्यक्षहरू बीच नगरपालिकाकाे सभा हलमा छलफल भएको हो ।

रामपुर नगरपालिकाकाे विकास निर्माण बारे कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले रामपुरकाे हरेक क्षेत्र विकासका लागि तीनतहको सरकार बीच सहकार्य र समन्वय भए मात्र सम्भव हुने उहाँले बताउनुभएको छ । लुम्बिनी प्रदेश सांसद श्रेष्ठले नगरको विकासका लागि नगरको प्राथमिकतामा रहेका योजना सफल पार्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो । उहाँले नगरका सबै वडामा आवश्यक पर्ने योजनाहरुलाई आवश्यकताको आधारमा प्रदेश सरकार मार्फत ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ ।

छलफल कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताको आधारभूत आवश्यकताको आधारमा नगरका योजनालाई प्राथमिकता दिएर संचालन गरिने उहाँले बताउनुभयो । नगरका सबै योजना संचालन गर्न स्थानीयतहले मात्रै सम्भव नहुने भन्दै नगरप्रमुख थापाले यसका लागि प्रदेश सरकार र संघीय सरकारको पनि बजेट आवश्यक पर्ने हुँदा त्यसका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा बाेल्नुहुँदै नगर प्रमुख थापाले रामपुर नगरपालिका मात्र नभई अन्य स्थानीयतहलाई पनि समेट्ने गरि प्रदेश र संघीय सरकारका सांसदहरुले पहल गर्न आग्रह गर्नुभयाे । यस क्षेत्रमा मेडिकल कलेज, एयरपोर्ट, रिङरोड लगाएतका योजना रहेको बताउँदै उहाँले अन्तरपालिकालाई जोडेर याेजना संचालन गर्न आवश्यक रहेको कुरा कार्यक्रममा उल्लेख गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले आवश्यकता अनुसार योजना र मागको सम्बोधन गर्नुपर्ने भन्दै राजनीतिले प्रतिस्पर्धा गराउने र सहकार्यले विकास गराउने बताउदै उपप्रमुख थापाले सहकार्य र सहमितले विकास सम्भव हुने उहाँले बताउनुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका दस वटै वडाअध्यक्षहरुले आ-आफ्नो वडामा आवश्यक रहेका योजनाहरुलाई प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्षहरुले वडामा शिक्षा, स्वास्थ्य, पर्यटन , सडक ,खानेपानी, विद्युत, सिंचाई लगाएतका याेजना माग भएको बताउँदै ती याेजनाहरू आवश्यक रहेको जानकारी गराउँनुभएकाे थियो ।
नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *