उद्योगी व्यापारी व्यवसायी र जनप्रतिनिधि विच अन्तरक्रिया रामपुरमा सम्पन्न  

पाल्पा, रामपुर नगरपालिका क्षेत्रका उद्योगी तथा व्यवसायी र जनप्रतिनिधि विचको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अन्तरक्रियामा अधिकांश व्यवसायीहरुले राज्यको दोहोरो कर नीतिले समस्यामा परेको बताएका छन् । राज्यलाई कर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा नगरपालिका सबै तिर राजस्व तिर्नु पर्ने नीतिले आफुहरु मारमा परेको व्यवसायीहरुले बताएका हुन् । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा बेझाँड बजारमा भएकोे उद्योगी, व्यापारी एवं व्यवसायी र जनप्रतिनिधि विच अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांशले गुनासो राख्नुभएको थियोे । उहाँहरुले बजार क्षेत्रको भाडादर उच्च हुँदा समस्या भएको , पोके व्यापारीका कारण सटर भाडामा लिएर व्यापार गर्दै आएका व्यवसायी थप मर्कामा परेको , सवारी व्यवस्थापन, व्यवसायको प्रकृति अनुसारको कारोबार नहुनु, पेटीमा सामान राख्न पाउनु पर्ने, जिल्ला दररेट, फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, खानेपानी महसुल, रामपुर अस्पतालको व्यवस्थापन, सडकको अवस्था सुधार गर्नु पर्ने, अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, राजस्व संकलनका विषयमा आफ्ना जिज्ञासा राख्नुभएको थियाे। सहभागीको प्रश्नको जवाफ संगै आफ्ना भनाई राख्नै रामपुर लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर नगर क्षेत्रको बजारलाई व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकारले पनि प्रयास गर्दै आएको बताउनुभयो । करको दर बढाउने नभै दायरा बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले राजस्व संकलन पूर्व व्यवसायीहरु संग समन्वय गरेर अघि बढ्न नगरलाई आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजारलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले सकारात्मक सुझाव र सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले नगरको मुख्य बजार बेझाँड क्षेत्रको स्तरोन्नतिको लागि प्रक्रिया अघि बढेको जानकारी दिदै सीसीटिभी, लाईटको व्यवस्थापन संगै फोहोरको दिर्घकालिन समस्या समाधानको प्रयत्न भैरहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको विकासका लागि स्रोत जुटाउन व्यवसायीलाई मर्का नपर्ने गरी करको दायरामा ल्याउन पहल गरेको बताउनुभयो । उहाँले नगरपालिकाले न्यून दरमा मात्र कर संकलन गरेको बताउनुभयो । कोरोना तथा आर्थिक मन्दीले व्यवसायीहरुलाई परेकोे समस्यालाई मध्यनजर गर्दै दुई वर्ष नगरपालिकाले राजस्वमा छुट दिएको र यस वर्ष पनि समय मै नविकरण गर्ने व्यवसायीहरुलाई छुट दिईएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख शालिकराम खनालले व्यवसायीको पूर्ण सुरक्षाको लागि प्रहरी प्रतिवद्ध भएर लागेको बताउँदै प्रहरीलाई सुचना दिएर सहयोग गर्न आग्रह गर्नुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले व्यवसायीहरुको समस्या पहिचानका लागि संघले कार्यक्रम आयोजना गरेको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा वेझाँड बजार चोकमा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत र महासचिव खिम बहादुर केसीको सञ्चालनमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *