कमरेड पुष्पलाल र नेपालको राजनैतिक आन्दोलन

– गणेश ज्ञवाली

परिचय :
कमरेड पुष्पलाल नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ । क.पुष्पलालको चर्चा नगरी नेपालको आधुनिक इतिहास लेखिन सक्दैन । उहाँले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवको भूमिका सहित नेपाली भूमिमा कम्युनिष्ट आन्दोलनको वीजारोपण गर्नु भयो । राणाशासनको अन्त्य र पछिल्लो कालखण्डमा निरंकुश पञ्चायती व्यवस्था विरोधी संघर्षमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै लोकतान्त्रिक आन्दोलनमा उहाँले खेलेको भूमिका अविस्मरणीय रहको छ । तसर्थ आज क.पुष्पलाल लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलन, सबै क्षेत्रका लागि अत्यन्त श्रद्धा र सम्मानको पात्र बन्नुभएको छ ।

संक्षिप्त जीवनी :
क. पुष्पलालको जन्म वि.सं १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरी भन्ने ठाउँमा भएको थियो । उहाँका पिताको नाम भक्तलाल श्रेष्ठ र माताको नाम तुल्सीमाया श्रेष्ठ हो । शहीद गंगालालका माहिला भाइ पुष्पलालका गौरीलाल, देवीलाल र विजयलाल गरी तीन जना भाइहरू, दिदी हिरण्यकुमारी र बहिनी पुष्पलता हुनुहुन्थ्यो । दाजु गंगालालको रेखदेखमा घरमै प्राथमिक शिक्षा पुरा गर्नु भएका पुष्पलालले दरबार हाइस्कुलबाट एस.एल.सी उत्तीर्ण गर्नु भयो । त्यसपछि उहाँले औपचारिक उच्च शिक्षाको अवसर प्राप्त गर्नु भएन । दरबार हाइस्कुलमा पढ्दा नै दाजु गंगालालबाट नेपाल, भारत र बेलायत लगायत विश्व इतिहासको महत्त्वपूर्ण जानकारी प्राप्त गर्नुभयो । उहाँले मिहिनेत र स्वाध्ययनका माध्यमबाट उच्चस्तरका नेताका साथसाथै प्रतिष्ठित विद्वान्का रूपमासमेत आफूलाई स्थापित गराउन सफल हुनु भयो । वि.सं २०१० माघ २ गते सहाना प्रधानसँग उहाँको विवाह भएको थियो । वि.सं. २०१७ मा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि क.पुष्पलालले भारतमा गई कठीन निर्वासित जीवन विताउनु भयो । यही क्रममा वि.सं २०३५ साल श्रावण ७ गते दिल्ली स्थित गोविन्दबल्लभ पन्त अस्पतालमा मुटुरोगको उपचारका क्रममा ५४ वर्षको अल्पायुमै उहाँको निधन भयो । तात्कालीन पञ्चायती व्यवस्था उहाँसित यति त्रस्त थियो कि उहाँको शव र अस्तु समेत काठमाडौँमा ल्याउन अनुमति दिइएन । पञ्चायती निरंकुश व्यवस्थाको अन्त्यका लागि वि.सं. २०२९ साल तिर नै क. पुष्पलालले ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ प्रतिपादन गर्नु भएको थियो । यही कार्यदिशा नै अन्ततः पञ्चायती व्यवस्था अवसानको कारण बन्न पुग्यो ।

राजनैतिक जीवनको शुरुवात :
आफ्ना दाजु शहीद गंगालालको प्रेरणा र प्रभावले वि.संं. १९९५ साल तिर बाट नै क. पुष्पलालको राजनैतिक जीवनको शुरुवात भएको देखिन्छ । वि.सं. १९९७ सालमा आफ्ना दाजु गंगालाल श्रेष्ठलाई फाँसी दिनुभन्दा एक दिन अघि भद्रगोल जेलमा भेट्न जाँदा गंगालालले पुष्पलाललाई भन्नुभएको थियो, “ माइला, मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् । ” दाजु शहीद गंगालालका यिनै प्रेरणादायी शब्दले क. पुष्पलालको राजनैतिक जीवन निरन्तर अघि बढिरह्यो । वि.सं. १९९८ सालमा क.पुष्पलालले शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र प्रेमबहादुर कंसाकारसँग मिलेर नेपाली प्रजातन्त्र संघको गठन गर्नुभयो र राणाशाहीको विरोधमा लाग्नु भयो । वि.सं. १९९७ सालदेखि राणा शासनको कठोर जेल जीवन विताइरहनु भएका नेपाल प्रजा परिषदका नेता टंकप्रसाद आचार्य लगायत अन्य नेताहरूको नेल सहितको फोटो सन् १९४२ मा पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशन गर्न सहयोग गर्नु भयो । यसले राणा शासन बिरोधी आन्दोलन अघि बढाउन र राणाशाहीको भण्डाफोर गर्न ठूलो मद्दत गरेको थियो । त्यस्तै गरी वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल सहित शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, सहाना प्रधान अदिले गर्नु भएको थियो । यही आन्दोलनको दबावमा परेर राणा प्रधानमन्त्री पद्यशमशेरले संवैधानिक सुधारका कदम चाल्ने घोषणा गर्न बाध्य भएका थिए । सन् १९४७ जुलाई १५ मा बनारसमा भएको नेपाली राष्ट्रिय काङ्ग्रेसको तेस्रो सम्मेलन पछि पुष्पलालले सो पार्टीको केन्द्रिय कार्यालयको सचिव भएर काम गर्न थाल्नु भयो । त्यो बेला सो पार्टीमा वी.पी. कोइराला गुट र डिल्लीरमण रेग्मी गुट बीच गुटगत द्वन्द्व हुँदा पुष्पलालले दुबै पक्षलाई मिलाउने प्रयत्न गर्नु भयो तर सफल भएन । तात्कालीन अवस्थामा राष्ट्रिय कांग्रेसले अपनाएको राजासँग संझौतापरस्त नीतिका कारण पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्दैन भन्ने ठहर गरी पुष्पलालले सो पार्टी परित्याग गर्नु भयो । पछि वि.सं. २००५ सालमा नेपाली राष्ट्रियकांग्रेस र नेपाल प्रजातन्त्रकांग्रेसबीच एकता भई नेपालीकांग्रेस पाटीको गठन भयो । नेपाली राष्ट्रियकांग्रेस पार्टीमा क्रियाशील रहँदै क.पुष्पलाल माक्र्सवादी दर्शन र कम्युनिष्ट आन्दोलनतर्फ आकर्षित हुन थाल्नुभयो । उहाँले वि.सं. २००५ सालमा माक्र्स–एङ्गेल्सको विश्वप्रसिद्ध कृति ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ को नेपाली भाषामा अनुवाद गरी लामो भूमिका सहित प्रकाशन गर्नु भयो । त्यो बाहेक राष्ट्रिय कांग्रेस पार्टीमा रहँदै को अवस्थामा ‘सोभियत रुसमा व्यक्ति र समाज’, ‘माक्र्सवाद के हो?’, ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टी’, ‘गाउँका गरीबहरूलाई अपिल’ जस्ता महत्त्वपूर्ण पुस्तकहरूको नेपाली भाषामा अनुवाद गर्नु भएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्ट आन्दोलनको विकास :
क.पुष्पलालले वि.सं.२००६ वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९मा कलकत्ताको श्याम बजारमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य र नारायण विलाश जोशी सहित विधिबत् रूपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । (कुनै कुनै पुस्तकमा मोतीदेवी श्रेष्ठलाई पनि संस्थापक सदस्यको रूपमा लिने गरेको पाइन्छ । ) नेपाल कम्युनिष्ट पाटी केन्द्रीय संगठन समितिमा क. पुष्पलाल संस्थापक महासचिव बन्नु भयो । नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने कार्यमा क. पुष्पलाललाई भारतीय कम्युनिष्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीले वैचारिक सहयोग प्रदान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसको अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ जनवादी क्रान्ति, भारतको तेलाङ्गना विद्रोह र नेपालमा राणाशासन विरुद्ध चलिरहेको जनसंघर्षबाट प्राप्त भएको थियो । पार्टी स्थापना पछि अर्थात् २००६ वैशाख १२ गतेका दिन नवगठितनेपाल कम्युनिष्ट पार्टीले पहिलो पर्चा प्रकाशित गर्‍यो । त्यस्तै गरी १५ सेप्टेम्बर, १९४९का दिन नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र जारी गरियो । यसका माध्यमबाट क.पुष्पलालले नेपाली समाज अर्ध सामन्ती र अर्ध औपनिवेशिक भएको निष्कर्षसहित चिनियाँ मोडेलको जनवादी क्रान्ति नै नेपाली क्रान्तिको चरित्र हुने संश्लेषण पेश गर्नु भयो । उहाँले नेपाली समाजको वर्ग विश्लेषणको आधारमा साम्राज्यवाद, भारतीय पूँजीवाद र देशीय सामन्तवाद नै नेपाली श्रमजीवी जनताको दुश्मन रहेको ठहर गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टीले वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिको राजनैतिक आन्दोलनमा सहयोगी भूमिका निर्वाह ग¥यो । २००७ सालमै राजा–राणा– कांग्रेसबीच भएको धोकापूर्ण ‘ दिल्ली सम्झौता’ को नेपाल कम्युनिष्ट पार्टीले जोडदार विरोध गर्‍यो । सन् १९५१ नोभेम्बरमा क.पुष्पलालको सक्रियतामा ‘राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा’ को काठमाडौँमा उद्घाटन भयो जसमा नेपाल कम्युनिष्ट पार्टी, प्रजापरिषद्, प्र.ले.स. आदिले भाग लिएका थिए । क. पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको संगठन र क्रियाशीलता तीव्र रूपमा वृद्धि हुदै गयो र ने.क.पा. श्रमजीवी मजदुर किसान र देशभक्तहरूको आशा र भरोसाको केन्द्रविन्दु बन्दै गयो । यस सँगसगै क. पुष्पलालको सही र वर्ग पक्षधर नेतृत्व विरुद्ध कम्युनिष्ट पार्टी भित्रैबाट षड्यन्त्र हुन थाल्यो र उहाँलाई प्रमुख नेतृत्वबाट विस्थापित गर्ने सिलसिला समेत शुरु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका महाधिवेशनहरू :
वि.सं.२००९ सालमा ने.क.पा. पोलिटव्युरोको बैठकले क. पुष्पलाललाई हटाई क.मनमोहन अधिकारीलाई महासचिव बनायो । यसपछि एकीकृत नेपाल कम्युनिष्ट पार्टीको महासचिव बन्ने अवसरबाट क.पुष्पलाल सदैव बञ्चित हुनुभयो तर पनि कम्युनिष्ट आन्दोलनमा उहाँको निष्ठा, लगाव र क्रियाशीलतामा कहिल्यै कमी आएन । वि.सं. २०१० माघमा ने.क.पा.को प्रथम महाधिवेशन सम्पन्न भयो जसमा मनमोहन अधिकारी महासचिव चुनिनु भयो । सो प्रथम महाधिवेशनमा सारतः स्थापनाकालको क्रान्तिकारी, स्पिरिट विपरीत घुमाउरो पारामा बैधानिक राजतन्त्रको पक्षपोषण गर्ने र किसान–मजदुर आन्दोलनलाई कमजोर बनाउने विचार हावी हुँदै गयो । यस अवधिमा महासचिव मनमोहन अधिकारी उपचारको लागि चीन जाँदा डा. केशरजंग रायमाझीले का.वा. महासचिवको जिम्मेवारी पाएपछि उनले पार्टीलाई तीव्ररूपमा दक्षिणपन्थी र राजापरस्त मार्गमा अघि बढाउन थाले । वि.सं २०१४ साल जेठमा ने.क.पा.को दोश्रो महाधिवेशन सम्पन्न भयो । यसमा क.पुष्पलालले संक्षिप्त रूपमा पेश गरेको नयाँ जनवादी गणतन्त्रतथा संविधान सभाको लागि संघर्ष कार्यक्रम पास भयो तर महासचिवको रूपमा भने डा. केशरजंग रायमाझी चुनिए । यो नै नेपालको कम्युनिष्ट आन्दोलनका लागि दुभाग्र्यपूर्ण परिस्थिति भयो । सही नीति तर गलत नेतृत्व । एउटाको नीति अर्कैको नेतृत्व । यसैबीच वि.सं. २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त ग¥यो । ने.क.पा.ले ४ सिट जित्यो । क.पुष्पलाल लगायत ने.क.पा.का सबैजसो प्रमुख नेताहरूले पराजय बेहोर्नु पर्‍यो ।
वि.सं.२०१७ पुष १ गते राजा महेन्द्रले वी.पी. कोइरालाको जननिर्वाचित सरकार अपदस्त गर्दै, संसद विघटन गरी प्रजातन्त्र विरुद्ध ‘कू’ गरे । यस शाहीकाण्डलाई डा.रायमाझीले समर्थन गरे भने क.पुष्पलालले उक्त शाही प्रतिगामी कदमको जोडदार विरोध गर्दै विघटित संसदको पुनः स्थापनाका निम्ति संघर्ष गर्न आव्हान गर्नुभयो । यस विषम परिस्थितिमा २०१७ साल फागुनमा पार्टीको दरभङ्गा प्लेनम सम्पन्न भयो, जसमा तीनवटा लाइनहरू देखा परे । क. मोहन विक्रम सिंहद्वारा प्रस्तुत भएको संविधान सभाको निर्वाचनको कार्यदिशा, डा.केशरजंग रायमाझीको संसदीय व्यवस्था स्थापनाको कार्यदिशा र क.पुष्पलालको विघटित संसद पुनस्र्थापनाको कार्यदिशा । प्लेनमको बहुमतले क.मोहन विक्रम सिंहको कार्यदिशा पास गरेको थियो तर त्यो कार्यान्वयनमा भने गएन । वि.सं.२०१९ वैशाखमा तेस्रो महाधिवेशन भयो । यसमा क.तुलसीलाल अमात्य महासचिव बने र उनको खुश्चेभी लाइनमा आधारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भयो । यो महाधिवेशनले डा.केशरजंग लगायत राजावादी दक्षिणपन्थीहरूलाई पार्टीबाट निष्कासन गर्‍यो । यो महाधिवेशन पछि पार्टी छिन्नभिन्न भयो, गतिहीन भयो र क. तुलसीलाल अमात्यको नेतृत्वमा पार्टी सञ्चालित हुन सकेन । तुल्सीलालले गुप्तरुपमा डा. रायमाझीसँग भेटघाट र साँठगाँठ गरेको आरोप लाग्यो। तुल्सीलालले त्यो बेलामा लेखेको ‘कुन बाटो?’ भन्ने दस्तावेजको जवाफमा क. पुष्पलालले ‘हाम्रो मुलबाटो’ भन्ने दस्तावेज लेख्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टीको विभाजन र पुनर्गठनको सिलसिला :
निरंकुश पञ्चायती व्यवस्थाको तीव्र दमन र धरपकड, पार्टी भित्रको भीषण वैचारिक संघर्ष, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रुस र चीनका कम्युनिष्ट पार्टीहरूबीचको वैचारिक ‘महा विवाद’ तथा नवनिर्वाचित नेतृत्वको कमजोरी लगायत अनेकौँ कारणहरूको समष्टिमा ने.क.पाको विभाजनको श्रृङ्खला शुरु भयो । डा.केशरजंग रायमाझीको नेतृत्वमा राजावादी कम्युनिष्टहरूको अलग्गै गुट खडा भई गतिविधि गर्दै थियो । क.तुलसीलाल नेतृत्वको ने.क.पा पनि विभाजित हुदै विभिन्न समूहहरू देखापर्न थाले । पार्टी केन्द्रविहीन अवस्थामा पुगेको थियो । कम्युनिष्ट पार्टी छिन्नभिन्न भएको यस स्थितिमा स्पष्ट कार्यक्रम सहित सक्रिय केन्द्रीय नेतृत्वको आवश्यकता अनिवार्य भएको थियो । यो आवश्यकतालाई पुरा गर्न वि.सं. २०२५ सालमा गोरखपुरमा क.पुष्पलालको नेतृत्व र आयोजनामा तेस्रो सम्मेलन सम्पन्न भयो । नेपाली क्रान्तिको ‘नयाँ जनवादी कार्यक्रम’ र पञ्चायती व्यवस्थाको विरुद्धमा संघर्ष केन्द्रित गर्ने कार्यनीति पारित गरियो । क.पुष्पलाल पुनः महासचिव बन्नु भएको यो केन्द्रिय कमिटिको प्रथम वैठकले “ पार्टीलाई किसानकाबीच बसोबास गराऊ, भूमिगत र पेसेवर कार्यकर्ता निर्माण गर, अछुत र कविला समुदायमा पार्टी विस्तार गर” भन्ने आव्हान सहित सर्कुलर जारी ग¥यो । प्रथम महाधिवेशनदेखि नै पार्टीमा हराउँदै गएको पार्टीको क्रान्तिकारी स्पिरिट पुनःस्थापित भयो । रुस र चीनका कम्युनिष्ट पार्टीहरूको महाविवादमा रुसी संशोधनवादी लाइनको विरुद्ध चिनियाँ क्रान्तिकारी लाइनको पक्षमा क.पुष्पलाल उँभिनु भयो । उहाँले पार्टीलाई माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको वैचारिक आलोकमा सञ्चालन गर्नुभयो । वि.सं २०२९ सालमा सम्पन्न चौथो सम्मेलनबाट क.पुष्पलालले पञ्चायती व्यवस्था विरुद्ध ‘संयुक्त जनआन्दोलन’ को दूरदर्शी नीति पारित गराउनु भयो । उहाँको जोड थियो– कांग्रेस र कम्युनिष्टहरू संयुक्त भई संघर्ष गरेर पञ्चायत ढाल्न सकिन्छ । तर दुर्भाग्यवश, कम्युनिष्ट पार्टीहरू विभिन्न असहिष्णु घटकहरूमा विभाजित हुँदै जानु तथा नेपाली कांग्रेसका शीर्ष नेता वी.पी. कोइरालाले समेत क.पुष्पलालको यस विचारलाई तिरस्कार गर्दै कम्युनिष्टहरूसँग मिल्नु भन्दा ‘राष्ट्रिय मेलमिलाप’को नाममा राजासँग सामिप्यतामा आउनुको कारणले क.पुष्पलालको सपना साकार हुन थप १७ वर्ष पर्खिनुपर्‍यो ।
क.पुष्पलालले सापेक्षित रूपमा सही नीतिसहित कम्युनिष्ट आन्दोलनलाई एकीकृत ढंगबाट अघि बढाउन इमान्दार प्रयत्न गरेपनि उहाँ सफल हुनु भएन । वि.सं. २०२८ सालमा क.मोहन विक्रम, क.निर्मल लामाहरूले ‘केन्द्रिय न्युक्लियस’ हुदै ‘चौथो महाधिवेशन’को धारा अघि बढाउनु भयो । विभिन्न टुटफुट हुँदै हाल यो धाराबाट मूल प्रवाहको रुपमा नेकपा(माओवादी केन्द्र) बन्यो ।वि.सं. २०२८ सालमा .झापा विद्रोह शुरु भयो । यो धारा कोअर्डिनेशन केन्द्र, नेकपा (माले) हुँदै हालको नेकपा (एमाले) सम्म आइपुगेको छ । क.पुष्पलालसँग क.रोहित, रुपलाल विश्वकर्मा र मुक्तिमोर्चा समूह (जसमा मोदनाथ प्रश्रित, जीवराज आश्रित, मदन भण्डारी आदि हुनुहुन्थ्यो ) आदिले विद्रोह गरे । यी सबै समूहले क.पुष्पलाल विरुद्ध प्रहार केन्द्रित गरे, कतिपयले गद्दारसम्म भने । जीवनको उत्तरार्धमा आइपुग्दासम्म उहाँको समूह छिन्नभिन्न हुदै गयो र क.पुष्पलाल एक्लै जस्तो पर्नुभयो । सहयोद्धाहरूकै अपमानपूर्ण व्यवहार र पञ्चायती दमनबाट सिर्जित दुःखद निर्वासनकाबीचमा पनि क.पुष्पलाल अविचलित रही नेपालको कम्युनिष्ट आन्दोलन र पञ्चायत विरोधी लोकतान्त्रिक आन्दोलनलाई सदैव सही नीति र मार्गदर्शन दिइरहनु भयो ।
क.पुष्पलालका योगदान र सबलताहरू
क.पुष्पलालको सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक योगदान भनेको नेपाली भूमिमा कम्युनिष्ट पार्टीको स्थापना गर्नु रहेको छ । पार्टी स्थापना लगत्तै आफू विरुद्ध षडयन्त्रपूर्वक नेतृत्वबाट विस्थापनको नीति लिइए पनि, सहकर्मी सहयोद्धाहरूबाटै अपमान र तिरस्कार खप्नु परे पनि उहाँ जीवनभर अविचलित रूपमा कम्युनिष्ट आन्दोलनमा क्रियाशील हुनुभयो । अल्पमतमा परे पनि, जति दुःख खप्नु परे पनि उहाँले कहिल्यै आफ्नो सही नीति र सिद्धान्तहरू त्यागी व्यक्तिगत स्वार्थका लागि संझौता गर्नु भएन । कम्युनिष्ट पार्टीमा ‘नेता होइन नीति प्रधान हुन्छ’ भन्ने उहाँको सूत्र वाक्यको सान्दर्भिकता आज झन् बढ्दै गइरहेको छ । क.पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गर्ने खालका अत्यन्त धेरै लेख, रचना, परिपत्र र निर्देशनहरू लेख्नुभएको छ । उहाँका संकलित रचनाहरु चार वटा भागमा प्रकाशित छन् र कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहासउहाँले लेखेको महत्वपूर्ण पुस्तक हो । उहाँ सादा जीवन, उच्च विचार भएका एक आदर्श कम्युनिष्ट नेता हुनुहुन्थ्यो । समग्र रचना र दस्तावेजहरू हेर्दा तात्कालीन अवस्थामा अल्पमत-बहुमत जे भएपनि क.पुष्पलाल नै तुलनात्मक रूपमा सही बाटोमा हुनुहुन्थ्यो । दाबीसाथ भन्न सकिन्छ कि समकालीन नेताहरूको तुलनामा क.पुष्पलाल नै सबैभन्दा योग्य नेता, सक्षम र दूरदर्शी विचारकको रूपमा स्थापित हुनुभयो ।
नेपाली जनताको मुक्ति र स्वतन्त्रताका निम्ति सबैभन्दा ठूलो बाधक पञ्चायती व्यवस्थालाई ढाल्नको निम्ति कम्युनिष्ट र कांग्रेसहरू मिलेर लड्नु पर्छ भन्ने उहाँको ‘संयुक्त जनआन्दोलनको नीति’ नेपालको राजनैतिक क्षेत्रमा एउटा महान् आविष्कार नै हो । पञ्चायत विरोधी संघर्षमा सबै कुहिराको काग जस्तै दिशाहीन भइरहेका थिए । कतिपय ठूलाठूला कांग्रेस र कम्युनिष्ट नेताहरूले पञ्चायतलाई अजरअमर ठानेर व्यक्तिगत स्वार्थका निम्ति पञ्चायतसँग आत्मसमर्पण गर्न पुगे । नेपाली कांग्रेस जस्तो शक्तिशाली पार्टीले पनि पञ्चायत ढाल्न भनी दुईदुई पटकसम्म एक्लै असफल सशस्त्र विद्रोह गर्‍यो । वर्गशत्रु सफायाको नारासहित केही कम्युनिष्ट युवाहरूले भारतको नक्सलवादी आन्दोलन र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभावमा परी झापा विद्रोह गरे । स्पिरिटमा सही भएपनि त्यो विद्रोहले पनि पञ्चायतलाई हल्लायो तर ढलाउन सकेन । नेकपा(चौ.म.)का नेता क.मोहन विक्रम सिंहलगायतहरूले ‘राजा र कांग्रेस वर्गीय रूपमा समान दुष्मन हुन्’ भन्ने खालको अस्पष्ट र गलत नीतिको वकालत गरे । वर्गीयरुपमा विपरीत ध्रुवमा भएपनि पञ्चायत विरोधी संघर्षमा कांग्रेस सहयोगी हुन सक्दथ्यो र सो कुराको लागि कांग्रेससँग सहकार्य गर्नु आवश्यक पनि थियो । वी.पी.कोइरालाले कम्युनिष्टलाई भन्दा, आपसी अन्तर्विरोधका वावजुद पनि राजालाई नजिक देख्ने नीति लिनु भयो । यस्तो विषम परिस्थितिमा क.पुष्पलालले ‘संयुक्त जनआन्दोलनको नीति’ आविष्कार गर्नु चानचुने कुरो थिएन । तसर्थ क. पुष्पलाल नै तात्कालीन समयमा पञ्चायतको प्रमुख निशानामा हुनुहुन्थ्यो । क.पुष्पलालको नीतिले वि.सं. २०३६ सालमा आंशिक प्रभाव देखायो भने वि.सं.२०४६मा सोही नीति अन्तर्गत गणेशमान सिंहको नेतृत्वमा सञ्चालित कांग्रेस र वाममोर्चाको संयुक्त आन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरायो । वि.सं. २०६२÷६३ को दोश्रो जनआन्दोलनसँग माओवादी जनयुद्धको सहकार्य हुँदै राजतन्त्रकोे अवसान हुनुमा पनि क. पुष्पलालकै ‘संयुक्त जनआन्दोलन’ को नीतिको निरन्तरता नै हो भनी मान्न सकिन्छ । सारमा ; सरलता, इमानदारिता, वर्गीय पक्षधरता, अध्ययनशीलता, नेपाली समाजप्रतिको सही बुझाइ र विश्लेषण र समयसापेक्ष सही कार्र्यनीतिको प्रतिपादन गर्न सक्ने खुवी नै क.पुष्पलालका सबलताहरू हुन् ।

उपसंहार :
सामन्तवादी एवं पूँजीवादी साम्राज्यवादी शोषणबाट मुक्त स्वाधीन नेपाल राष्ट्रको निर्माण नै पुष्पलालको सपना हो । गुटगत स्वार्थलेक.पुष्पलाल बिरुद्ध अतितमा जे जस्ता निराधार आरोपहरू लगाइए पनि समयले ती सबै कुराहरूको खण्डन गरिसकेको छ र क.पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा ध्रुवतारा भएर चम्किरहनु भएको छ । अब नेपालमा भएका कम्युनिष्ट नामधारी सबै समूहहरू छुट्टाछुट्टै रहनुको कुनै अर्थ छैन । क.पुष्पलालले देखाउनु भएको सैद्धान्तिक बाटोमा सबै कम्युनिष्ट घटकहरू एउटै कम्युनिष्ट पार्टीमा गोलबन्द भई धेरै भन्दा धेरै जनवर्गलाई गोलबन्द गर्दै समाजवाद निर्माणको बाटोमा अघि बढ्नुको विकल्प छैन । वर्तमान नेपालमा विद्यमान दुई तिहाइ कम्युनिष्ट जनमतले यो कुरालाई संभव पनि बनाएको छ। क.पुष्पलालले भन्नु भएको छ, “………यदि कम्युनिष्ट पार्टीको नेतृत्वमा जनतालाई व्यापक रूपमा संगठित गरी संसदमा तमाम क्रान्तिकारी वर्गहरूको बहुमत हुन्छ भने जनताको क्रान्तिकारी तागतलाई आधार बनाएर यसै संसदलाई पूँजीपतिवर्गको स्वार्थ साधन गर्ने यन्त्र बन्न दिनुको सट्टा तमाम जनताको स्वार्थ साधन गर्ने यन्त्रमा परिणत गर्न सकिन्छ र त्यस बेला संसदको वर्गस्वरूप पूँजीवादी वर्गस्वरूप नभई जनताको स्वार्थको प्रतिनिधित्व गर्ने जनवादी वर्गस्वरुप हुनेछ ।” क.पुष्पलालको यही मार्गदर्शनमा अब एकीकृत कम्युनिष्ट पार्टीको निर्माण गर्दै संसदमा बहुमत सहित उपस्थित हुने र बढी भन्दाबढी समाजवादी कार्यक्रमहरु लागु गर्दै अघि बढ्नु पर्दछ । साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवाद नै नेपाली समाजवादी राज्यव्यवस्था निर्माणको बाधक हो । नेपालको समाजवाद उन्मुख वर्तमान संविधानप्रति नेपाली कांग्रेस पनि सहमत छ र सही गरेको छ । यदि नेपाली कांग्रेस वी.पी. कोइरालाले वीरगञ्ज महाधिवेशनबाट अघि सार्नु भएको ‘प्रजातान्त्रिक समाजवाद’ प्रति साँचो अर्थमा प्रतिबद्ध छ र नेपालको वर्तमान समाजवादोन्मुख संविधानप्रति इमान्दार छभने देश समाजवादोन्मुख बाटोमा हिँड्दा आउने साम्राज्यवादी हस्तक्षेप विरुद्ध संघर्ष गर्न कम्युनिष्ट र कांग्रेसबीच अझै परसम्म पनि सहकार्य गर्न सकिन्छ र त्यो आवश्यक पनि छ ।तसर्थ भविष्यसम्म पनि क. पुष्पलालको संयुक्त जन आन्दोलनको नीतिको सान्दर्भिकता रहनेछ । नेतृत्वमा देखिएका सिद्धान्त र जीवनशैलीबीचको अन्तरविरोध हल गर्नका निम्ति क. पुष्पलालको जीवन र आदर्श सदैव प्रेरणाको स्रोत हुनेछ । उहाँले देखाउनुभएको सिद्धान्त ,कार्यनीति र आदर्शको अनुशरण गरी समुन्नत, सुखी र समाजवादी नेपाल राष्ट्र निर्माणको लागि अघि बढ्नु सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, वामपन्थी एवं प्रगतिशीलहरूको कर्तव्य हो । यो समयको माग र आवश्यकता पनि हो ।

सन्दर्भ सामग्रीहरू :
१. पुष्पलाल : जीवन, कृतित्व र शिक्षा – नेत्रप्रसाद पन्थी
२. नेपालको कम्युनिष्ट आन्दोलन र क.पुष्पलाल – कृष्णराज वर्मा
३. कम्युनिष्ट स्कूल – मनहरि तिमिल्सिना
४. माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन – चन्द्रदेव जोशी
५. माक्र्सवादी अर्थशास्त्र, पृष्ठभूमि, उद्भव र विकास – डा.विजयकुमार पौडेल
६. वामपन्थ, त्रैमासिक प्राज्ञिक पत्रिका – वर्ष १, अंक १, २०७९ वैशाख
७. त्रैमासिक बुलेटिन हाम्रो तानसेन – वर्ष २, अंक २, पूर्णाङ्क ६, २०७६ साउन
८.संयुक्त जन आन्दोलनका प्रणेता पुष्पलाल—दधिराज सुवेदी
९.पुष्पलालको मूल्यांकन सम्बन्धी केही कुराहरु— कृष्णदास श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *