कम्युनिष्ट पार्टीको घोषणापत्रःएक संक्षिप्त अध्ययन

–गणेश ज्ञवाली

कम्युनिष्ट पार्टीको घोषणापत्र विश्व सर्वहारावर्गका महान् नेता तथा विचारकहरू कार्लमाक्र्स र फ्रेडेरिक एंगेल्सले सन् १८४८ मा प्रकाशित गर्नु भएको थियो । यो घोषणापत्र संसार भरका शोषित उत्पीडित जनताको मुक्तिको महान् दस्तावेज थियो । क्रान्तिकारी आन्दोलनको निम्ति घोषणापत्रको प्रकाशन आफैमा महान् सुरूवात थियो । घोषणापत्र विश्व सर्वहारावर्गीय आन्दोलनको निम्ति पहिलो कार्यक्रमगत दस्तावेज हो । आकारका हिसावले यो दस्तावेज सानो भए पनि यसले बोकेको विचारहरूका कारणले यो अत्यन्तै महान् छ । कम्युनिष्ट पार्टीको घोषणापत्रमा माक्र्स र एंगेल्सहरूले समाज विकासको ऐतिहासिक भौतिकवादी नियम, पूँजीवादी समाजको विश्लेषण, समाजवादी क्रान्ति र त्यसको अनिवार्यता तथा सर्वहारा श्रमजीवी जनताको क्रान्तिकारी आन्दोलनसँगै जोडिएको महत्त्वपूर्ण सवालहरूमा गहन विश्लेषण पेश गर्नु भएको छ। अर्थात् यो एउटा यस्तो दस्तावेज हो जसमा माक्र्सवादी विश्व दृष्टिकोणका आधारभूत पक्षहरूको अत्यन्तै विस्तृत, उत्कृष्ट र व्यवस्थितरूपमा व्याख्या गरिएको छ । यस घोषणापत्रले सर्वहारावर्गलाई पूँजीवादी शोषण र उत्पीडनबाट मुक्तिको बाटो देखाइदिएको छ । साथै, पूँजीवादको गर्भबाट जन्मेको सर्वहारा वर्गले अन्ततः वर्ग संघर्षमा श्रेष्ठता हासिल गर्दै वर्गबिहीन साम्यवादी समाजमा लैजाने छ भन्ने महान् तथ्यलाई घोषणापत्रले उजागर गरेको छ । आदर्शवादी एवम् धार्मिक दृष्टिकोणबाट मानव मुक्तिको कुरा धेरैले गरेका छन् तर आदिम साम्यवाददेखि आजसम्मका सम्पूर्ण घटनाहरू, आर्थिक क्रियाकलापहरू एवं उत्पादन सम्बन्धहरूको वैज्ञानिक व्याख्यामा भर परेर यो मानव जाति पूर्ण स्वतन्त्रताको युग अर्थात् साम्यवादमा अनिवार्यरूपमा प्रवेश गर्नेछ भनेर देखाउन सक्नु माक्र्स र एंगेल्सको ठूलो खुवी थियो । यसै कुरामा सो घोषणापत्रको महानता अन्तरनिहित छ । कम्युनिष्ट आन्दोलनमा लागेका हरेक व्यक्तिहरूले कम्युनिष्ट पार्टीको घोषणापत्रको अनिवार्यरूपमा अध्ययन गर्नु आवश्यक छ ।

कमरेड स्टालिनले यस महान् कृतिलाई “माक्र्सवादका गीतहरूको गीत” को संज्ञा दिनु भएको छ । यसमा व्यक्त भएका विचारहरू अत्यन्तै सरल र कलात्मक रूपमा प्रस्तुत भएका छन् । छोटो भूमिका सहित यो कृति चारवटा अध्यायहरूमा विभाजित छ । ती यस प्रकार छन् :
१.पूँजीपति र मजदूर
२.सर्वहारा र कम्युनिष्ट
३.समाजवादी र कम्युनिष्ट साहित्य
४.विभिन्न विद्यमान विरोधी पार्टीहरूको सम्बन्धमा कम्युनिष्टहरूको स्थिति ।

कम्युनिष्ट घोषणापत्र “सबै देशका मजदूरहरू, एक होऔँ ।” भन्ने महान् नारा (slogan) सहित टुङ्गिएको छ । यो नाराले मजदूरहरू अन्तर्राष्ट्रियतावादी हुन्छन् भन्ने महत्त्वपूर्ण अभिव्यक्ति दिएको छ । त्यस्तै गरी कम्युनिष्ट घोषणापत्र यो वाक्यबाट सुरु भएको छ “युरोप एउटा भूतद्वारा आतंकित भइरहेको छ त्यो हो कम्युनिज्मको भूत ।” आज जस्तै डेढ शताव्दी अघि पनि प्रतिक्रियावादी वर्गहरू मजदूर वर्गका महान् साम्यवादी आकांक्षाबाट अत्यन्तै भयभित थिए भन्ने तथ्य यसले देखाएको छ । त्यो भय आज पनि उस्तै छ । त्यो वेलाका सम्पूर्ण प्रतिक्रियावादीहरू (मुलतः यूरोपेली पूँजीपति वर्ग) मजदूर आन्दोलन र त्यसको पक्षपाती कम्युनिष्ट विचारधारालाई ध्वस्त पार्न ठूलो प्रयास गरिरहेका थिए । कम्युनिज्मलाई बदनाम गर्नको निम्ति सबै मिलेर भ्रम फैलाइरहेका थिए । यस्तो अवस्थामा मजदूर आन्दोलनलाई दिशानिर्देश गर्न र सारा संसार सामु कम्युनिष्टहरूका विचार र उद्देश्यहरू प्रष्ट पार्नको लागि यो घोषणापत्रको प्रकाशन गरिएको थियो । घोषणापत्रले सर्वहारा वर्गको तत्कालीन उद्देश्यलाई त्यसको अन्तिम उद्देश्यको मातहतमा राख्नु पर्छ र संसारको जुनसुकै ठाउँमा चलेका मुक्ति आन्दोलनहरूमा समर्थन दिनुपर्छ भन्ने कुरामा जोड दिएको छ । घोषणापत्रले यो मानव समाज अन्ततः साम्यवादमा पुग्छ भन्ने कुरामा संकेत गरे पनि साम्यवादी समाजको विस्तृत चर्चा गरेको छैन तर त्यसका सारभूत विशेषतालाई भने औल्याएको छ । मानिसद्वारा मानिसको शोषणको अन्त्य, औपनिवेसिक दासताको अन्त्य, जातीय थिचोमिचाकोे अन्त्य, मानसिक र शारीरिक श्रमबीचको भेदको उन्मुलन, गाउँ र शहरबीचको भेदको उन्मुलन, महिलाहरूको समानता, सबैलाई शिक्षा, औद्योगिक उत्पादनसँग शिक्षालाई गाँसिने तथा समाजका सारा सदस्यहरूका भौतिक, बौद्धिक खाँचोहरूको पूर्ण सन्तुष्टिका लागि उत्पादन शक्तिहरूको तीव्र विकास आदि उक्त साम्यवादी समाजका विशेषता हुन सक्ने कुरा यसमा औल्याइएको छ ।

अब घोषणापत्रका विभिन्न चार अध्यायहरूमा रहेका मूख्य मूख्य कुराहरू के के छन् भनी छोटो छलफल गरौँ ।

१. पूँजीपति र मजदूर
यो घोषणापत्रको पहिलो अध्याय हो । यो अध्यायमा पूँजीवादी व्यवस्थाको गहन विश्लेषण गरिएको छ । पूँजीवादको उत्पत्ति कसरी भयो, यसका के कस्ता विशेषताहरू रहेका हुन्छन्, किन पूँजीवादको पतन अनिवार्य छ भन्ने तथ्यलाई यो अध्यायमा सविस्तार वर्णन गरिएको छ । यो अध्यायमा रहेका मुख्य–मुख्य विचारहरूलाई निम्नानुसार बुँदागत गर्न सकिन्छ ।

–आजसम्म विद्यमान समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।
–पूँजीवादी समाज आपसमा संघर्षरत दुई ठूला वर्गहरू पूँजीपति वर्ग र सर्वहारा वर्गमा विभाजित भैरहेको छ । यो सामन्तवादी समाजको गर्भबाट विकास भएको हो ।
–वाष्पशक्तिबाट संचालित ठूला–ठूला कारखानाहरू स्थापित हुँदै गए पछि पूँजीवादको विकास हुँदै गयो र यसले आफ्नो उत्पादन बेच्न र उद्योगलाई चाहिने कच्चा पदार्थहरू आपूर्ति गर्न अमेरिकादेखि एसियासम्मका भूमिहरूलाई उपनिवेश बनाउन सुरू ग¥यो ।
–आधुनिक पूँजीपतिवर्ग लामो विकासक्रमको उपज र उत्पादन विनियम पद्धतिमा भएको क्रमिक क्रान्तिको उपज हो ।
–पूँजीपति वर्गको विकाससँगै यसको राजनीतिक शक्ति पनि बढ्दै गयो जसको फलस्वरूप आधुनिक राज्यको कार्यकारिणी पुरै पूँजीपतिवर्गको साझा कारोबार चलाउने कमिटि मात्र रहन गएको छ ।
–उत्पादनमा लगातार क्रान्तिकारी हेरफेर, सामाजिक अवस्थामा अटुट उथलपुथल, कहिल्यै अन्त नहुने अस्थिरता र अनिश्चितता यी पूँजीवादी युगका यस्ता विशेषताहरू हुन् जसलाई पहिलेका सबै युगहरूबाट छुट्याउछन् ।
–आफ्ना उपजहरूको लागि निरन्तर विस्तारित बजारको खाँचो टार्न पूँजीपति वर्ग संसारको कुना काप्चा चहार्ने गर्छ ।
–उत्पादन सबै औजारहरूको छिटो विकास गरेर र सञ्चारका साधनहरूमा निकै उन्नति गरेर पूँजीपति वर्गले सबै राष्ट्रहरूलाई सभ्यताको घेरा भित्र ल्याउँछ । यसले संसारलाई आफ्नो साँचोमा ढाल्दछ ।
–पूँजीपति वर्गले गाउँलाई शहरको शासनमुनि राखेको छ । यसले किसान राष्ट्रहरूलाई पूँजीवादी राष्ट्रमाथि, पूर्वलाई पश्चिम माथि आश्रित पारेको छ ।
–पूँजीवादले समाजको उत्पादनका साधनहरूलाई केन्द्रित पारेको छ । थोरै मानिसको हातमा सम्पत्ति थुपारिदिएको छ ।
–पूँजीवादी समाजको उत्पादन र विनिमयको विशाल साधनलाई पैदा गरेको छ, तर त्यसलाई सम्हाल्न यो असमर्थ छ ।
–पूँजीवाद बेलाबेलामा अति उत्पादनको महामारीबाट संकटग्रस्त बन्छ । चाहिने भन्दा बढी जीविकाको साधन चाहिने भन्दा बढी उद्योग, चाहिने भन्दा बढी व्यापार भएकाले यस्तो भएको हो । यसले पूँजीवादको अस्तित्व संकटमा पार्दछ ।
–संंकटबाट मुक्त हुनको लागि पूँजीवादले एकातिर निकै धेरै उत्पादक शक्तिहरूलाई जबर्जस्त नष्ट पार्दछ । अर्कोतिर त्यसको नयाँ नयाँ बजार कब्जा गर्छ र पुराना बजारहरूको बढी शोषण गर्दछ ।
–पूँजीपतिवर्गले आफूलाई खतम पार्ने हतियारका साथै उक्त हतियार प्रयोग गर्ने मानिसहरू अथवा आधुनिक मजदूर सर्वहाराहरूलाई जन्माएको छ ।
–सर्वहारावर्ग त्यस्ता कामदारहरूको जमात हो जो काम पाउञ्जेलसम्म मात्र जीवित रहन्छ र जसले आफ्ना श्रमद्वारा पूँजीलाई बढाउन सकुञ्जेलसम्म मात्र काम गराउँछ ।
–सर्वहारा वर्गले आफुलाई खुद्रा विक्रि गर्नु पर्छ र उनीहरू एक प्रकारका वस्तु हुन् र उनीहरू प्रतियोगिता र बजारको उतार चढावका शिकार हुन्छन् ।
–सर्वहाराहरूले आफ्नो श्रमअनुसारको पारिश्रमिक पाउँदैनन्, उनीहरूलाई त्यतिमात्र दिइन्छ जतिले उनीहरूको बल्ल बल्ल जीवन धान्न र वंशवृद्धि गर्न काफी हुन्छ ।
–पूँजीवादी व्यवस्थाले क्रमशः सबै निम्न मध्यम वर्गीय मानिसहरूलाई विस्तार विस्तार सर्वहाराको स्थितितिर ओराल्छ ।
–सुरूसुरूमा सर्वहारा वर्गले आफ्नो दुःखको कारण पूँजीपति र पूँजीवादी व्यवस्था हो भनेर नबुझ्नाले दुःखको कारणको रूपमा कारखानाहरूलाई ठान्छन् र उनीहरूले आफ्नो श्रमसँग होडवाजी गर्ने विदेशी वस्तुहरूलाई नष्ट गर्छन् यन्त्रहरूलाई ध्वस्त गर्छन्, कारखानामा आगो लगाइदिन्छन् तर यो गलत कुरा हुन जान्छ ।
–पूँजीवादमा उद्योगको विकाससँगै सर्वहाराको संख्या वृद्धि हुन्छ । उनीहरूको तागत पनि बढ्छ ।
–पूँजीपतिहरूको बीचमा बढ्दो होडवाजी र त्यसबाट उत्पन्न हुने व्यापार संकटले गर्दा मजदूर जीवन झन् अनिश्चित बन्छ, मजदूर र पूँजीपतिबीचको संघर्ष चर्किन थाल्छ, ज्याला बढाउनको लागि मजदूरहरू संगठित भएर पूँजीपति विरुद्ध संघर्षको विकास हुन थाल्दछ ।
–उन्नत यातायात र संचारका साधनको कारणले गर्दा सर्वहाराहरूले संचालन गर्ने वर्ग संघर्षमा तिव्रता आउन थाल्छ र यसले सजिलैसँग धेरै ठाउँहरूमा फैलिन सक्ने सम्भावना बोक्दछ ।
–सर्वहाराहरूको आन्दोलन बढ्दै जाँदा पूँजीपतिवर्गले सर्वहाराका केही नेताहरूलाई पैसाले किनेर सर्वहारा आन्दोलनलाई कमजोर बनाउन खोज्दछ । सर्वहारा विरूद्ध प्रयोग हुने यस्ता सर्वहाराहरू वास्तवमा लफङ्गा सर्वहारा हुन् ।
–पूँजीवादी व्यवस्थाका सम्पूर्ण शोषणपद्धतिहरूलाई खतम नपारिकन सर्वहारा समाजका उत्पादक शक्तिहरूको मालिक बन्न सक्दैनन्, सर्वहारावर्गसँग जोगाउनु पर्ने भन्ने आफ्नो कुनै चिज हुँदैन उनीहरूको मुख्य उद्देश्य निजी सम्पत्तिसित सम्बन्धित पहिलेका सबै संरक्षण र ग्यारेन्टीहरूलाई ध्वस्त पार्नु हो ।
–पहिले पहिलेका ऐतिहासिक आन्दोलनहरू भन्दा भिन्नै सर्वहारा आन्दोलन विशाल वहुसंख्याको स्वार्थमा हुने विशाल बहुसंख्याको आत्मसचेत आन्दोलन हो । विद्यमान पूँजीवादी समाजको संरचनालाई ध्वस्त नपारिकन सर्वहारा वर्गले आफ्नो सत्ता कायम गर्न सक्दैन ।
–सर्वहारा आन्दोलन सारतत्वका दृष्टिले अन्तर्राष्ट्रिय भएपनि अवश्य नै प्रत्येक देशको सर्वहारा वर्गले सर्वप्रथम आफ्नै देशको पूँजीपतिवर्गलाई खतम पार्नु पर्दछ ।
–पूँजीको लागि आवश्यक शर्त ज्यालादारी श्रम हो । ज्यालादारी श्रम मजदूरहरूको होडबाजीमा निर्भर रहन्छ ।
–आधुनिक उद्योगको विकासले अन्ततः पूँजीवादी उत्पादन र शोषणको आधारलाई नै तहस नहस पारी दिन्छ । किनकि यसैसँग पूँजीपति वर्गले आफ्नो चिहान खन्ने सर्वहारा वर्गलाई जन्माउने र मजबुत बनाउने काम गरिरहेको हुन्छ ।
–पूँजीवादी व्यवस्थाको पतन र सर्वहारावर्गको विजय अनिवार्य ऐतिहासिक सत्य हो ।

२.सर्वहारा र कम्युनिष्ट
यो घोषणापत्रको दोश्रो अध्याय हो । यस अध्यायमा कम्युनिष्ट र सर्वहारा माझको सम्बन्धलाई प्रष्ट पारिएको छ । कम्युनिष्टहरू माथि प्रतिक्रियावादी वर्गले लगाउने आक्षेपहरूको उत्तर दिएको छ । यसका साथै कम्युनिष्टहरूले कस्तो खालको कार्यक्रम लागु गर्न चाहेका छन् भन्ने मोटामोटी जानकारी दिएको छ । यो अध्यायको सुरूमा भनिएको छ कि सर्वहारा वर्गको स्वार्थ भन्दा छुट्टै र भिन्दै कम्युनिष्टहरूको अर्को कुनै स्वार्थ छैन । यो भनाइको अत्यन्तै गम्भीर अर्थ छ । यसले के प्रष्ट पार्छ भने कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गको मुक्तिको हतियार हो । सर्वहारा वर्गको संगठन गर्नु, पूँजीवादी शासनलाई समाप्त पार्नु र सर्वहारा वर्गद्वारा राज्यसत्ता प्राप्त गर्नु नै कम्युनिष्ट पार्टीको तत्कालीन उद्देश्य हो भन्ने कुरा यहाँ दर्शाइएको छ । राज्यसत्ता सम्बन्धी पूँजीवादी पाखण्डलाई तोड्दै यसमा भनिएको छ कि, “राजनैतिक सत्ता भनेको एक वर्गले अर्को वर्गलाई दबाउने संगठित शक्ति हो ।” यो वास्तवमा महान् सत्यको उद्घाटन थियो । यस अध्यायमा रहेका मुख्य मुख्य विचारहरू निम्नानुसार रहेका छन् ।

–कम्युनिज्मको विशिष्ट लक्षण सामान्यतया सम्पत्तिको उन्मूलन गर्नु होइन बरू पुँजीवादी सम्पत्तिको उन्मूलन गर्नु हो । सारमा निजी सम्पत्ति उन्मूलन ।
–आफ्नै पसिनाले कमाएको व्यक्तिगत सम्पत्ति पनि कम्युनिष्टहरूले राख्न दिँदैनन् भन्ने कम्युनिष्ट विरोधीहरूको आरोपलाई खण्डन गर्दै घोषणापत्रमा भनिएको छ, “खुव मिहिनेत गरी हासिल गरेको आफैले कमाएको सम्पत्ति, के तिमीहरूको भनाईको अर्थ सानो दस्तकार र सानो किसानको सम्पत्ति हो जुन पूँजीवादी सम्पत्ति भन्दा पहिलो रहेको थियो ? त्यसको उन्मूलन गर्नु पर्ने कुनै खाँचो छैन उद्योगको विकासले त्यसलाई धेरै हदसम्म खतम पारिसकेको छ र अहिले पनि दिन प्रतिदिन खतम पार्दै छ ।” वास्तवमा कम्युनिष्ट क्रान्तिले परम्परागत सम्पत्ति सम्बन्धसँग आधारभूतरूपमा नाता तोड्न चाहन्छ ।

–ज्यालादारी श्रमले मजदूरवर्गको लागि कुनै सम्पत्ति पैदा गर्दैन । त्यसले त पूँजीपति वर्गकोनिम्ति पूँजी पैदा गरिदिन्छ ।
–कम्युनिष्टहरूले खतम गर्न चाहेको त्यस्तो प्रथा हो जस अन्तर्गत मजदूर पूँजी बढाउनका लागि मात्र बाँचेको हुन्छ र शासकवर्गको स्वार्थपूर्तिका लागि चाहिए सम्म मात्र उसलाई बाँच्न दिइन्छ ।
–पूँजीवादी समाजमा भूतले वर्तमान माथि शासन चलाउँछ, कम्युनिष्ट समाजमा वर्तमानले भूतमाथि शासन चलाउँछ ।
–पूँजीवादी समाजमा पूँजी स्वतन्त्र छ र त्यसको नीजि व्यक्तित्व छ, तर जिउँदो मान्छे परतन्त्र छ र उसको कुनै व्यक्तित्व छैन ।
–पूँजीवादी व्यक्तित्व, पूँजीवादी स्वाधीनता र पूँजीवादी स्वतन्त्रताको उन्मूलन गर्नु अवश्य पनि कम्युनिष्टको उद्देश्य हो ।
–कम्युनिष्टले कसैलाई पनि समाजका उपजहरूको उपभोग गर्नबाट बञ्चित गर्दैन । यसले उसलाई अर्काको श्रम शोषण गर्ने शक्तिबाट बञ्चित गर्छ ।
–पूँजीवादी समाजमा जो काम गर्छन् उनीहरूले केही पाउँदैनन् र जो सबथोक पाउँछन् उनीहरूले काम गर्दैनन् ।
–जुन संस्कृतिको विनाशलाई लिएर पूँजीपतिवर्ग विलौना गर्छ, त्यो बहुसंख्यक जनताको निम्ति यन्त्रले जस्तै काम गर्न सिकाउने शिक्षा मात्र हो ।
–शिक्षामाथि समाजको हस्तक्षेपलाई कम्युनिष्टहरूले सिर्जेका होइनन्, उनीहरू उक्त हस्तक्षेपको चरित्रलाई फेर्ने र शिक्षालाई शासकवर्गको प्रभावबाट मुक्त पार्न मात्र चाहन्छन् ।
–पूँजीवादी उत्पादन व्यवस्था खतम नभइकन महिलाहरूको वास्तविक मुक्ति सम्भव छैन ।
–कम्युनिष्टहरू देश र राष्ट्रियता मेटाउन चाहन्छन् भन्ने आरोपलाई खण्डन गरिएको छ ।
–सर्वहारा वर्गका शासन कायम भएपछि राष्ट्रहरूबीचका भेद र वैरभावहरू बिलाउँछन् ।
–जसै मानिसद्वारा मानिसले शोषणको अन्त्य हुन्छ, एक राष्ट्रद्वारा अर्को राष्ट्रको शोषण पनि खतम हुन्छ ।
–जसै भौतिक उत्पादनमा हेरफेर हुन्छ, वौद्धिक उत्पादनको चरित्रमा पनि हेरफेर हुन्छ, चेतनामा पनि हेरफेर हुन्छ ।
–सर्वहारा वर्गले आफ्नो राजनीतिक प्रभुत्व प्रयोग गरी पूँजीपति वर्गबाट विस्तार विस्तार सबै पूँजी खोस्नेछ, सर्वहारा वर्गको हातमा उत्पादनका सारा साधनहरूलाई केन्द्रित पार्ने छ र सकेसम्म तीव्र गतिले कुल उत्पादक शक्तिहरूलाई बढाउने छ ।
–क्रान्तिकारी सर्वहारा वर्गले जब आफुलाई शासक वर्ग बनाउँछ, पुरानो पूँजीवादी उत्पादन व्यवस्थालाई खतम पार्छ, पूँजीवादी समाजको ठाउँमा यस्तो संघको जन्म हुनेछ जसमा प्रत्येकको स्वतन्त्र विकास सबैका स्वतन्त्र विकासका लागि शर्त रहन्छ ।

३.समाजवादी र कम्युनिष्ट साहित्य
यो घोषणापत्रको तेश्रो अध्यायमा विभिन्न प्रकारका समाजवादहरूको चर्चा गरिएको छ । ती समाजवादका विशेषताहरूको चर्चा गर्दै खण्डन पनि गरिएको छ । यसमा माक्र्स र एंगेल्सले चर्चा गर्नु भएका पृथक् चरित्रका समाजवादहरू यस प्रकार छन् ।
१) प्रतिक्रियावादी समाजवाद
क) सामन्तवादी समाजवाद
ख) निम्न पूँजीवादी समाजवाद
ग) जर्मन, वा “सच्चा” समाजवाद
२) अनुदारवादी वा पूँजीवादी समाजवाद
३) काल्पनिक समाजवाद

आधुनिक पूँजीवादसँग सामन्तवाद पराजित बनेपछि फ्रान्स र वेलायतका सामन्तहरूले पूँजीवादी समाज विरूद्ध विभिन्न पर्चा, पुस्तिका र साहित्यका कृतिहरू लेखेर प्रहार गर्न थाले । जनताको सहानुभूति प्राप्त गर्नको लागि सामन्तवर्गले आफ्नो स्वार्थलाई लुकाउँदै मजदूरहरूलाई पूँजीपतिले गरेको दमन शोषण बारेमा चर्चा गर्न थाले र उक्त पूँजीवादी शोषणको विरोध गर्न थाले । यसको निम्ति सामन्तहरूले विभिन्न व्यङ्ग्य कृतिहरू रचेर पूँजीवादको सर्वनाशको भविष्यवाणी गर्दै आनन्द लिन थाल्यो । यसरी सामन्ती समाजवादको उत्पत्ति भयो । आधुनिक पूँजीवादको विकास भएको देशमा सर्वहारा र पूँजीपतिवर्गहरूको विचमा एउटा निम्न पूँजीपति वर्ग पनि जन्मिरहेको हुन्छ । यो वर्ग सर्वहारा र पूँजीपति वर्गको बीचमा घडीको पेन्डुलम झैँ हल्लीरहन्छ । यस वर्गका सदस्यहरू पूँजीपति वर्गतिर उकासिने चाहना राख्दा राख्दै निरन्तर रूपले सर्वहारा वर्गमा खस्कदै हुन्छन् । यो वर्गका मानिसहरू पूँजीवादी शासनको आलोचना गर्दा किसान र निम्न पूँजीपतिको दृष्टिकोण लिनु र मजदूर वर्गको पक्षमा लाग्नु स्वभाविक थियो । यसरी निम्न पूँजीवादी समाजवादको उत्पत्ति भयो ।
फ्रान्सको समाजवादी र कम्युनिष्ट साहित्य पूँजीवादी सत्ता विरोधी संघर्षको अभिव्यक्ति थियो । तर यो साहित्यलाई जर्मनीमा यस्तो समयमा भित्र्याइयो जुनवेला त्यहाँको पूँजीपति वर्गले सामन्ती निरंकुशताको विरूद्ध आफ्नो संघर्ष थालेका मात्र थिए । यसरी जर्मन दार्शनिक र साहित्यकारहरूले सन्दर्भ ख्याल नगरी अपनाउदा फ्रान्सेली समाजवादी साहित्यलाई विकृत पार्न पुगे । नपुंंशक बनाइदिए । जर्मनको हातमा परेपछि फ्रान्सेली समाजवादी साहित्य एक वर्गद्वारा अर्को वर्ग विरूद्ध संघर्षको अभिव्यक्ति बन्न छाड्यो । यही विचार नै जर्मन समाजवाद वा सच्चा समाजवाद भनियो । जर्मन समाजादले प्रतिक्रियावादी वर्गको सेवा गर्न थाल्यो । जर्मन जातिलाई आदर्श जाति भनी घोषणा ग¥यो र यसले कम्युनिज्मलाई पासविक विनासकारी प्रवृत्ति भनी ठाडो विरोध गर्न पुग्यो । पूँजीवादी समाजवादले पूँजीवादी समाजलाई कायम राख्ने उद्देश्यले सामाजिक खरावीहरूलाई हटाउने इच्छा प्रकट गर्छ । उनीहरू सर्वहारा वर्ग विनाको पूँजीपति वर्ग होस् भन्ने कामना राख्छन् ।

सेन्ट साइमन, चाल्र्स फुरिए, रवर्ट ओबेनहरू काल्पनिक समाजवादीमा पर्छन् । यस्ता खालका समाजवादीहरूको मुख्य विचार यो थियो कि शासक वर्गहरूको दिल जितेर उनीहरूका कृपा र परोपकारी भावनाबाटै समाजवाद साम्यवाद आउँछ । क्रान्ति गर्नु आवश्यक छैन । काल्पनिक समाजवादीहरू मजदूर वर्गबाट हुने सारा कार्वाइको घोर विरोध गर्दथे ।
यहाँ चर्चा गरिएको सबै खालका समाजवादी विचारहरू सर्वहारा आन्दोलका विरोधी छन् । वैज्ञानिक समाजवादका विरोधी छन् ।वैज्ञानिक समाजवाद मात्र सर्वहारा श्रमजीवीवर्गलाई मुक्ति दिलाउने व्यवस्था हो ।

४. विभिन्न विद्यमान विरोधी पार्टीहरूको सम्बन्धमा कम्युनिष्टहरूको स्थिति
यो घोषणापत्रको चौथो अध्याय हो । कम्युनिष्टहरू जुनसुकै ठाउँमा विद्यमान सामाजिक र राजनीतिक व्यवस्थाको विरूद्धमा हुने हरेक क्रान्तिकारी आन्दोलनको समर्थन गर्दछन् भन्ने तथ्यलाई यो अध्यायमा प्रष्ट पारिएको छ । कम्युनिष्टहरूले सबै देशका जनवादी पार्टीहरूको एकताको निम्ति काम गर्दछन् ।कम्युनिष्टहरुले जहिले पनि तुलनात्मकरुपमा अग्रगामी शक्तिलाई समर्थन गर्नुपर्छ भन्ने मान्यता यहाँ प्रकट गरिएको छ । यहाँ एउटा अत्यन्तै महत्त्वपूर्ण विचार के अघि सारिएको छ भने,“कम्युनिष्ट आफ्ना विचार र उद्देश्यहरू लुकाउन खोज्दैनन् । उनीहरू खुलमखुल्ला के घोषणा गर्दछन् भने सारा विद्यमान समाज व्यवस्थालाई जवरजस्त खतम पारेर मात्र उनीहरूको लक्ष्य प्राप्त गर्न सकिने छ । कम्युनिष्टहरूले ढाँट, छलछाम र षड्यन्त्रबाट आफ्नो उद्देश्य प्राप्ति गर्न सम्भव हुन्छ भन्ने ठान्दैनन् । रणनीति र कार्यनीतिमा कम्युनिष्टहरू प्रष्ट हुनु पर्दछ । शोषणमाथि टिकेको पूँजीवादी समाजलाई बलपूर्र्वक ध्वस्त पारेर सर्वहारा, मजदूर ज्यामीहरूलाई शासनसत्ताको मालिक बनाउने स्पष्ट उद्देश्य कम्युनिष्ट पार्टीसँग हुन्छ । कम्युनिष्ट पार्टीको यस्तो कार्यक्रमबाट शोषक वर्ग सधैँ थर्कमान हुन्छ । कम्युनिष्ट पार्टीलाई ध्वस्त गर्न र सर्वहारा आन्दोलनलाई समाप्त गर्न पूँजीपति वर्ग तत्काल सफल भए पनि, अल्पकालीन रूपमा पूँजीपति वर्गले शासनसत्ता हात पारे पनि अन्ततः सर्वहारा वर्गकै जित हुन्छ । किनकि सर्वहारा वर्ग उदियमान वर्ग हो , संसारको वास्तविक निर्माता हो र यो अन्तिम वर्ग पनि हो । सर्वहारा वर्गको जित निश्चित भएको तथ्य कम्युनिष्ट पार्टीको घोषणापत्रका अन्तिम वाक्यहरूमा यसरी संश्लेषण गरिएको छ,“सर्वहाराहरूको आफ्नो सिक्रि बाहेक गुम्ने भन्ने कुरा छैन । जित्नको लागि उनीहरूको सामु सिंगै संसार छ ।”

आज पूँजीवादले अझै माथिल्लो चरण अथवा साम्राज्यवादी रूप धारण गरेको छ । यसले आज संसारभरी नै लुट, शोषण, अन्याय, युद्ध र विनाशको ताण्डव मच्चाएको छ । साम्राज्यवादले कम्युनिज्मको अन्त्यको घोषणा गरेर मुठिभर पूँजीपतिको पोल्टामा यो संसार अनन्तसम्म चल्नेछ भन्ने सपना साँचिरहेको छ । तर ऐतिहासिक भौतिकवादमा आधारित रहेर कम्युनिष्ट पार्टीको घोषणापत्रले के निर्दिष्ट गरेको छ भने शोषण र लुटमा आधारित पूँजीवादी व्यवस्था अनन्तकालसम्म टिक्न कदापि सम्भव छैन । सर्वहारा वर्गले पूँजीवादी व्यवस्थालाई खतम गरेर ‘क्षमता अनुसारको काम र काम अनुसारको दाम’को समाजवादी व्यवस्था निर्माण गर्नेछ र अझै अघि बढेर पूर्ण स्वतन्त्रताको साम्यवादी समाजतिर मानव जाति अनिवार्यरूपमा संक्रमण गर्नेछ भन्ने महान सत्यको उद्घाटन यो घोषणापत्रले गरेको छ । आजको समयमा यो ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’को महत्त्व र सान्दर्भिकता अझै बढेर गएको छ ।

सन्दर्भ सामग्रीहरूः
– कम्युनिष्ट पार्टीको घोषणापत्र– कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स (अनुवाद– कृष्णदास श्रेष्ठ )
– मार्क्सवाद चिनारी पुस्तक– कृष्णदास श्रेष्ठ
– मानव समाज– राहुल सांकृत्यायन

Leave a Reply

Your email address will not be published. Required fields are marked *