कोदोको बिस्कुट लाेकप्रियता बढेसँगै मागलाई धान्न गाह्रो

गण्डकी संवाददाता, बागलुङकाे काठेखोला गाउँपालिकाबाट उत्पादन सुरु भएको कोदोको बिस्कुटले लाेकप्रियता प्राप्त गरे संगै देशका विभिन्न स्थानबाट माग बढेको छ। काेदाेकाे बिस्कुट उत्पादनकाे छोटो समयमै लाेकप्रिय हासिल गरे पछि अहिले आम उपभोक्ताको रोजाइमा परेको हाे ।

काठेखोला गाउँपालिका-८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गर्नुभएकाे कोदोको बिस्कुट उत्पादनलाई अहिले देशभरका विभिन्न स्थानबाट उच्च माग आएको र उत्पादनकाे तीन महिना अवधिमै उच्च माग भएकोले हालकाे उत्पादनले माग अनुसारकाे बिक्रीवितरणलाई धान्न नसक्ने अवस्थामा रहेको बताउनुभएको हो।
पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्नलाई फागुनदेखि काेदाेकाे बिस्कुट उत्पादन गरी बजारमा पठाएकाेमा अहिले आफुले साेचेकाे भन्दा बढीको माग रहेकोले धान्न गाह्रो भएको उहाँले बताउनुभयो । बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको बताउँदै ३४ वर्षीय युवा उद्यमी श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट बनाउने काम गर्नुभएकाे हाे । उहाँले उद्योग फस्टाउन थालेपछि पाँचजनालाई प्रत्यक्ष रोजगारी समेत दिनुभएको छ । गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्ष देखि कोदोको बिस्कुटकाे उत्पादनलाई अनुसन्धान गरेकाे सफल भएपछि व्यवसायिक रूपमा काेदाेकाे बिस्कुट उत्पादनलाई सुरु गरेकाे श्रीसले भन्नुभयाे ।

अहिले ‘कोदोको बिस्कुटको माग दैनिक पन्ध्र हजार थान छ तर मेरो उद्योगको उत्पादन क्षमता दैनिक एक हजार पाँच सय छ’, उहाँले भन्नुभयाे, ‘मैले उपभोक्ताको माग पुरा गर्नै सकेको छैन।’ कुल मागको तीस प्रतिशत मात्रै कोदोको बिस्कुटलाई बजारमा पठाउन सकेको उहाँले बताउनुभयाे । अझै सत्तरी प्रतिशत माग पुर्‍याउन बाँकी छ। त्यसका लागि भारतबाट अत्याधुनिक मेसिन उपकरण भित्र्याउने तयारीमा रहेको श्रीसले जानकारी दिनुभयाे । एक महिनाभित्र उक्त उपकरण आएपछि मागअनुसार उत्पादन हुने उहाँको भनाई छ । वि.सं २०७७ मा उद्योग स्थापना गरिएकोमा अहिले उद्योगबाट कोदोकाे बिस्कुट उत्पादन गरेर बजारमा पुर्‍याएकाे हो । आफ्नो गाउँमा उत्पादन भइरहेको कोदोको महत्वबारेमा बताउँदै कोदोको स्वादमा उत्पादित बिस्कुटकाे बिक्रीवितरणलाई जागा इन्टरनेसनल इन्भेष्टमेन्ट एन्ड रिसर्च सेन्टर प्रालिको नामबाट काेदाेकाे बिस्कुट बजारमा पुर्‍याइएकाे श्रीसले बताउनुभयो ।

लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनलाई अध्ययन पश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन सुरु गरेको भन्दै उहाँले भन्नुभयो। बजारको माग अनुसारको बिस्कुट उत्पादन गर्नलाई चालिस लाख लागतकाे नयाँ उपकरण खरिद गरि भारतबाट ल्याउन लागेको जानकारी दिनुभयाे । कोदोको बिस्कुटले यत्तिको लोकप्रियता कमाउला भनेर आफुले सोचेको थिइन उहाँले भन्नुभयो। उत्पादन भएको छाेटाे अवधिमा काेदाेकाे बिस्कुट अहिले छिमेकी जिल्लासँगै विदेशबाट माग हुन थालेको बताउँदै अहिले जापानमा समेत आफ्नो बिस्कुट प्रदर्शन भइसकेको उहाँले बताउनुभयाे । घरेलु उद्योगको हिसाबले सानो पूँजीमा सुरु गरेको उद्योग राष्ट्रिय उद्योगको जस्तो माग आएपछि थप संरचना निर्माणको कामसुरु गरेकाे समेत उहाँले जानकारी दिनुभयो ।

‘धान्नै नसक्ने माग आयो, अहिले उद्योगको क्षमता विस्तारमा गर्न लागेको छु, बीस लाखमा सुरु गरेको उद्योग अबको एक महिना भित्रमा करोड लागत पुग्छ, मागअनुसारको बिस्कुट उत्पादनका लागि एक महिना लाग्छ,’ श्रीसले भन्नुभयाे, ‘ उहाँले अहिले नयाँ उपकरणका लागि संरचनाहरु निर्माण भइरहेको छ, कोदोको बिस्कुट बजारको माग धान्न नसकेर फोन उठाउनै नसक्ने भएँ।’ उहाँले भन्नुभयो । पहिले सीए पढ्ने सपना रहेको भएता पनि त्याे सपनालाई अधुरै राखीआफुले पाँच वर्षसम्म काठमाडौँमा रेष्टुराँ चलाएकाे अनुभव सुनाउँदै उहाँ कोरोनाकालमा गाउँ फर्के पछि बिस्कुट उद्योगलाई सञ्चालनमा ल्याउनपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो कुनै समय गरिबको खानाका रुपमा चिनिएको कोदोको परिकारको महत्व बढेपछि श्रीसले नेपालमै पहिलो पटक कोदोको बिस्कुट उत्पादन गरि बजारमा ल्याएको दाबी गर्नुभयो । अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु.बीसमा बजार पठाएकाे बताउँदै जसलाई नेपाल सरकारले गुणस्तरको चिह्न समेत प्रदान गरिसकेको छ उहाँले भन्नुभयो । उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रम अन्तर्गत रु.दस लाख अनुदान दिएको छ भन्नुभयो । गाउँमै पाइने कच्चापदार्थ कोदोलाई बहुमूल्य बनाउन बिस्कुट निर्माण गरेको उहाँको भनाई रहेको छ। बिस्कुटमा धेरै मात्रमा कोदोको पीठो भए पनि गहुँ र घ्यू ,तेलको समिश्रण हुने गरेको छ। अर्गानिक कोदो पिठोबाट उत्पादित बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा पुग्ने उहाँको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *