गुणस्तरीय शिक्षाको बहस


नयाँ शैक्षिक सत्र शुरु भएको छ । विद्यार्थी भर्नाको निम्ति विद्यालय छनौटको कुरो हुँदा जवर्जस्त रूपमा गुणस्तरीय शिक्षाको बहस सतहमा आउँछ । सामुदायिक होस् अथवा निजी, सबै खालका शैक्षिक संस्थाहरूको व्यानरमा लेखिएको हुन्छ, “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” । “समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान” यसवर्षको भर्ना अभियानको नारा नै तय भएको छ । सरकारदेखि जनतासम्म सबैको खोजाइमा छ गुणस्तरीय शिक्षा । शिक्षामा गुणस्तर कसरी मापन गर्ने ? के हो त गुणस्तरीय शिक्षा ? मान्छे अनुसार आआफ्नै बुझाइ छन् । वर्तमान सन्दर्भमा परीक्षामा उच्चतम अंक ल्याउनुलाई गुणस्तरीय शिक्षाको एकमात्र मापदण्ड मानिएको छ । राम्रो भौतिक पूर्वाधार भएका ,अंग्रेजी माध्यममा शिक्षा दिने र विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउन सक्ने शैक्षिक संस्थाहरूलाई केही अभिभावकहरूले गुणस्तरीय ठान्दछन् । देशलाई काम लाग्ने भन्दा विदेशमा बिक्न सहयोग गर्ने शिक्षालाई गुणस्तरीय मानिएको छ । गुणस्तरीय शिक्षाका सबालमा यी सबै अपूर्ण, गलत र भ्रमात्मक बुझाइ हुन् ।

शिक्षा सिकाईसँग सम्बन्धित छ र सिकाई भनेको व्यवहारमा हुने सकारात्मक परिवर्तन हो । शिक्षा जीवनका लागि मात्र होइन स्वयम् जीवन हो । शिक्षाको गुणस्तरीयता सिकारुको नैतिक, बौद्धिक, मानसिक एवं व्यावसायिक दक्षताले निर्र्धारण गर्दछ । आत्म निर्भर, सुसंस्कृत, स्वावलम्बी, नैतिकवान, देशप्रेमी र उद्यमशील नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । आजको युगमा कम्प्युटर प्रयोगमा दक्ष हुनु, सूचना प्रविधिमा पोख्त हुनु तथा विज्ञान र प्रविधिमा दखल राख्न सक्नु पनि गुणस्तरीय शिक्षाका आवश्यक शर्त हुन् । विषयवस्तुको ज्ञान भएर मात्र गुणस्तरीय शिक्षा हुँदैन, व्यक्तिमा सिर्जनशीलता, नवप्रवर्तन र अनुशासनको विकास गराउन सक्नु पर्दछ । व्यक्तिमा ज्ञान, सीप र अभिवृत्तिमा सकारात्मक परिवर्तन गराउने शिक्षा नै गुणस्तरीय शिक्षा हो । सिद्धान्तका ठूलाठूला ठेलीहरूको व्याख्या गर्न सक्ने तर दैनिक जीवनमा आइ पर्ने सामान्य व्यवहारिक समस्या पनि हल गर्न नसक्ने शिक्षालाई गुणस्तरीय मान्न सकिन्न । गुणस्तरीय शिक्षाले विदेश र विदेशी संस्कृति प्रतिको मोह त्याग्न सिकाउनु पर्छ, देशको माटोप्रति मोह जगाउन सक्नु पर्दछ ।

शिक्षामा गुणस्तर सबैको साझा प्रयासबाट मात्र सम्भव हुन्छ । गुणस्तरीय शैक्षिक नेतृत्व, गुणस्तरीय शिक्षक र सिकारू, गुणस्तरीय विषयवस्तु र सिकाइ क्रियाकलाप, गुणस्तरीय व्यवस्थापन र लगानी, गुणस्तरीय भौतिक पूर्वाधार र प्रगतिशील शैक्षिक नीतिको समष्टिमा मात्र गुणस्तरीय शिक्षाले साकार रूप लिन्छ । वर्तमानमा प्रचलित विद्यार्थीलाई विषयवस्तु रटाउने र तीन घण्टे परीक्षामा ओकल्न लगाउने मूल्याङ्कन प्रणाली नबदल्ने हो भने गुणस्तरीय शिक्षाको कुरा गर्न व्यर्थ छ । खोज, प्रयोग, अनुसन्धान र परियोजनामा आधारित सिकाइ हुनु पर्दछ भने समालोचनात्मक चिन्तनमा आधारित मूल्याङ्कन प्रणाली अपनाउनु पर्दछ । स्वस्थ वातावरणमा स्वस्थ ,सिर्जनशील र देशलाई माया गर्ने नागरिक तयार गर्नु नै गुणस्तरीय शिक्षाको अन्तिम लक्ष्य हो । सारमा भन्दा राज्य, नीतिनिर्माता, शिक्षक, अभिभावक र विद्यार्थीको एकीकृत प्रयासबाट मात्र गुणस्तरीय शिक्षाको अभियान सफल हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *