जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन : रैनादेवी छहराकाे परिपत्र

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने परिपत्र गरेको छ । गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, सरकारी कर्मचारी तथा विद्यालयमा शिक्षण गरिरहेका शिक्षकहरूले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा पढाउनुहुन परिपत्र गरेको हो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गत २०८० बैशाख २४ गते गाउँ कार्यपालिकाले निर्णय गरेपछि यसको कार्यान्वयनका लागि परिपत्र गरिएको पालिकाका प्रमुख प्रशसकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।

गाउँपालिकाले यो वर्ष निर्णय गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सकारात्मक रुपमा नैतिक दवाव पुग्ने बताएको छ ।यो निर्णयलाई आगामी शैक्षिक सत्र २०८१ देखि कार्यान्वयनमा लैजाने गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न गरेका विभिन्न निर्णय मध्ये यो पनि एउटा महत्वपूर्ण रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । समुदायिक विद्यालयमा पठनपाठन गराउने अभिभावकलाई प्रोत्साहन गर्ने निती लिइने उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्र एउटा संस्थागत विद्यालयसहित ६२ वटा विद्यालय छन् । ग्रामीण क्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन हुने क्रम बढेको छ । विद्यार्थी सङ्ख्या कम भएपछि दैनिक कक्षा सञ्चालनमा समेत अप्ठेरो भइरहेका बेला पालिकाले यस्तो निर्णय गरेको पालिकाका जनप्रतिनिधिहरू बताउँछन् ।शैक्षिक गुणस्तर कायम गर्नुपर्छ भन्ने नेता, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरी अन्त लगेर पढाउछन् भन्ने प्रश्न उठेपछि यस्तो निर्णय गर्नुपर्ने अवस्थामा पुगेको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *