रमेर नित्य डुल्दछु म गर्वसाथ फुल्दछु
अनन्त शूल, वेदना हजार कष्ट भुल्दछु
अमीर भावले भरी म एक नीँद झुल्दछु
र पूर्णचन्द्र झैँ हुँदै झलल्ल मन्द खुल्दछु
१
शरीरभित्र रक्तका विशाल छाल उठ्दछन्
झनन्न स्नायु तारमा मधूर धून छुट्दछन्
म एक शब्द बोल्दछू सहस्र भाव सुझ्दछन्
समृद्ध भाव छातिमा भएर छाल उठ्दछन्
२
उजाड, शुष्क छातिमा पियूष कल्कलाउँछ !
म मृत भै ढले पनी निनाद त्यो सुनाउँछ !
दुहेर छाति धर्तिको अघोर चोट लाउँछु
फुटाइ हाड छातिका हिरा र मोति पाउँछु
३
म हिड्ँछु नित्य अन्ध भै तथापि अन्ध चाहमा
खुरुखुरु डोर्याउँछिन् मलाइ सत्य राहमा !
म नीच तुच्छ नै वनूँ, लिएर तुच्छ भावना !
तथापि हर्ष रोप्दछिन् लिएर नित्य काखमा
४
निचोर्दछु नसा–नसा पियूष छाल प्यूँदछु !
गुमाइ होश नै सधैँ यसैगरी म ज्युँदछु !
म घात प्रतिघातका कथाहरु जती रचूँ
महान छन् यिनी कति ! क्षमा गरिन्, भुली रहूँ !?
५
छिपाइ काखमा यिनी मलाइ प्रेम पोख्दछिन्
लुकाइ फेरमा अझै ति शत्रुबाट छेक्दछिन्
म खेल्दछु अचिन्त्य भै दगुर्दछु जता–जता
हराउँदै म लिप्त छु, छ प्रेम त्यो कता–कता !
६
म ऋण तिर्न जन्मको फुलाउँ जन्मभूमी यो
अवश्य हुन्छ मृत्युमा असीम सार ज्यूनुको !
भएर बैगुनी सधैँ हुँदैन बाँच्नु यसरी !
लुटाइ अस्मिता सबै पराइलाइ बेसरी !!
७
हरेक बूँद रक्तका बनेर सिर्जना नयाँ
म पोखिनूछ धर्तिमा उजाडता नहोस् यहाँ
गरिन्छ चाहना अझै अतृप्त सोखको कहाँ ?
म बाँचू गर्वले सधैँ पवित्र धर्ति काखमा
८
भुलेर मातृकाख यो हुँदैन जान कैँ पनि
पराइ शान सम्पति हो तुच्छ भन्छु मैपनि !
स्वदेश त्यागले जती कमाउँ हुन्छ बालुवा
म रोप्नुपर्छ, देशमै कुसूम फुल्ने पालुवा !
९
यहीँ छ स्वर्गझैँ सफा, समृद्ध धर्ति सुन्दर !
भुलेर सम्पदा यिनै स्वदेश त्याग्नु हुन्छ र ?
परत्र मोहमा फसी विदेशिनु त घात हो
यहीँ छ डुल्नु स्वप्नमा स्वर्णिम दिव्य प्रातको !
१०
म फुल्छु फूल झैँ सधैँ छरेर बासना मिठो
म सप्तरङ्गि कल्पना सजाउँ शीरमा अहो !
कठीन होस् न मार्ग नै अगाडि बढ्नु पर्दछ
सपूत जन्मभूमिको श्रृङ्गार, रङ्ग छर्दछ !
११