जीवन, कर्म र कीर्ति

-राम ज्ञवाली


स जीवति यशो यस्य कीर्तिर्यस्य स जीवति ।
अयशोऽकीर्तिसंयुक्तो जीवन्नपि मृतोमप
(बाँचेको उही हो जस्को, कीर्ति फैलन्छ बेसरी,
कीर्तिले हीन बाँचेको छ त हो मृतकै सरि )

संसारमा सबैथोक अनित्य छन् । घरद्वार, धनदौलत, जीवन, यौवन सबै कामको मुखमा परेर बिलीन हुन्छन् ध्वंस हुन्छन् तर मानिस मरणशील भए तापनि उसले आफ्नो साहस, साधना र निरन्तर अभ्यासले अमर कीर्ति प्राप्त गर्न सक्छ । यसर्थ मानिसले कीर्ति कमाएर नै अमरत्व प्राप्त गरेका छन् । कीर्तिलाई समयले निल्न सक्दैन, न यसलाई सवश्वको कुनै शक्तिले क्षय गर्न सक्छ । आफ्नो स्वार्थलाई आहुति दिई तन, मन, धनले मानिसहरूले कसरी ज्ञानको विभिन्न क्षेत्रहरूमा अनुसन्धान गरेर, चिन्तन गरेर, तपस्या गरेर, अमर कीर्ति प्राप्त गरेका छन् । आज यस संसारमा कृष्ण, बुद्ध र शंकराचार्य छैनन्, भानुभक्त, लेखनाथ छैनन्, बलभद्र र अमरसिंह थापा छैनन् तर तिनीहरू आफ्ना गुणले गर्दा कीर्तिमान भएका छन्, हाम्रा आदर्श भएका छन् । तिनीहरूले राखेका ज्वलन्त कीर्ति हाम्रो अघि अझसम्म छ अनि अनन्तसम्म पनि रहनेछ । म.वी.वी शाह भन्छन्,“खियाउ हातका नङ्ग्रा बेलैमा….इमाइले, जिउँदैमा जति सक्छौ, बाँच जिउँदो नामले ।” सबै मानिस सफलताको निम्ति निरन्तर कोशिश गर्छन् । कसैको प्रयत्नमा इमानदारी हुन्छ तर कसैकोमा हुँदैन । सांसारिक प्रलोभनमा परेर कतिपय मानिसहरू अनैतिक एवम् असामाजिक साधनहरू अपनाएर सफलता प्राप्त गर्छन् । तर यस्ता अशोभनीय साधनहरूद्वारा प्राप्त गरिएको सफलताले साँचो अनि दिगो सुख दिदैन, यसर्थ नमरुञ्जेल मानिसले परिश्रम गर्नैपर्छ दशनङ्ग्रा खियाउनैपर्छ तर इमान्दारीपूर्वक । इमानदारीसाथ अध्यवसाय गर्नु मानव धर्म हो ।

धर्ती माताले प्रत्येक युगमा हजारौँ, लाखौँ व्यक्तिहरूलाई जन्म दिइरहेकी हुन्छिन् । तर धर्तीमाताको अस्तित्व राखी नाम चम्काउन अथवा जीवनलाई अर्थपूर्ण बनाउन सक्ने सन्ततिहरू सबै हुदैनन् । धर्र्तीमा जीवन पाउने जति कर्मयोगी हुदैनन् । कतिले जीवनको महत्त्वबोध गर्छन्, कतिले गर्दैनन् । संसारमा जति मानिसले जन्म लिन्छन् अन्त्यमा ती सबै व्यक्ति मर्दछन् । कति मानिसको समाजमा कुनै स्थान नै रहदैन । तिनीहरूको धर्तीमा कुनै पनि व्यक्तित्व मुखरित भएर आउदैन । युग जन्माउने वा युगमा जन्माउनेमध्ये आफ्नो जन्मलाई महान् कर्मको माध्यमबाट जीवन सार्थक पार्नेहरू सजिलै गन्न सकिने हुन्छन् । बिरलै व्यक्तिले अविस्मरणीय कर्म साधनाद्वारा समाजमा गहकिलो छाप छाडेका हुन्छन् । जुन कारणले पुस्तौपुस्ताको समाजले पनि बिर्सन सक्दैन, उसको गुणगान गाइरहन्छन् । धर्र्तीको यो मानवरूपी बगैँचामा सबै फूल बास्नादार वा सम्झिन लायक हुदैनन् । कैयन् मान्छेलाई जति सम्झिन खोजे पनि सम्झिन सकिन्न तर कतिपय यस्ता व्यक्ति पनि हुन्छन् जसलाई केही गरी बिर्सन सकिन्न । कुनै व्यक्ति बाल्यकालदेखि नै मेधावी एवम् प्रतिभाशाली हुन्छन् त कतिपय व्युत्पत्ति र अभ्यासका कारण आफूलाई खारेर, माझेर वा परिष्कार गरेर एउटा विशेष प्रतिभाका रूपमा विकास गर्दछन् ।

मानव जीवन एउटा सम्भावना हो । कुनै पनि व्यक्तिले कस्तो बन्ने, के गर्ने, के सोच्ने, कस्तो सोच्ने र अन्ततोगत्वा जीवनमा के अनुभव गर्ने हो त्यसको निर्णय आफै लिनुपर्छ । यिनै निर्णय र रोजाइहरूले नै व्यक्तिलाई डोर्‍याउछन् । सद्गुण, सत्कर्म, सदाचारको मार्गमा या पतनतिर लैजाने, दुर्गुण, कुकर्म, र अनाचारको बाटोमा मनुष्यले जुन कर्म गर्दछ त्यही कर्मले नै उसको जीवनगति र जिउनुको अर्थ निर्धारण गर्दछ । उच्च सोच, भाव, र कर्महरूमा निरन्तर उध्र्वगमनमा लागेको व्यक्तिको लक्षणहरू उच्च प्रकृतिका देखिन्छन् । जीवन एकनास हुँदैन । यो उतारचढावको यात्रा हो । जीवन बुझ्न जीवनभित्रै प्रवेश गर्नुपर्छ ।जीवनलाई प्रत्येकले चिनेर अर्थपूर्ण बनाएको भए यो समाज र राष्ट्रको रूपान्तरण उन्नति–प्रगति र समृद्धि विद्यमान अवस्थाको भन्दा भिन्न र समृद्ध हुने थियो । खानु , पिउनु र रमाउनुमा केही पक्षहरू लागेका छन् । केहीले भने समाज–राष्ट्रको लागि सेवा गर्न, आफूसक्दो योगदान दिन समय, बौद्धिकता र सोचमा अर्पिरहेका छन् । मान्छेले चाहेर मात्र सबथोक काम गर्न सकिन्न । जीवन छोटो छ । साधन–स्रोत सीमित छन् । सार्थक कर्म गर्न सक्ने र नसक्ने कारणहरू धेरै छन् । हरेक मानिस यस पृथ्वीमा अवतरण भएपश्चात् मृत्युपर्यन्त केही न केही त कार्य गर्दछ नै चाहे सकारात्मक होस् या नकारात्मक । आआफ्ना सामाजिक, पारिवारिक, भौगोलिक, आर्थिक, शैक्षिक, धार्मिक, राजनीतिक पक्षहरू लगायत केकस्तो वातावरणमा ऊ जन्म्यौँ, हुक्र्यौँ त्यसले पनि केही प्रभाव पारेकै हुन्छ । जसको आँखाले यो संसारलाई जस्तो देख्छ उस्तै गतिविधिहरू सञ्चालन गर्दछ । संसारमा जन्मिएका मानिसहरूको धेरैजसो अवस्थामा अनुहार मेल नखाए जस्तै उसका आनीबानी, स्वभाव, रुचिहरू पनि फरकफरक हुने गर्छन् । पृथ्वीमा अनेकौँ प्राणीहरूमध्ये मानिस सृटिको सर्वाेत्कृष्ट सिर्जना हो । हरेक मानिसको जीवन विशिष्ट प्रकृतिको हुन्छ । प्रायः हरेक व्यक्तिको आफ्नै जीवनदर्शन हुन्छ । जीवनको परिभाषा पनि व्यक्तिपिच्छे फरक हुन सक्छ । सामान्यतया जन्म र मृत्यु बीचको कालखण्ड जीवन हो । मानिस जन्मदा श्वास हुन्छ, कीर्ति हुँदैन । मानिसको विशिष्ट कर्मकै कारण मरेपछि कीर्ति त रहन्छ तर श्वास भने रहन्न । समाजमा सुनाम राख्ने क्षमता जोकोहीमा हुँदैन, क्षमता देखिने कुरा सहज प्राप्तिको विषय पनि होइन । सामाजिक उत्तरदायित्व र सेवा नै जीवनको महत्त्वपूर्ण पाटो हो । समाजमा केही दिनका लागि सामाजिक परिवर्तनका संवाहकका रूपमा थोरै मात्रामा सामाजिक व्यक्तित्वको जन्म हुन्छ । वास्तवमा जीवन पानीको तरंगजस्तै हुन्छ । जेहोस् समाजमा प्रशस्त जन्मेकामध्ये केही व्यक्तिहरू जिउनका लागि मात्र बाँच्छन् भने केही समाज–राष्ट्रलाई उठाउन र सामाजिक व्यक्तित्वहरूको उत्थान गर्नमा नै जीवन समर्पण गरिरहेका हुन्छन् ।

सांसारिक सृष्टिमा मानव जीवन अचम्मको देखिनुको साथै सर्वाेच्च सृष्टि मानिने मानव सृष्टि अचम्मलाग्दो बन्नुको मूल कारण जीवन व्यतीतका क्रममा अनेकन आरोह, अवरोहहरू देखा पर्नु, सम्भव र असम्भव कार्यहरू मान्छेबाट सिर्जिनु, आश्चर्यजनक घटनाको सृष्टिकर्ता पनि मानव नै हुनु र यो संसारको संरक्षण र उन्नतिका निम्ति अग्रणी भूमिका पनि मानवकै नै हुनु हो । कर्म, कर्तव्यपथमा सदा अग्रसर भई विश्वसनीय परिवेश खडा गर्न मात्र नभएर आफूले खडा गरेको परिवेशलाई संरक्षण प्रदान गर्नसमेत मानवले अथक जमर्काे गरेको छ । संसारको संरक्षण गर्ने र संसार भत्काउने अद्भूत शक्ति पाएको मानव एउटा अपरम्पार जीव बनेको छ । जस्तोसुकै संकटको सहन गर्न सक्ने र जस्तोसुकै उपलब्धिको पनि उपभोग गर्नसक्ने मानव यो संसारको महत्त्वपूर्ण आधार हो । संसार मानव हो या मानव संसार हो त्यो अनुसन्धानको विषय हुन सक्ला तर मानव यस संसारको अपरिहार्य ज्योति अवश्य नै हो । यस्तो मानव जीवनको मृत्यु अवश्यम्भावी छ तर यसलाई मानवले क्यैगरी जित्न सकेन ।

उल्लेख्य कार्यले गर्दा मानव मरे पनि अमरचाहिँ हुन सक्छ । सुन्दर कार्यको प्रतिफल अमरता हो । अमरताको श्रेणीमा पर्नु जीवन सार्थकताको दह्रो प्रमाण हो । सामाजिक सद्क्रियाकलापले अमरताको श्रेणी चढ्न पाइन्छ । कर्मकर्तव्यप्रतिको सचेतता र अधिकारप्रतिको आस्था भयो भने सामाजिक परिवेशमा आफूलाई स्थापित गर्न सहज हुन्छ । यो सहजताले अमरताको मार्ग प्रशस्त गर्दछ । जैवनिक मूल्यको बुभक्की नभई न जीवन बुझिन्छ न समाजमा जिउनुको अर्थ नै बुझिन्छ । परिवेश पनि बुझ्न सकिन्न । अमर बन्न जीवनमूल्य बुझ्नै पर्दछ । अमर बन्नु भनेकै युगाैँयुगसम्मकाले सम्झने हुनु हो । असल चरित्र रोपेर र उमारेर सत्य पथमा हिड्दै न्यायको ज्योति बाल्न सकियो भने मात्र आफू पछिका पुस्ताले पनि सम्झिएलान् । प्रतिफल पाउन धैर्यतापूर्ण कार्य चाहिन्छ तर यो शक्ति सबैलाई प्राप्त हुन्न । यो शक्ति आशक्तिरहित व्यक्तिले मात्र प्राप्त गर्दछ । आशक्ति भएको मान्छे शक्तिहीन हुन्छ । मोह जब धैर्यताको कसीमा रहन्न तब त्यो मानवका लागि हानिकारक सिद्ध हुन्छ । क्रोधजन्य आवेग रोक्नसके हरेकको जिन्दगीले केही गर्न सक्छ ।

विपत् पर्दा आत्तिने, सुखमा मात्तिने र क्रोध प्रदर्शन गर्ने व्यक्ति अधोगतिमा लाग्छ । केही गर्छु र अगाडि बढ्छु भन्ने मानवलाई दुःख दिने र असफल पार्ने दानवहरू समाजमा धेरै हुन्छन् । जिन्दगी सधैँ गुलाब फूलको विछ्यौनाजस्तो बन्न सक्दैन । जिन्दगी काँडाबीचमा फूलाउन कम्ता साहसले पुग्दैन । अर्तिउपदेशले मात्र पुग्दैन, एक किसिमको हिम्मत वा उच्च मनोबल नै चाहिन्छ, सकारात्मक वातावरण चाहिन्छ नै, अथवा प्रतिकूल वातावरण भएपनि त्यसमा डटेर लाग्दै अनुकूल वातावरण सरह बनाउनुपर्छ । कसैका उपदेशले मात्र जीन्दगीले सोचेको र चाहेको मोड लिदैन । उपदेश दिनेको त संसारमा के कमी छ र ? सहायता गर्न हात दिनेहरू पाउन गाह्रो छ । जीवन निरन्तर सिकाइ हो, कति सिक्ने, कति सिके पुग्ने कुनै सीमा छैन । जति कर्ममा जुटिन्छ त्यति नै अनुभव र अनुभूतिका भण्डार थपिदै जान्छन् । छोटो जीवनमा लामो सम्झना राख्ने कार्य गर्न जसतसबाट सम्भव नहुनु पनि स्वभाविक नै हो । समाजलाई माथि उठाउन चेतनशील व्यक्तिको गहन भूमिका हुन्छ । परिवार र समाजलाई सन्तुलनमा राखेर मार्गनिर्देश गर्ने व्यक्ति बन्न पनि त्यति सहज हुन्न । यो समाजमा थरिथरि विचार भएका कारण मानिस थरिथरि कर्ममा नै लागेका छन् । कोही समाजमा मात्र सीमित हुन्छन् भने कोही विशिष्ट प्रतिभा, क्षमता पहूँच र प्रभावले राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा समेत चिनिन्छन् । जीवन कसरी सदुपयोग गर्ने भन्ने विषयमा आआफ्नै मान्यता र सोचाइ रहन्छन् । सबैले जीवनलाई एकै किसिमले र एकै अर्थले हेरेको भए विद्यमान समाजको रूपरंग यस्तो प्रकृतिमा देखिने थिएन । संयोग नै त्यस्तै पर्छ, सबैले एकनासले सोच्ने र सोहीअनुसार कर्म गर्ने परिवेश नै मिल्दैन । यो कदापि सम्भव छैन । आदर्श एक पक्ष हो, व्यवहारिकतामा देखिने अर्काे पाटो हो । पशुपंक्षीले पनि जीवन बाँच्न लालायित भएरै होला सकेसम्म संघर्ष गरिरहेका हुन्छन् । सबै प्राणीमा एकखाले जिजीविषा हुदोँ हो । मानवेतर प्राणीको जीवन बाँच्नुमा मात्र सीमित हुन्छ । तिनीहरूजति कर्म गर्छन्, बचाइका लागि गर्छन् । उच्च चेतना र वाणी नभइदिएका कारण मान्छेलाई जस्तो फरक ढंगले काम गर्ने अवसर तिनलाई प्रकृतिले दिएको छैन ।

कुनै पनि मानवले विशिष्ट कर्म गर्न सक्नु र नसक्नुमा विविध परिस्थिति र कारकतत्त्वले निर्धारण गरेका हुन्छन् । गर्न नचाहनेहरू कमै होलान् दुनियाँमा । प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर कर्म गर्ने केही होलान्, केही सहज परिस्थितिमा मात्र गर्ने होलान् । जे भए पनि देखिने कर्म मृत्युपछि पनि रहन्छ । समाज–राष्ट्रहित निम्ति केही कीर्ति रहोस् भनी जसले राम्रो कार्य गरेर गयो त्यो उसले बाँच्ने आधार हो । अद्भूत चमत्कार त्यही हो ।देखिने कर्म त्यही हो । देखिने कर्म गर्न प्रतिभा शक्ति पनि चाहिन्छ । यस अतिरिक्त व्युत्पत्ति र अभ्यासले पनि कर्मको सफलतामा धेरै हदसम्म सघाउ पुग्दछ । कर्मशील कतिसम्म बन्ने कुनै मापदण्ड त छैन, जति सक्यो त्यति गर्ने हो । सामाजिक जिम्मेवारी कर्तव्य र दायित्वबोधले केही गर्ने भावना जन्माउँछ । मूल्य मान्यता, संस्कार, कार्यशैली र सोचाइले थप भूमिका खेल्छन् । अनुकरणभन्दा मौलिकता बढी अर्थपूर्ण हुन्छ । अथकपन सदैव चाहिने कुरा हो । अरू साधनस्रोत कर्म गर्ने उत्तम मसला हुन् । कर्मका लागि स्वाभिमान पनि विशेष गुण हो । स्पष्टता र निडरताले पनि उद्देश्य पथमा पुर्‍याउन सहयोग पुर्‍याउछन् ।

हरेक मानिस अमूल्य जिन्दगीमा चानचुने पाराले सफल हुने भए सफल मान्छे कोको हुन्छन् भने र गणितीय गणना गर्नुपर्ने थिएन । खडेरी परेको अनुभव हुने थिएन । जिन्दगी कठोर व्रत हो । कठोर साधना, तपस्या वा व्रतले मात्रै जिन्दगीमा उल्लेख्य सफलता हात पर्छन् । सफलता न रोएर पाइन्छ , न मागेर पाइन्छ, न त टाउकै फुटाएर । सफलता मानिसको विशेष परिचय हो, व्यक्तित्व हो । मूल्यवान कर्मको पारख टाढा र विकटमा बढी हुन्छ । विगतको पनि धेरथोर समीक्षा गरी वर्तमानमा कर्म गरे भविष्य उज्ज्वल हुन्छ । केवल त्यागी र विवेकीको काम नै फूल्छ, फल्छ । काम सकेसम्म यस्तो गरौँ, संसारकै लागि गरौँ । कीर्तिप्राप्त कामले नै प्रसिद्धि चुलिन्छ । मानव जातिको सुख शान्तिलाई वृद्धि गर्ने काम अरू कुनै कुराद्वारा स्थायी र सच्चा कीर्ति स्थापना गर्न सकिन्न ।

जो खतरामा पहिले उत्रन्छ उही यश प्राप्तिमा पहिलो वा उल्लेखनीय हुन आउँछ । जसले खतरापूर्ण मार्गद्वारा कर्म गर्छन्, तिनैले अमर कीर्ति प्राप्त गर्छन् । अर्थात् कर्म गर्नेहरू नै जीवनयुद्धमा विजय प्राप्त गर्दछन् । असल र उदाहरणीय मान्छे बन्न हजारौँपटक ठक्कर खानुपर्छ । गल्ती वा भूललाई सिकाइमा रूपान्तरण गर्नसके जीवन फलदायी हुन्छ । बाँचुञ्जेल मान्छेले पलपल परीक्षा दिइरहेको हुन्छ । जिन्दगीको एकदुई परीक्षाले मात्र उद्देश्य लक्ष्य चुम्दैन । प्रत्येक परीक्षा सफल भए मात्र जीवनरूपी परीक्षाबाट पार लागेर टुङ्गोमा पुगिन्छ । कर्मले मान्छे कहिल्यै बूढो हुँदैन । जीवन रहुञ्जेल कर्ममा जवान भइरहन सके मात्र अर्थ रहन्छ । उमेर जवान छ कर्म मृतसरि छ भने त्यस्ता व्यक्तिको अर्थ के रह्यो र? कर्मशील बनिरहँदा उपलब्धिको चिन्ता गरीरहनु भने त्यति जायज नहोला । विविध कर्ममध्ये ज्ञानको कर्म अमर रहन्छ । सम्पत्ति खिइएर जान्छ, हराएर जान्छ ,चोरिन्छ । ज्ञानकर्म सबैको आँखाको नानी हुन्छ । त्यसैले जीवनलाई भोग्य सोच्नु मुर्खता हो । जीवन र संसारलाई बदल्नु छ भने वा आफ्नो देशलाई बदल्नु छ भने ज्ञानरूपी असल कर्म आवश्यक पर्दछ ।

मानिसले कहिल्यै पनि तुच्छ विषयहरूमाथि विचार गर्नुहुन्न । यदि ऊ साधारण कुराहरूमा अल्झिरह्यो भने महान् कार्यहरू त्यसै रहन्छन् । प्लुटार्क भन्छन्, “खराब काम गर्नु नीचता हो ।” कुनै खतरासँग नजुधिकन काम गर्नु राम्रो हो तर असल र बुद्धिमान मानिसका लागि खतरासँग जुधेर भए पनि महान् कार्यहरू गर्नु सही कर्तव्य हो ।” कामबाट उसको विचार पनि प्रभावित हु्न्छ । कर्मपथमा जुटिरहनेले भाग्यको सम्झना र प्रार्थना गरेर बसिरहँदैन । व्यवहारमा उतारिएका महान् विचार महान् कर्ममा रूपान्तरित हुन्छन् । सक्ने र सम्भव हुने कामको मात्र मानिसले थालनी गर्ने हो । असल कर्मको जयजयकार नभएको कहाँ होला र? कामले नै जोसुकैको पनि मूल्याङ्कन हुने हो । नतिजा दिने काम गर्न पूर्ण सामथ्र्य लगाउनुपर्छ । कर्म र समयसँग अन्योन्याश्रित सम्बन्ध रहन्छ । जुन कर्मको पनि समयसँग तालमेल रहनुपर्छ । कर्म गर्नमा चुक्ने वा सधैँभर अल्छी गर्नेको जिन्दगी धरापमा पर्छ । जीवनभर असफलताले पछ्याई सफल व्यक्ति हुनबाट बञ्चित हुनुपर्छ ; सफलताबाट हात धुनुपर्छ । जीवनमा काम यस्तो गराैँ कि सकेसम्म नाम चलोस् ; पछुताउन कहिल्यै नपरोस् । इच्छाले मात्र केही हुन्न, कार्यसिद्धि त हात पाखुरी र मस्तिष्कमा छन् । कर्म जीवनको एक विशेष शक्ति हो ।

भर्तृहरि भन्छन् “निम्न कोटिका मानिसहरू बिध्न आइपर्ला भनेर कार्यको प्रारम्भ नै गर्दैनन् । मध्यम कोटिका मानिसहरू बिध्न परेपछि बीचमा रोकिन्छन् । उत्तम कोटिका मानिसहरू बारम्बार दुःख बिध्न आइपरेपनि आफ्नो कामबाट कहिल्यै पछि हट्दैनन् ।” जर्ज बर्नाड सा को अनुभव यस्तो छ,“म युवा छदा मैले गरेका दशवटा काममध्ये नौवटा सफल हुन्थे । यो थाहा पाएपछि कुनै हालतमा असफल नहूँ भन्ने अठोट गरेर मैले दोब्बर काम गर्न थाले ।” यस भनाइले विधि र प्रक्रियाको उपयुक्त तालमेल रहनुपर्ने संकेत पनि गरेको होला । काम ससानाबाटै शुरु हुन्छ । यसैबाट नै महान् कर्मको निर्माण हुन्छ । बालकृष्ण समले पनि कामबारे भनेका छन्,“काम गर्छन् विचारेर बुद्धिमानहरू तर अलमस्तहरू गर्छन् विचारै जिन्दगीभर ।” हामी जबसम्म काम कसरी गर्ने भन्ने सोचाइलाई टुङ्ग्याउदैनौँ तबसम्म हामी कहिल्यै राम्रोसँग काम गर्न सक्दैनौ । मान्छेको विचार कामबाट विशेष प्रभावित हुन्छ । हरेक व्यक्तिले सधैँका निम्ति सोचेर गरेको काम नै उत्तम ठहरिन्छ । कर्मका प्रकारहरू गनीसाध्य–भनीसाध्य छैन । एउटाको भन्दा अर्काको विशेष र फरकशैली वा फरक क्षेत्रमा गरिएको नमूना कर्मको सर्वत्र चर्चा हुन्छ । एरिस्टोटल भन्छन्, “मानव जीवनको वास्तविक सार्थकता बाँच्नु मात्रमा भन्दा बढी सचेत र विवेकपूर्ण ढङ्गबाट चिन्तन र कर्म गर्ने शक्तिमा निर्भर गर्दछ ।” यस्तो कुरा बुझेका केही मानिस सामाजिक योगदान, व्यक्तिगत तथा पेशागत गुण र क्षमताका कारण लामो समयसम्म अरूको आदरभाव आर्जन गर्न सक्षम हुन्छन् । उदाहरणको रूपमा चर्चा गरिने प्रेरक व्यक्तिको रूपमा श्रद्धापूर्वक सम्झिइन्छन् । उनीहरूको कर्म र व्यवहारले गर्दा नै पुस्तौँ पुस्ताले सम्झना गर्न पुग्छन् ।

तसर्थ, मान्छे भएर जन्मेपछि सबैको हाइहाइ हुने केही आकर्षण, केही असल गुण, केही समझदारी, केही समाजलाई विकसित गर्ने दृष्टिकोण, केही उपकारका भावना यति नहुने हो भने कुनै पनि समाजले, कुनै पनि परिवारले, कत्ति पनि सम्झन्नन् बरु क्षणिक सम्झना गर्दा नकारात्मक टीका टिप्पणी गर्दै जीवनका अर्थहीन पल बिताउँदै पृथ्वीको भार बन्न पुगेको भन्छन्् । शास्त्रमा भनिएको छ “श्रेष्ठ कर्म गर्दै मान्छे एक मुहुर्त भरि बाँच्नु राम्रो तर यस लोक तथा परलोक विरोधी दुष्टकर्मी कल्पभर बाँच्नु पनि व्यर्थ हुन्छ ।” कर्म गर्नेहरू गुणी हुन्छन् । गुणीको सम्मान गुणको कारणले हुन्छ । कर्मशीलता विशेष गुण हो । आनन्द कर्ममा छ । कर्म गराइबाट परिवर्तन आँउछ । सकारात्मक परिवर्तन गर्न पीडा नै हुन सक्छ । अतः मनुष्यको आनन्दमा त्यसबेला पूर्णता आँउछ जब ऊ आफ्नो शक्तिलाई न्याय र विवेकपूर्ण कर्ममा लगाँउछ । वास्तवमा काम, कर्तव्य, एक यु्क्ति हो । जो बिहान हामीसँगै उठ्दछ अनि रातमा हामीसँगै विश्राम लिन्छ । यो हाम्रो बौद्धिक कर्मको साथसाथै फैलिदै जान्छ । यो एउटा छाया हो जो हाम्रो जीवनको एकेक अणुभित्र घुस्दछ, हामी जहाँ जान्छाैँ यो पनि उहीँ जान्छ ।

सेक्सपियरले त्यसै भनेका होइनन्,“काम गर्नमा तिमी महान् बन जस्तो तिमी विचारमा महान् छौँ ।” कुरा जस्तो काम गर काम जस्तो कुरा । कर्म गरिन्छ विविध उद्देश्यले । दैनिक जीविकोपार्जनको कर्म नियमित गरिन्छ । यो झन्डै शतप्रतिशतले गर्नुपर्ने हुन्छ । यस्तो कर्म साधारण गणनामा पर्दछ तर विशिष्ट कर्म व्यक्तिको दीर्घ पहिचानमा आधारित हुन्छन् । दैनिक जीविका निर्वाहका कर्म बाहेक सामाजिक राष्ट्रिय जीवनलक्षित कर्महरू बढी स्मरणीय, महत्त्वपूर्ण र ऐतिहासिक हुन्छन् । यस्ता कर्म युगयुगान्तरसम्म अर्थपूर्ण रहन्छन् । ऋगवेदमा भनिएको कुरा महत्त्वपूर्ण छ, “मानिसले कर्म गर्दै सय बर्ष बाँच्ने चाहना गर्नुपर्छ ।” प्रत्येक असल काम शुरुमा अस्तव्यस्त कठिन र असम्भव पनि लाग्न सक्छन् तर त्यसमा रुचि, लगाव र समर्पणको समन्वय भएपछि कर्म उद्देश्य प्रेरित हुन्छन् । जसले सही कर्ममा दत्तचित्त भई समय दिन्छन् । तिनीहरू प्रायः असफल कहाँ भएका छन् र ? प्रत्येक महान् कर्मले नै महान् कार्यका निम्ति ठाँउ बनाउँछ । कामकै कारण शरीर मरे पनि नाम सम्झाइरहन्छ । जो सबैका लागि बाँच्दछ त्यो मरे पनि बाचेकै सरह हुन्छ । कर्म नै जीवन्त प्रमाण हो । असंख्य मानिसहरूमध्ये लामो समयको अन्तरालमा एकाध केही व्यक्ति सबैका लागि बाँच्ने आउँछन् । जहाँजहाँ हात राख्यो त्यहीँ आफ्नो छाप छोड्ने, सबैको स्नेह, सहयोग, श्रद्धा र सम्मान पाउने व्यक्ति तिनै भइदिन्छन् । कुरा आखिर आदर्शका जति गरे पनि फूले जस्तो फल्दिने र भनेजस्तो हरेक कुरा भइदिने भए यो संसारको गति र रूपरंग अर्कै हुने थियो । सोचेर, चाहेर र भनेर मात्र मानिस सफल हुने भए सफल मान्छे एवम् असल मान्छेका उदाहरण दिनमा केही समस्या पर्थेन । सफलताको सामान्य मापदण्ड भनेको उद्देश्य–लक्ष्य चुमेको, सोचेको पूरा गरेको व्यक्ति, परिवार वा समाज राष्ट्र उपयोगी र लाभ हुने क्षेत्रमा केही प्राप्तिको अवस्था हो । सफल हुने मान्छेका व्यवस्थित जीवन र व्यवस्थित कर्म सङ्ग्रह हुन्छन् । जोखिम नमोल्नेहरू कहाँ अघि बढ्छन् र ? विगतमा तपस्या गरेकाहरू वाल्मीकि, व्यास , डार्विन, पारिजात, देवकोटा, पौड्याल, सम, नारायण गोपाल, वी.पी., मदन भण्डारी, एडिसन, पेले, क्यास्ट्रो, मदर टेरेसा, भानु, नेल्सन मण्डेला, रुसो लगायतका अनेकन व्यक्तित्वहरूलाई पीडा पोख्ने र आँसु चुहाउने फुर्सद पनि भएन होला शायद ।

देश वा समाजसेवा गर्ने मानिस कोही कलम चलाएर, कोही कलाकार बनेर, कोही समाजसेवी भएर, कोही नेता–अभिनेता भएर, कोही विज्ञानका क्षेत्रमा लागेर, कोही शिक्षा क्षेत्रमा अथवा कुनै पनि आवश्यक वा रुचिपूर्ण क्षेत्रमा लागेर अघि बढ्दछन् । सेवा गर्ने र चिनिने क्षेत्र धेरै छन् । यो दुनियाँमा आफूलाई कुनै क्षेत्रको विधागत विशिष्टकृत गर्न सके दिगो कर्मको छाप छाड्न सकिन्छ । समाजमा रहेर कर्म गरेर बहुआयामिक विशिष्टकृत सफलता प्राप्त गर्ने मान्छे कमै हुन्छन् । कोही बहुआयामिक भए पनि सबै क्षेत्रमा उत्तिकै चर्चि हुन्छन्् । विरलै उदाहरण हुन्छन्् यस्ता ।

हामीले जेजति गर्नु छ त्यो केवल जिउँदै हुँदामा गर्न सक्छौँ । निष्क्रिय भएर बस्नु मुर्दातुल्य हुन्छ अनि सक्रिय भएर बस्नाले मात्र मानवता र सजीवताको प्रमाण दिन सकिन्न । सक्रियता र इमानदारी पनको सम्मिश्रणबाट नै मानवताको र सजीवताको प्रमाण पाइन्छ । नाउँ अथवा यश हासिल गरी बाँच्नु जिउँदै मरेको बराबर हुन्छ । यसर्थ जिउँदो रहनुप¥यो भने नामको आवश्यकता पर्छ । नाम नकमाई बाँचेको जीवन होइन तर जीवनमा इमानदारी र अध्यवसाय छन् भने नाउँ र यश भन्ने कुरोले मानिसको अनुसरण गर्छ पीछा कहिल्यै छाड्दैन । सफल लेखन र सिर्जना गर्नु नाउँ र यश कमाउने महत्त्वपूर्ण आधार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *