ज्यामिरेमा वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ

होम राई मगर पाल्पा, निस्दी गाउँपालिका ७ नं. वडा कार्यालय ज्यामिरे, पाल्पाले वार्षिक समीक्षा तथा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा गत वर्ष ३४ वटा योजनाहरु मध्ये २७ वटा योजना मात्र सम्पन्न भएको वडाध्यक्ष मुक्तबहादुर पाटाले जानकारी दिनुभयो । गत वर्ष ज्यामिरेमा दुई करोड ८१ लाख ७५ हजार रुपैयाँ बराबरको योजना सम्पन्न गरेको वडाध्यक्ष पाटाले बताउनुभयो । उहाँले निर्धारित समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा गत वर्ष ज्यामिरेमा सञ्चालन भएका योजना तथा कार्यक्रम बारे वडा सचिब चिनिमाया दिशाले जानकारी गराउनुभएको थियो । कार्यक्रममा मुख्य पाहुना गाउँपालिका मुक्तबहादुरले स्थानीय जनताको सल्लाह, सुझाव सदैब आवश्यक रहेको बताउनुभयो । उहाँले जनगुनासो आउन नदिन जनप्रतिनिधिहरुको जिम्मेवारी रहेकोले कर्मचारीहरुको समेत सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ६ नम्बर अर्चलेका वडाध्यक्ष तथा पालिका प्रवक्ता मेख बहादुर सुनारीले शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय शिक्षा ऐनको मस्यौदा तयार भइ सुझाव सल्लाहको चरणमा रहेको जानकारी गराउनुभयो । साथै दिवा खाजालाई पोषण खाजाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै निस्दीले बालविकास केन्द्र देखि कक्षा आठसम्मका विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका तुलबहादुर सारु,नेपाली कांग्रेसका लालबहादुर सारुले स्थानीय जनताहरूको गुनासो स्थानीय सरकारबाट सुन्नुपर्नेमा जोड दिनुभएकाे थियोे ।कार्यक्रममा होङ्सी शिवम सिमेन्ट कम्पनीले जनस्तरमा पारेको प्रभाव, उक्त कम्पनीबाट आर्थिक सहयोग स्वरुप प्राप्त भएको पच्चीस लाख मध्ये पन्ध्र लाख व्यक्तिको नाममा रहेको भन्दै त्यसमा स्थानीय सरकारको ध्यान जानुपर्नेमा सहभागीहरुबाट महत्त्वपूर्ण सुझाव आएको थियाे ।ज्यामिरेका विद्यालयहरुको शैक्षिक उपलब्धी ,स्वास्थ्य चौकीले दिने सेवा सुविधा बारे सहभागीहरुले सार्वजनिक सुनुवाइमा जिज्ञासा राखेका थिए ।

त्यसैगरी जमलेघाटको पक्की पुल निर्माणमा भएको ढिलाइ, योजना संकलनमा बस्ती स्तरमा नजानुका कारणका सम्बन्धमा जानकारी लिएका थिए । कार्यक्रममा वडा सदस्य हुम बहादुर चुहान, ज्यामिरे स्वास्थ चौकी प्रमुख खेम बहादुर सारु, जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर पल्ली लगायतकाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *