देवदह खयरडाँडामा भेटियो साढे ३ मिटर गहिरो प्राचीन इनार

रूपन्देही संवाददाता, देवदहकाे खयरडाँडाका स्थानीयहरुले बुद्धको मावली स्थल कोलिय गणराज्य दरबार क्षेत्रकाे दावी गर्दै आएपछि उत्खनन गर्दा रुपन्देहीको देवदह स्थित खयरडाँडामा साँढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्व विभागकाे संयुक्त प्राविधिक विज्ञ टाेलीले जेठ १६ गतेदेखि शुरु गरेको उत्खननकाे क्रममा देवदह खयरडाँडामा पूर्ण आकारमा रहेको इट्टाको प्राचीन इनार भेटिएको हो ।

गत वर्ष लुम्बिनी विकास कोषबाट उत्खनन गर्दा उक्त ठाउँमा प्राचीन इनारकाे इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । अहिले त्यसलाई बेस बनाइ उत्खनन गर्दा दुई मिटर चौडाई र साँढे तीन मिटर गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोष भैरहवा,रूपन्देहीका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिनुभयाे । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो भने यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा उक्त इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भन्नुभयाे । उहाँका अनुसार प्राचीन इनार भएपनि कुन समयको हाे भन्ने कुरा कार्बन डेटिङ पछि मात्रै यकिन हुने उहाँले बताउनुभयो ।इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरुका भग्नाअवशेषहरु पनि भेटिएको पुरातत्त्व अधिकृत उप्रेतीले बताउनुभयाे। उहाँले देवदह खयरडाँडामा उत्खननका क्रममा माटाका भाडा,प्राचीन इट्टाले लगाएकाे पर्खालका भग्नाअवशेषहरु भेटिएको छ भन्नुभयो ।

स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरु लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको पनि उप्रेतीले बताउँनुभयाे ।बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्नलाई नसक्ने बताउँदै उहाँले पुरातात्विक उत्खनन र अन्वेषणकाे काम अझै बढाउनुपर्ने समेत उहाँले बताउनुभयाे । रोहिणीपूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताउनुभयाे। उहाँले बुद्ध कालीन समयका र त्यो भन्दा अगाडिका माटाका भाँडाका टुक्राहरु पण्डितपुरमा भेटिएको समेत जानकारी गराउँनुभयाे ।रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको खयरडाँडा दरवारक्षेत्रमा रहेको दावी गर्दै आएका छन् । प्राचिन कोलिय राज्य अन्तर्गत रहेका क्षेत्रहरुमा निरन्तरकाे अध्ययन एवं अनुसन्धानका लागि उत्खनकाे आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताउनुभयाे । उहाँले देवदह खयरडाँडामा उत्खननबाट प्राप्त भएका ऐतिहासिक तथ्य एवं प्रमाणलाई अध्ययन गरि आगामी दिनमा थप कदमहरु अगाडि बढाउने बताउनुभयाे ।देवदह नगरपालिका-९ स्थित खयरडाँडामा अध्ययन अनुसन्धान र उत्खनन गर्नका लागि देवदह नगरपालिकाले यस आर्थिक वर्ष दस लाख रूपैयाँ बजेट विनियोजन गरि अहिले याे खयरडाँडामा उत्खनन गरिएको हो । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा देवदह खयरडाँडा आएको टाेलीमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी,चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल सहित उत्खननमा खटिनुभएकाे छ। उत्खननकाे काम अझै एक महिना चल्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *