निस्दीको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम

धनबहादुर ठाडा पाल्पा, निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले गत आर्थिक वर्ष २०७९/०८० मा वित्तीय प्रगति विवरण अन्तर्गत चालू तर्फ ८३ दशमलव ९ प्रतिशत र पुजिगत तर्फ ६४ दशमलव ९४ प्रतिशत खर्च भएको बताउनुभयो । गतवर्ष निस्दीमा आर्थिक विकास तर्फ ७८ दशमलव ९८ प्रतिशत, सामाजिक विकास तर्फ ८६ दशमलव ५५ प्रतिशत, पूर्वाधार विकास तर्फ ५४ दशमलव ७४ प्रतिशत, सुशासन तर्फ ७९.३१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ७० दशमलव ०९ प्रतिशत गरि कुल ७५ दशमलव ५७ प्रतिशत खर्च प्रगति भएको बताउनुभयो । साथै चालू आर्थिक वर्ष २०८०/०८१ मा चालू तर्फ ४५ करोड २ लाख ५५ हजार र पुजीगत तर्फ २४ करोड २ लाख २७ हजार गरि कुल ६९ करोड ४ लाख ८२ हजार बराबरको बजेट विनियोजन भएको बताउनुभयो ।

गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, भौतिक पुर्वाधार, बिजुली, पर्यटन, कृषि, विपत व्यवस्थापन जस्ता विषयमा रहेर जिज्ञासा तथा सुझाव दिएका थिए । साथै सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, युवा स्वरोजगार जस्ता विषयमा जिज्ञासा तथा सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने र नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका सभापति पुर्ण बहादुर खाँणले निस्दीको विकासमा राजनैतिक दल बाधक नबन्ने र सदैव सहयोग रहने बताउनुभएको थियोे । सहभागीले उठाएका जिज्ञासाको जवाफ विषयगत शाखाका संयोजक, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले दिनुभएको थियो ।गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले गाउँपालिकाले गर्ने कार्य सम्पादनमा जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै गाउँपालिकाले परिमाण मुखी भन्दा परिणाम आउने खालको काम गर्ने बताउनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष सारुले आगामी दिनमा निस्दी गाउँपालिका बाट रोजगारमुलुक तथा व्यवसाय र उत्पादनमुखी काम गर्ने याेजना रहेको बताउँदै उहाँले पालिकासंग सरोकार राख्ने सबैमा राय सुझाव दिनुहुनका लागि अनुरोध गर्नुभएको थियो ।

निस्दी गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल र कुटुम्ब मिडियाा प्रालि प्रवन्ध निर्देशक नारायण न्यौपानेकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *