पाँच बुँदे घोषणापत्र जारी गर्दै समाजवादी प्रेस संगठन लुम्बिनीको बैठक सम्पन्न

कोहलपुर, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । प्रेस संगठन लुम्बिनी प्रदेशद्वारा बाँकेको कोहलपुरमा आयोजित तेस्रो पुर्ण बैठकले पाँच बुँदे घोषणापत्र जारि गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले यतिबेला समाजवादी प्रेस संगठनका अघि धेरै चुनौती रहेको बताउनु भयो । उहाँले जिल्ला जिल्लामा यतिबेला प्रेस संगठन संगठन बिस्तार मै लागिरहेको जानकारी दिनुभयो । यस्तो छ समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति कोहलपुर घोषणा पत्र’२०८० साउन ३१ गते समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश समितिको बैठक अध्यक्ष श्री हृदय भुसालको अध्यक्षता, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, पार्टीका केन्द्रीय सदस्य अब्दुल हुसेन खानको आतिथ्यता, संगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरुको उपस्थितिमा बाँके जिल्लाको कोहलपुरमा सम्पन्न भयो । बैठकले निम्न अनुसारको ५ बुँदे कोहलपुर घोषणापत्र जारी गरेको छ ।

१. समाजवादी प्रेस संगठन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितालाई आत्मसाथ गर्दै समुन्नत, समानतायुक्त र सभ्य समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अबस्थामा, मिशन पत्रकारितालाई अगाडि बढाउनु पर्ने ठहर गर्दछ ।

२. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा हाम्रो संगठन पूर्ण रुपमा कार्यान्वयनको पक्षमा रहको छ । तर, लुम्बिनी प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन महासंघको ध्यानआर्कषण गराउँदछौं ।

३. लुम्बिनी प्रदेशका विभिन्न सञ्चारमाध्यमा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएकाले सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न हाम्रो संगठन सचेत गराउँदछौं ।

४. संघीय, प्रदेश र स्थानीय सरकारहरुले बनाउने सञ्चारसम्बन्धी ऐन नियमहरु सञ्चारमैत्री बनाउन र तीन तहका सञ्चार सम्बद्ध सरकारी नियुक्तिमा सबै संगठनको प्रतिनिधित्व र समावेशी नीति लागू गर्न माग गर्दछ । साथै स्थानीय रुपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि मुख्य प्राथमिकतामा राख्न जोडदार माग गर्दछौं ।

५. लुम्बिनी प्रदेश पर्यटकीय स्थलका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले प्रदेश सरकारसहित सरोकारवाला सबैलाई २०८० देखि ९० सम्म ‘लुम्बिनी भ्रमण दशक’ का रुपमा मनाउने गरि नीति बनाउन र पत्रकार एवं सञ्चारमाध्यमहरुलाई समेत पर्यटनका मुद्दालाई उच्च प्राथमिकता दिन माग गर्दछ ।’

पाँच बुँदे घोषणापत्र सार्वजनिक गर्दै लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले घोषणापत्रको प्रेस संगठनले अक्षरस पालना गर्ने बताउनुभयो । उहाँले लुम्बिनीका सबै जिल्ला जिल्लामा प्रेस संगठनको कमिटी गठन भएको बताउँदै अब बृहत प्रशिक्षण कार्यक्रमको समेत आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। भुसालले समाजवादी प्रेस संगठनमा आवद्व पत्रकार क्रियाशील र क्षमतावान बन्नुपर्नेमा जोड दिनुभएको थियो। यस्तै बैठकको पुर्व सन्ध्यामा बाँकेको कोहलपुरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे । बृहत रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका प्रेस संगठन बाँके जिल्ला शाखाका अध्यक्ष लोकनाथ शर्माले जानकारी दिनुभयो । बैठक संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालको अध्यक्षता, उपाध्यक्ष प्रतिज्ञा बुढा मगरको स्वागत मन्तव्य र सहसचिव पदम गैरेको संचालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *