पाल्पाकाे माथागढीमा समुदायमै गएर सामाजिक सुरक्षा भत्ता वितरण

पाल्पा, माथागढी गाउँपालिकाले ग्रामीण वडाका समुदायस्तरमा पुगेर सामाजिक भत्ता वितरण गरेको छ । माथागढी गाउँपालिका पञ्जिकरण सेवा ईकाईको आयोजना तथा नेपाल ईन्भेष्मेन्ट मेघा बैकको समन्वयमा माथागढीका पाँचवटा वडामा समुदाय स्तरमा गइ चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको हाे । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत चौथो त्रैमासिक अन्तर्गत विनियोजित रकम रू. २करोड ९९ लाख १८ हजार ३ सय २० मध्ये नेपाल ईन्भेष्मेन्ट मेघा बैंकबाट १ करोड ५२ लाख ५७ हजार तीन सय उनानव्वे रुपैयाँ वितरण गरेकाे माथागढी गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाले ग्रामीण क्षेत्रका स्थानीयको असुविधालाई मध्ये नजर गरेर बैंकसँगकाे सहकार्यमा वडाका टोलटोलमै वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउँनुभयो । उहाँले सामाजिक सुरक्षा पाउने लाभग्राहीहरूलाई वर्खा लागेको समयमा कुनै समस्या नहोस भनेर वर्षातमा समेत घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले बताउँनुभयो । गाउँपालिकाले वडाका सबै टाेलहरूमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको लागि आगामी नीति तथा कार्यक्रममै समावेश गरेर कार्याक्रम बनाएको जानकारी समेत गराउनुभयाे ।

यस्तै गाउँपालिकाले ग्लोवल आइएमई बैंकसँग समन्वय गरेर वडा नं. १ देखि ३ सम्मको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत जनताकाे घरदैलोमा पुगेर वितरण गर्ने गरी याेजना बनाएको र साेही अनुसारको काम गरिएको सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ वडाअध्यक्ष राजकुमार पन्थीले कुराकानीमा बताउँनुभयो ।

गाउँपालिका पञ्जिकरण शाखाका अनुसार पालिकाभित्र जेष्ठ नागरिक १ हजार ६ सय ६४, जेष्ठ नागरिक दलित १२९, जेष्ठ नागरिक एकल महिला २ सय ८४, विधुवा महिला ४४१, अपांग क वर्गको ६४, अपांग ख वर्ग १ सय ७०, दलित बालबालिका २ सय २७ जना जना गरी जम्मा ३ हजार ७९ जनालाई वितरण गरिएको शाखाका कर्मचारी पशुपति पन्थीले बताउनुभयो । पञ्चिकरण शाखा प्रमुख पन्थीले यातायात पहुँच कम भएका वडाहरु वडा नं. ४, ५, ६, ७ र ८ वडाका टोलबस्तीमै पुगेर जेष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँनुभयो ।

कार्यक्रम बिगत २ बर्ष देखि सन्चालन हुँदै आएको कार्यक्रममा झडेवा स्थित रहेको नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकसँगको समन्वयमा देवगीर र सातमुलेमा वितरण गरिएको वडा अध्यक्ष शंकर दर्लामीले बताउनुभयो ।

बस्ती तथा टाेलस्तरकाे शिविर कार्यक्रमले गर्दा वृद्ध, अपाङ्ग तथा अन्य लाभग्राहीहरुले गाडीभाडा तिरेर बैंक सम्म आउन नपर्ने भन्दै उहाँहरूले बैंक आउने समय पनि बचत भएको लाभग्राही मानबहादुर सारुले खुसी व्यक्त गर्नुभएकाे छ । स्थानीय सरकारले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सारुले बताउनुभयो ।

माथागढी गाउँपालिकाबाट एक वर्षमा करिब १२ करोड रूपैयाँ बरावरको रकम सामाजिक सुरक्षा मार्फत वितरण हुने गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *