पाल्पाका अधिकांश भू-भागमा राेपाईँ सकियो

पाल्पा, जिल्लाकाे धान खेती हुने भूभागमध्ये ८० प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो साता पर्याप्त पानी परेका कारण पाल्पाको अधिकांश भूभागमा रोपाइँ सकिएको हो । पाल्पाको माडी, कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवा फाँटहरूमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

यस्तै रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूमा भने अहिले पनि रोपाइँ चलिरहेको केन्द्रले जनाएको छ । पाल्पाको पश्चिम भेगका अधिकांश स्थानमा धान रोपाइँ सकिएको छ । पूर्वी भेगका केही फाँटहरूमा साउनको पहिलो हप्तासम्म धान रोपाइँ गर्ने प्रचलन रहेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताउनुभयो । यो वर्ष ढिला गरी राेपाइँ भएपनि धान खेतीका लागि पर्याप्त पानी पुगेपछि धमाधम रोपाइँ भएको अधिकारीले बताउनुभयो ।

पूर्वीभेग रामपुर, निस्दी, गेझालगायतका फाँटहरूमा हिउँदे धान र मकै खेती स्याहार्न बाँकी रहेकाले रोपाइँ साउनको पहिलो सातासम्म हुने ज्ञान केन्द्रले बताएको हाे । पाल्पामा आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । हिउँदे धानको खेती भने ७२० हेक्टरमा मात्र हुँदै आएको छ । यो वर्ष हिउँदे धान खेती २० प्रतिशतले घटेको छ ।पछिल्लो समय कृषि प्रविधिको प्रयोग बढेका कारण धान खेती छोटो समयमै सम्पन्न गर्न सहज बनेको छ ।

धान रोपाइँमा ट्याक्टर, रोलाभेटर, हाते ट्याक्टर जस्ता मेसिनको प्रयोग बढेपछि १५ दिनभित्रै अधिकांश भूभागमा धान खेती सकिएको ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिले–पहिले हल गोरु र मानिसको सहायताले मात्र रोपाइँ हुन्थ्यो अहिले कृषि प्रविधिको प्रयोगले रोपाइँमा समयको अबधि छोटिदैँ गएको छ ।’

पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बास्मती, झिनुवा, सावित्री लगायत जातको धान खेती हुँदै आएको छ । यो वर्ष धानका लागि आवश्यक पर्ने मलको समेत अभाव नरहेको ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *