पाल्पामा निकालियो इतिहास सम्झाउने भगवती जात्रा

पाल्पा, तानसेनमा ऐतिहासिक रणउज्जेश्वरी श्री ७ भगवती रथ यात्रा निकालिएको छ । नेपालकाे गाेर्खाफाैजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा विजय उत्सवकाे रूपमा वीरताको प्रतिक स्वरूप सिन्दुर जात्रा सहित श्री ७ रणउज्जेश्वरी भगवतीकाे रथयात्रा निकालिएको हो ।

पाल्पाको सदरमुकाम तानसेनमा हजारौ श्रद्धालु भक्तजन श्री ७ रणउजेश्वरी भगवतीकाे दर्शन गरि जात्रा हेर्न जिल्लाका ग्रामीण बस्ती र बाहिरी जिल्लाका हजारौं संख्यामा जात्रालु जात्रा हेर्नलाई  तानसेन आएका हुन् ।श्री ७ रणउज्जेश्वरी भगवती जात्राका अवसरमा तानसेन,भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो ।
विशेष बाजागाजा सहित बजार परिक्रमा गर्दै जय जयकारको गुञ्जन सहित श्री ७ रणउज्जेश्वरी भगवतीको रथ यात्रा निकालिएको छ ।

कुमाल जातीका जवानले १२ बजेर ३० मिनेटमा भगवतीको प्रति मुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका हुन् । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ ।  ऐतिहासिक महत्व बोकेको भगवती जात्राका क्रममा जिल्लाकाे शान्ति सुव्यवस्था कायम गर्न जिल्लास्थित सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको छ ।

श्री ७ रणउज्जेश्वरी भगवती जात्राको अवसरमा  पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा आएका छन् । यस्तै,विद्यार्थी शिक्षकहरु समेत जात्रामा सहभागी भएका छन् । रणउज्जेश्वरी भगवती जात्रामा जिल्लाका धार्मिक संघ संस्थाका झांकी,साथै तानसेन नगरका टोल विकास संस्थाका सदस्यहरु लगायतका व्यक्तिहरू जात्रामा सहभागी भएको श्री ७ रणउज्जेश्वरी भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोकमान महर्जनले बताउनुभयाे ।

नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ साल देखि मनाउन सुरू गरिएको श्री ७ रणउज्जेश्वरी भगवती जात्रा विजय उत्सवकाे रूपमा यसवर्ष पनि निरन्तरता दिइएको हो ।विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएकाे युद्धमा नेपालले अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट श्री ७ रणउज्जेश्वरी भगवतीको रथ यात्रा सहित विजय उत्सव मनाउन सुरू गरिएको हो ।

बुटवलक्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरे अनुसार यो जात्रा मनाउने गरिएको किंवदन्ती रहेको छ । पाल्पाको ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरता सँग जोडिएको भएपनि यो जिल्लामा सिमित मात्र  बन्न पुगेको छ ।

श्री ७ रणउज्जेश्वरी भगवती रथयात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राना र कर्णेल उजिर सिंह थापाका नाती तथा पलाती सहित हजारौं भक्तजनहरुको समेत सहभागीता रहेको थियो । जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था,समूह लगायतका विशिष्ट व्यक्तित्वहरूले   श्री ७ रणउज्जेश्वरी भगवती रथयात्रासँगै तानसेन नगर परिक्रमा गर्नुभएको थियाे । भगवतीकाे रथ यात्रालाई भजनकिर्तन,पञ्चेबाचा ,साँस्कृतिक झाँकीर्‍याली सहित तानसेन नगरकाे परिक्रमा गराइएको थियो । जात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, कपिलवस्तु ,रुपन्देही ,काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए ।

राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन  लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *