बगनासकालीकाे वार्षिक कार्य प्रगति सार्वजनिक

पाल्पा, बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ०७९/ ०८० को वार्षिक प्रगति समीक्षा बैठक सम्पन भएको छ ।बगनासकाली गाउँपालिकाले प्रगति समीक्षामा गाउँपालिकाका विषयगत शाखा प्रमुखहरुले गत आर्थिक वर्षमा सम्पादन गरेका सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाहरूका विषयमा आ-आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा चार सय पाँचवटा योजनाहरु सञ्चालन गरेको जनाएको छ भने पाँच किलोमिटर सडकलाई कालोपत्र गरेको प्रगति विवरणमा सार्वजनिक गरेको छ । गाउँपालिकाले यसका साथै नागरिकको सहजतालाई मध्यनजर गरी सामाजिक सुरक्षा भत्तालाई वडा तहबाट वितरण गरिएको र जिल्लामै पहिलो प्रयोगशाला सेन्टरको सुरुवात गरिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी गराउनुभयो । उहाँले गत आर्थिक वर्षमा गाउँसभाबाट पारित भएको नीति कार्यक्रम याेजनाकाे जानकारी दिदै उहाँले गाउँपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको बारेमा समीक्षा गरी प्राप्त असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएर कामको प्रभावकारीता बढाउने बताउनुभयो ।

आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक वर्ष २०७९/८० मा ७७ लाख आन्तरिक आम्दानी भएको जानकारी गराउनुभयो । उहाँले वित्तीय तर्फ ९१ दशमलव १७ प्रतिशत प्रगति भएको जानकारी गराउनुभयो ।

बैठकमा गाउँपालिकामा भएको योजनाहरूको छनोट र सञ्चालन, समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको बलियो बनाउन्दै लैजाने विषयमा छलफल भएको थियो । यसका साथै आन्तरिक आम्दानीमा वृद्धि, करको दायरा विस्तारका साथै गाउँपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने बताइएको छ ।

समीक्षा बैठकमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गत वर्षको तुलनामा व्यवस्थित र परिणाम देखिने काम भएको उल्लेख गर्दै आन्तरिक आम्दानीको दायरा बढाउन स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले एक वर्षमा गरिएको कामको आधारमा थप काम गर्ने प्रेरणा मिलेको बताउदै योजना समयमै सम्पन गर्ने सहयोग गर्ने उपभोक्तहरु र निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले प्रगति समीक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजनाबद्ध ढंगले चालु आर्थिक वर्षका गतिविधीहरू अगाडि बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

समीक्षा बैठकमा वडा सदस्य कृष्ण भुसाल, यमलाल तिमिल्सिना, बगनासकाली पत्रकार समूहका उपाध्यक्ष नेत्रप्रसाद गैरेलगायतले बोल्दै हाम्रो बगनासकाली, राम्रो बगनासकाली बनाउनु सबैको अहम भूमिका हुने कुरामा जोड दिनुभएको थियो ।

समीक्षा बैठकका अवसरमा एसइइ परीक्षामा उत्कृष्ट ५ जना विद्यार्थीलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा काम गर्ने ७ जना कर्मचारीहरुलाई समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *