बालबिवाह राेक्न र विद्यालय पढ्दापढ्दै बीचमै स्कुल छाेड्नेबानी सुधारका लागि निस्दीकाे प्राेत्साहन तथा सम्मान कार्यक्रम

पाल्पा, निस्दी गाउँपालिकाले आफ्नो पालिकाभित्र बसोबास गर्ने बीस बर्ष पुरा गरी बाह्र पास गरी विवाह गर्ने चाैबीस जना महिलाहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले कक्षा बाह्र उत्तीर्ण गरी बीस वर्ष उमेर पुगेर मात्रै विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गर्ने नीति अनुरुप ती महिलाहरूलाई सम्मान गरेको हो ।

निस्दी गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउनका लागि अभियान सञ्चालन गर्दै आएकोले पनि बालमैत्री गाउँपालिका घाेषणा तयारी स्वरूप सानैदेखि बालबालिकालाई बिवाहा गर्ने परम्परालाई राेक्न र न्यूनिकरण गर्नका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरीएकाे निस्दी गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बार्षिक नीति कार्यक्रम अनुसारनै आर्थिक बर्षको शुरुवात अर्थात साउन १ देखि बैशाख ३१ गते सम्म निस्दी गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका कक्षा बाह्र उत्तीर्ण गरी बीस वर्ष उमेर पुरा गर्दै विवाह गर्ने हरूका लागि गाउँपालिकाले एक कार्यक्रमकोआयोजना गर्दै प्रोत्साहन स्वरूप पुरस्कार र प्रदान गरिएको हो ।

गाउँपालिका केन्द्र मित्यालमा भएको सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले निस्दी गाउँपालिकाको प्रमुख समस्याका रुपमा रहेको बालविवाहलाई न्यूनीकरण गर्न र महिलाहरूलाई शिक्षामा प्राेत्साहन गर्न गाउँपालिकाले नीति कार्यक्रममा समावेश गरी याे अभियानमा शिक्षित महिलाहरूकाे भूमिका महत्वपुर्ण हुने बताउँदै उहाँले महिलाहरुलाई शिक्षातर्फ उत्प्रेरित गर्नका लागि गाउँपालिकाले यो किसिमको कार्यक्रम तय गरेको समेत उल्लेख गर्नुभयाे। यस किसिमको प्रोत्साहन कार्यक्रमले निस्दीकाे कम उमेरमा हुने बालबालिकाकाे बिवाहा र पढ्दापढ्दै बिद्यालयकाे पढाइलाई बीचमै छाेड्ने परम्परालाई न्यूनिकरण गर्न प्रोत्साहन हुने समेत उहाँले बताउनुभयो । निस्दी गाउँपालिकामा बालविवाह गर्नेको संख्या अझैपनि बढिरहेकाले त्यसलाई राेक्न र न्यूनीकरणका लागि यो सम्मान कार्यक्रमले थप प्रोत्साहन गर्ने अध्यक्ष सारुले बताउनुभयाे ।

गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालविवाह रोकेर छोरीहरुलाई शिक्षामा प्रोत्साहन गर्ने निर्णय गरेको बताउनुभयाे । प्लस टू उत्तीर्ण गरेर बीस वर्ष उमेर पुगेपछि मात्रै बिवाह गर्नुपर्ने भन्ने सन्देश दिन शिक्षा लिनुपर्छ भन्ने उद्धेश्य याे कार्यक्रमबाट बालबिवाहकाे अन्त्य गरि छोरीहरुलाई सम्मान र प्राेत्साहन गर्न नगद आठ हजार रूपैयाँ सहित पुरस्कृत गर्न निस्दी गाउँपालिका बाट निर्णय गर्दै गाउँसभाबाट समेत उक्त नीति कार्यक्रम पारित गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे । ‘गाउँपालिकाको यो निर्णयबाट छोरीहरुलाई पढाउनुपर्छ भन्ने साेँचमा परिवर्तन र उमेरै नपुगी बालविवाह गर्ने परम्पराकाे अन्त्य हुने अपेक्षा समेत गाउँपालिकाले लिएको उपाध्यक्ष श्रेष्ठले भन्नुभयाे । उहाँले महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेट मार्फत बालविवाह न्यूनिकरण गर्न तथा शिक्षामा प्रोत्साहन गर्न कार्यक्रम गरेको उहाँले बताउनुभयाे । प्रोत्साहन पुरस्कार नगद सहित निस्दी गाउँपालिका एक नम्बर वडा बाहेक अन्य वडाका चाैबीस जना महिलाहरुलाई जनही आठ हजार रूपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।

कार्यक्रममा सहभागिताहुन गत जेठ ११ देखि १७ गतेसम्म आवश्यक कागज पत्रहरु सहितकाे निवेदन आह्वान गरिएको जानकारी गाउँपालिका सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो । उहाँले पुरस्कारका लागि नेपाली नागरिकताको प्रमाण पत्र, कक्षा बाह्र कक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता नम्बर निस्दी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न अनुरोध गरिएको समेत कुराकानीमा बताउनुभयाे ।

यसअघि निस्दी गाउँपालिकाले गाउँपालिकाभित्रका स्नातकोत्तर तह (डिग्री) उत्तीर्ण दस जना महिलाहरुलाई नगद सहित सम्मान गरेको थियो । स्नातक तह उर्तीण गरेकोलाई पनि मध्यनजर गरी छलफलको चरणमा रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नका लागि प्रक्रिया अघि बढ्काे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिमला आचार्यले बताउनुभयाे । बालविवाह उच्च रहेको निस्दीमा महिला लक्षित कार्यक्रमले निरन्तर रुपमा सार्थकता पाउँदै गएको शाखा प्रमुख आचार्यको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *