भूमि आयोगद्धारा रामपुरका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सहित मालपोत नापी कार्यालयलाई नक्सा र श्रेस्ता हस्तान्तरण

पाल्पा, राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो ।

साथै आयोगले वितरण भएका पूर्जाको श्रेस्ता मालपोत कार्यालय रामपुर र नक्सा नापी कार्यालय रामपुरलाई हस्तान्तरण गरेको छ । आयोगले यस अघि पहिलो चरणमा गत वर्ष पुस ८ गते २ सय ६२ जनालाई दोस्रो चरणमा गत जेठ ३ गते ३ सय ५४ जना लाई पूर्जा वितरण गरेको थियो । जग्गाधनीलाई पूर्जा वितरण संगै श्रेस्ता तथा नक्सा हस्तान्तरण कार्यक्रममा बोल्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले सबैको साथ र सहयोगले आयोग मार्फत ऐतिहासिक कार्य सम्पन्न गर्न सफल भएको बताउनुभयो । वषौं देखि बसोबास गर्दै आए पनि लालपूर्जा नभएका अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । श्रेस्ता तथा नक्सा मालपोत र नापीमा हस्तान्तरण भैसकेकाले जग्गाको श्रेस्ता कायम अब छिट्टै हुने बताउँदै नगरपालिकाले घरहरुको अभिलेखिकरणको प्रक्रिया पनि अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले ७ सय ८३ घडेरी मध्ये वडा नं. ५, ६ र ७ मा ७ सय २ वटा पूर्जा वितरण सम्पन्न भएको जानकारी दिनुभयो । बाँकी रहेका मध्ये प्रक्रिया पुरा भएर १२ वटाको राजस्व जम्मा गर्न बाँकी रहेको, ४१ घडेरीको श्रीमान वा श्रीमतिको हस्ताक्षर बाँकी भएको, १ वटाको मुचुल्का नभएको, १८ वटाको दोहोरो निवेदन परेको र ९ वटा निवेदनको कार्यविधि अनुसार नमिल्ने भएर पछी सारिएको बताउनुभयो । हाल सम्म एक वटा निवेदनमा मात्र हकदावी परेको छ ।

आयोगले ७ सय २ अव्यवस्थित जग्गाधनी पूर्जा वितरण बाट ११ करोड ७७ लाख ५३ हजार ५ सय ५२ राजस्व संकलन गरेको छ । हाल सम्म १ सय १४ रोपनी ११ आना १ पैसा क्षेत्रफलको जग्गाको पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले हाल सम्मको उपलब्धी प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेल, रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुरका लक्ष्मी ढकाल, एकिकृत समाजवादी रामपुरका विनोद कुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चा रामपुरका रामप्रसाद गैरे, पत्रकार सीता डोटेल लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाले जग्गाधनी प्रमाण पूजा वितरणमा आयोगलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षतामा भएको कार्यक्रम विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीको स्वागत र सदस्य सचिव अर्जुन पौडेलको सञ्चालनमा भएको हो । तत्कालीन रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि र हालको रामतुलसी मा.वि., दरैठाँटी मा.वि., आधारभूत मावि, नवदुर्गा मावि लगाएतका विद्यालयहरुले विद्यालय सञ्चालनको लागि तत्कालिन समयमा विक्री गरेको जग्गामा बसोबास गर्दै आएका स्थानीय लालपूर्जा प्राप्ति संगै खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *