रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

पाल्पा, रामपुर आयुर्वेद औषधालयले बहिरंग सेवा शुभारम्भ गरेको छ । आयुर्वेद औषधालयकाे भवन निर्माण सम्पन्न भएपछि औषधालयबाट शुक्रबार देखि बहिरंग सेवा शुरु गरिएको हो । रामपुर आयुर्वेद औषधालयले सेवा शुभारम्भकाे  अवसर पारेर विशेषज्ञ सहितको आयुर्वेद स्वास्थ्य शिविर संचालन गर्दै सम्पन्न गरेको छ ।

सेवा शुभारम्भ कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले अयुर्वेद औषधालयको भौतिक संरचना तयार भएपनि यसको संचालनका लागि चुनौती रहेको बताउँनुभयो । उहाँले औषधालयकाे भवन अनुसार स्तरिय सेवा प्रदान गर्नका लागि आवश्यक जनशक्ती र उपकरणको अभाव रहेको बताउँनुहुदै यसको व्यवस्थापन गर्नका लागि तिनै तहको सरकारहरूकाे समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै उहाँले लुम्बिनी प्रदेशकै नमुना आयुर्वेद औषधालयको रुपमा स्थापित गर्न सबैले छलफल ,सहकार्य र समन्व्य गरेर अगाडी बढ्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डाक्टर पुष्पराज पौडेलले अहिले विश्वमानै मानिसहरूमा नसर्ने रोग बृद्धि भई रहेको उल्लेख गर्दै यस्ता नसर्ने रोगको निदान तथा उन्मूलनका लागि आयुर्वेद चिकित्साको महत्वपूर्ण भुमिका हुने उहाँले बताउँनुभयो। लुम्बिनी प्रदेश स्वास्थ्य  मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखा प्रमुख पाैडेलले आयुर्वेदले मानिसको स्वास्थ्यलाई स्वस्थरुपमा बचाई राख्ने भन्दै उहाँले आयुर्वेदऔषधालयबाट प्राप्त सेवाको सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

यस्तै नरदेव आयुर्वेद चिकित्सालयका वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डाक्टर बुद्धिप्रसाद पौडेलले देशका अधिकांश आयुर्वेद औषधालयमा तल्लो तहका कर्मचारीले मात्रै सेवाप्रदान गर्दै आएको भन्दै विषेशज्ञ सहित जनशक्ति आवश्यक रहेको बताउँनुभयो । आयुर्वेद सेवाले नागरिकको स्वास्थ्य र राज्यको खर्चभार समेत बचाउन मद्दत गर्ने बताउँनुभयो । 

लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्य निर्देशनालयका निर्देशक गणेशप्रसाद सापकोटाले आयुर्वेद औषधालय सञ्चालनका लागि स्थानीयतहले सबै संग समन्वय गरेर अघि बढ्न अनुरोध गर्नुभयो  ।

रामपुर नगरपालिका निमित्त प्रसाशकीय अधिकृत रामहरि पाण्डेले आयुर्वेद चिकित्साले मानव जीवन र स्वास्थ्यमा महत्पूर्ण भुमिका खेल्ने भन्दै सुविधा सम्पन्न भवनबाट सर्वशुलभ सेवा प्रदानगन नगरले आवश्यक सहयोग गर्ने बताउँदै  त्यसका लागि सबै  पक्षबाट आ-आफ्नो भूमिका महत्त्वपूर्ण रहेने उहाँले बताउँनुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा नेपाली काँग्रेस रामपुर नगर सभापती नेत्रप्रसाद भट्टराईले आयुर्वेदिक औषधि प्रति मानिसको विश्वास कमभए पनि यसले रोगलाई निर्मूल पार्ने भएकाले आयुर्वेदिक औषधिकाे उपयोग बुझ्न र आयुर्वेद सेवालाई महत्वदिन सकिए मात्र  सेवा उपभाेगमा प्रतिदिन संख्या बढ्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष दोवराज तिवारीले आयुर्वेद र योग शिक्षाको माध्यमबाट नगरबासीको स्वास्थ्यलाई थप मजबुत बनाउनु पर्ने भन्दै गुणस्तरिय सेवाको निरन्तरताका लागि सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।  वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले औषधायबाट सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नुभयो । औषधालय व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष एवं वडा नं. ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले रामपुर आयुर्वेद औषधालय यस क्षेत्रको सभ्यतासंग जोडिएको बताउँदै यसको प्रवर्द्धन र संचालनका लागि सवैको साथ सहयोग आवश्यक पर्ने उहाँले बताउँनुभयो ।

कार्यक्रममा रामपुर आयुर्वेद औषधालयका प्रमुख चेमन प्रकाश पाेखरेलले आयुर्वेद सेवाप्रति दिनहुँ  सेवाग्राही नागरिकहरूकाे विश्वास बढ्दै गएको र दिन प्रति दिन सेवा लिन आउनेहरूकाे संख्यामा समेत बृद्धि भएको भन्दै सेवाग्राहीले आयुर्वेदकाे महत्त्व बुझेर उपचारमा विश्वास गर्न थालेकोले   अहिले सेवादरमा बृद्धिभई रहेको जानकारी दिनुभयाे। रामपुर औषधालयका प्रमुख पाेखरेलले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सेवा शुभारम्भ कार्यक्रम रामपुर नगरपालिका र पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सुरू भई विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा पाल्पा, स्याङ्जा, तनहुँ लगाएतका स्थानबाट १ सय ६८ जनाले पञ्चकर्म सहित विभिन्न रोगहरूकाे चेकजाँच तथा उपचार गराएका हुन् । शिविरमा नि:शुल्क आयुर्वेदिक औषधि वितरण गर्नुका साथै नवनिर्मित भवनबाट नियमित रुपमा विभिन्न नियमित सेवा प्रदान गरिने भएको छ । सेवा शुभारम्भ तथा स्वास्थ्य शिविर कार्यक्रम रामपुर नगरपालिका वडा नं.५ का वडाअध्यक्ष दुर्गाप्रसाद पाेखरेलकाे अध्यक्षतामा भएको कार्यक्रममा नलिननाथ तिवारीकाे स्वागत र यज्ञप्रसाद गैरेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *