रामपुर नगरपालिकाका स्थायी शिक्षकहरुलाई एक दिने अभिमुखिकरण

पाल्पा, शैक्षिक सुधार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका स्थायी शिक्षकहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै नेपाल सरकारका सचिव डाक्टर हरिप्रसाद लम्सालले राजनितिक भय खिचातानी कै कारणले विद्यालय शिक्षामा सुधार हुन नसकेको बताउँनुभयो । उहाँले विद्यालयका शिक्षकमा भन्दा शिक्षाबढी राजनितिककाे प्रभाव हावी भएका कारण शैक्षिक अवस्था खस्कदोँ अवस्थामा पुगेको बताउँनुभयो । डाक्टर लम्सालले विभिन्न भयका कारण शिक्षकहरुले आफ्नो सुरक्षाका निम्ती कुनै न कुनै दल वा संघ संगठनमा आबद्ध भएका कारण शिक्षाक्षेत्र प्रति नकारात्मक भाष्य सिर्जना भएकाे भन्दै यसलाई चिर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । विद्यालय शिक्षा सुधारका लागि राजनीतिक बहस भन्दा पनि शैक्षिक बहस गर्नु पर्नेमा जोड दिनुभयो ।

सचिव डाक्टर लम्सालले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई कुनै पनि कार्यकारी पद वा लाभको पदमा नबस्न आग्रह समेत गर्नुभयो । उहाँले सबै शिक्षकले आफ्नो पेशा प्रतिकाे धर्म पूर्ण रुपमा निभाउनु पर्ने भन्दै विद्यालयको सुधारका लागी शिक्षकहरु आफै लाग्नु पर्ने बताउनुभयो । लम्सालले हरेक शिक्षकले बदलिंदो समय संगै प्रविधिको प्रयोग र शिक्षण सिकाईको शैली फरक बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले नगरको शैक्षिक विकासका लागि हरेक विद्यालयको महत्व दिने खालका विषय सञ्चालन गर्नु पर्ने उल्लेख गर्दैै सहकार्य , समन्वय र सहअस्तित्व कायम गरेर अगाडी बढ्न आग्रह गर्नु भएको छ ।

दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको शैक्षिक उन्नयनका लागि प्रतिबद्ध भएर कक्षा शिक्षण गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले भौतिक विकासले मात्र नगरको विकासले पूर्णता नपाउने भन्दै मास्तिष्कको विकासका लागि विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्नु पर्नेमा जाेड दिनुभयो । “भौतिक पूर्वाधारको विकास भए पनि जब सम्म सकारात्मक सोच सहितको मस्तिष्कको विकास हुँदैन तब सम्म नगरपालिकाको समग्र विकासले पूर्णता पाउँदैन” नगर प्रमुख थापाले भन्नुभयो ।उहाँले मस्तिष्कको विकास शिक्षक बाहेक अरुले गर्न नसक्ने भन्दै नैतिकवान नागरिक बनाउनका लागि विद्यालय शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाले हरेक विद्यालयको शैक्षिक गुणस्तर स्तरीय बनाउनका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने भन्दै भोलीको रामपुर नगरपालिका कस्तो बनाउने हो सोही तवरले लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालय सुधार र कार्य सम्पादन मूल्याङ्कन सम्बन्धि सहजिकरण गर्नु भएको थियो ।

दरैठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकारका सचिव डाक्टर हरि प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समिति संयोजक सिमादेवि थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका भित्रका स्थायी शिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *