रामपुर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले कृषि, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । आइतबार नगर सभा तथा १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्र्धनको लागि खाद्यान्नको विउविजनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने, तरकारी, फलफुल तथा पुष्प खेती गर्ने कृषकहरुलाई विउ,विरुवा तथा सामाग्री अनुदान प्रदान गर्ने, भण्डारणको व्यवस्था गर्ने, अण्डा दुध, मासु र तरकारीमा आत्मनिर्भर बनाउँदै लगिने, विपन्न परिवारका सदस्यलाई कृषि तथा पशुपंक्षि पालनमा पूर्ण अनुदान उपलब्ध गराईने, कृषि तथा पशुपालनमा उत्पादन र क्षेत्रफलको आधारमा अनुदानको व्यवस्था गर्ने, आँप लीचि लगाएतका स्थानीय मुख्य कृषि उत्पादन प्रयोग गरी जुस वा कुनै उत्पादन गर्ने उद्योगलाई प्रोत्सहान अघि बढाईने बताउनुभयो। उहाँले पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन, पूर्वाधार विकास र पहुँच विस्तार गर्ने, पर्यटन गन्तव्यहरुलाई एकितृत गरी पर्यटन प्याकेज निर्माण गरी पर्यटक आकर्षित गर्ने, कालीगण्डकी किनार संगै रामपुर ४ को बौद्धविहार देखि रेवती पोखरा सम्म पदमार्ग निर्माण गर्ने, राम कथा संग सम्बन्धीत क्षेत्र लाई जोडि रामायण सर्किटको रुपमा विकास गर्ने, जिपलाईनको सम्भाव्यता अध्ययन गर्ने, रामपुरको पहिचानका लागि उपयुक्त स्थानमा रामरसीताको मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।साथै नगरपालिकाले ८ जना वा सो भन्दा बढी रोजगार दिने गरी उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगीलाई ३० लाख सम्मको व्याज अनुदान दिने, महिला तथा युवाहरुको आर्थिक समृद्धि संगै गरिबी निवारणका लागि मेयर उपमेयर उद्यम विकास कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिईएको छ । नगरका सबै स्वस्थ्य संस्थालाई क्रमश पूर्वाधार सम्पन्न बनाउने, बालमैत्री पालिका बनाउन स्वास्थ्यका सूचक पुरा गर्दै लगिने, नवनिर्मित आयुर्वेद अस्पतालमा प्रयोगशाला तथा फार्मेसी सेवा सहित चिकित्सकिय सेवा प्रदान गरिने उल्लेख छ ।

शिक्षाको विकासको लागि कार्यसम्पादनको आधारमा शिक्षक कर्मचारीलाई पुरस्कृत गरिने, झोला रहित शुक्रबार प्रतिभाको पहिचान भन्ने नारा सहित अतिरिक्त क्रियाकलपालाई व्यवस्थित गरिने, सामुदायिक विद्यालयको सुन्दरता बढाउन विद्यार्थीहरुको सहभागिता हुने गरी सुन्दर विद्यालय परियोजना सञ्चालन गर्ने, विद्यालयका बालविकास सहायक र कर्मचारीको तलब थप गर्ने थापाले बताउनुभयो । नगरपालिकाले २०८३ मंसिर ५ भित्र बालमैत्री नगर घोषणा गर्ने नीति लिएको छ । नगरपालिकाले राष्ट्रिय तथा जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुको दुर्घटना विमा गर्ने र प्रोत्साहनका लागि उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने नीति लिएको छ ।

नगरको हरेक सडकको दायाँबायाँ वृक्षरोपण गरी हरियाली सडकको रुपमा विकास गन प्राथमिकता दिने, एकघर एक विरुवा, एक वडा एक हरियाली पार्क कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोर अन्तर्गतका सडकमा ट्राफिक प्रहरी पोष्ट, पैदल मार्ग, जेब्रा क्रस, यात्रु प्रतिक्षालय र सार्वजनिक शौचालय निर्माणको योजना बनाई रिफ्रेसमेन्ट केन्द्रका रुपमा विकास गर्ने, चक्रपथ निर्माण कार्य अघि बढाउने, पूर्वाधार एम्बुलेन्स स्थापना गरी सेवा प्रवाह गर्ने, पर्यटकिय नगरपालिका भित्रका सबै वडामा एउटै प्रणलीको विद्युत उपलब्ध गराउने निति लिएको छ । साथै नगरलाई यसै वर्ष भित्र खरको छाना रहित बनाउनको खरको छानो भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गरिने उल्लेख गर्नुभयो । पिउने पानीको लागि ग्रेभेटी फ्लोको योजनालाई प्राथमिकता दिने र सम्भव नभएका स्थानमा लिफ्टीङ्गको माध्यम बाट योजना सञ्चालन गरिने नीति लिएको छ । नगरपालिकाले घरनक्सालाई विद्युतिय स्वीकृति तर्फ लैजान तथा वडा बाटै आवस्व तथा मालपोत कर संकलनको व्यवस्था मिलाउने नीति लिएको छ ।

रामपुर नगरको बजेट ६९ करोड ७२ लाख ५० हजार रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्नु भएको थियो ।

आय तर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँढफाँड बाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) १ करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३ सय ४८, प्रदेश समपुरक १ करोड ५० लाख, प्रदेश ससर्त १ करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ ५ करोड ५० लाख, अल्या १ करोड ६३ लाख ६५ हजार ६ सय ५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई ४२ लाख विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकास तर्फ १ करोड ९५ लाख ५० हजार, सामाजिक विकास तर्फ ३४ करोड २३ लाख, पूर्वाधार विकास तर्फ ९ करोड ७८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ करोड ९३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन गरेको थापाले जानकारी दिनुभयो । उपप्रमुख थापाले नगर सभामा प्रस्तुत गर्नु भएको विनियोजन विधयेक, आर्थिक विधेयक पारित भएको छ ।

नगर सभाको अवसरमा रामपुर नगरपालिकाले नगर भित्रका पूर्व जनप्रतिनिधि, पत्रकार, खेलाडी तथा उत्कृष्ट विद्यालयहरुलाई सम्मान सहित पुरस्कृत गरेको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम न्यू होटल श्रीनगरको सभाहलमा भएको थियो । प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत बाटसुरु भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी रामहरी पाण्डेले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *