रामपुर नगरपालिकाद्वारा कृषकलाई अनुदानमा लहरे तरकारीको विउविजन वितरण

पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा हिउँदे तरकारीको विउ विजन वितरण गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमका विच कृषक तथा कृषि समुहलाई ५० प्रतिशत अनुदानमा लहरे तरकारीको विउ विजन वितरण गरेको हो ।

कृषकहरुलाई विउ विजन वितरण गर्दैै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा विउ विजन वितरण गरेको बताउनुभयो । कृषकलाई व्यवसायीक र आत्मनिर्भर बनाउन प्रोत्सहानका लागि ५० प्रतिशत अनुदानमा विउ विजन वितरण गरेको उल्लेख गर्नुभयो । “व्यवसायीक कृषक बनिदिनुहोस नसके आफुलाई आवश्यक तरकारी आफै उत्पादन गर्नुहोस ” नगर प्रमुख थापाले भन्नुभयो – “बाहिरबाट आयात गरेको तरकारीमा विषदी प्रयोग हुने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । ” बाहिर निर्यात गर्ने गरि तरकारी उत्पादन नगरे पनि कम्तीमा नगरपालिका भित्र आवश्यक तरकारीको मागलाई परिपूर्ति हुने गरि उत्पादन गर्न आग्रह गर्नुभयो । मानव स्वास्थ्य र कृषकहरुलाई राहत स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुदानमा विउ विजन वितरण गर्दै आएको नगर प्रमुख थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाको आर्थिक बर्ष २०८० ०८१ को स्विकृत तेलहन तथा तरकारीको विउ विजन ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत विउ विजन वितरण गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिनुभयो । साथै वितरित विउ विजनबाट राम्रो उत्पादनका लागि नगरपालिकाले प्राविधिक सहयोग तथा परामर्श दिने बताउनुभयो । उहाँले कृषकको उत्पादनको आधारमा मूल्याङ्क गरेर विभिन्न अनुदान दिईने बताउनु भएको छ ।

कृषकको मागको आधारमा ६ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा , लौका , घिँरौला , तिते करेला ,टमाटर,भिण्डी , टनेबोडी , घ्यू सिमि जातका तरकारीको विउ विजन वितरण गरिएको कृषि जेटिए युवराज नेपालीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत १ सय ५४ जना कृषक तथा कृषि समुहलाई विउ विजन वितरण गरिने र पहिलो दिन ६० जना कृषकलाई विउ विजन वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *