रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

पाल्पा , रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरु संग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो । रामपुर नगरपालिकाको आयोजना र शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा कार्यशाला गोष्ठीको सहजिकरण परामर्शदाता ग्लोबल इन्फर्मेशन सर्भे एण्ड म्यापिङ्ग कन्सर्न प्रा.लि.ले गरेको थियो ।

कार्यशाला गोष्ठीमा छलफल पश्चात आफ्नो धारणा राख्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले दिर्घकालिन सोचका साथ व्यवस्थित शहर निर्माणका लागि योजना बनाउनु पर्ने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले कृषि क्षेत्रलाई जोड दिएको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवस्थित शहर निर्माणको योजना अघि बढाउन जोड दिनुभयो । गोष्ठिमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकालाई भविष्यमा कस्तो बनाउने र कसरी व्यवस्थित शहर बनाउने भन्ने जिम्मेवारी अहिले सबैको काँधमा आएको बताउनुभयो । व्यवस्थित शहर निर्माण गरि रामपुरलाई नमुना शहरको रुपमा विकास गर्न सवैको सहयोग र समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।

नगरपालिकालाई सुन्दर र व्यवस्थित शहर बनाउन योजना बनाएर कार्यान्वयनका लागि सवै लाग्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिका प्राकृतिक र भौगोलिक हिसाबले अत्यन्तै सुन्दर रहेको भन्दै यहाँको संरचना र भुगोल नविग्रोस भन्ने सोँचका साथ अघि बढेको भन्दै यसका लागि सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । साथै रामपुर नगरपालिकालाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न हरेक तह र क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले व्यवस्थित शहर निर्माणको निर्माणको सम्भावना संगै चुनौति पनि उत्तिकै रहेकाले यसका लागि सवै एक भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा ग्लोबल इन्फर्मेशन सर्भे एण्ड म्यापिङ एण्ड कन्सर्न प्रालिका योज्ञेन्द्रपूर्ण  श्रेष्ठले व्यवस्थित शहर निर्माणका लागि नगरको भौगोलिक अवस्था , सडक , शिक्षा , स्वास्थ्य , कृषि , पर्यटन , उद्योग र व्यापार लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । साथै व्यवस्थित शहर निर्माणका लागि विगत ४ महिना देखिको सम्भाव्यता अध्ययनको प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । कार्यशालामा नगर भित्रका विभिन्न स्थानलाई आवास ,उद्योग , व्यापार , कृषि , पर्यटन, सडक , शिक्षा स्वास्थ्य लगाएतको क्षेत्र निर्धारण गरिएको छ ।  

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर भित्रका विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल सरकार शहरी विकास मन्त्रालय , शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थित शहर निर्माण योजना अन्तर्गत रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *