रामपुर २ तिलिङडाँडा पाल्पामा महिला दिदिबहिनीहरुलाई बाख्रा उपहार हस्तान्तरण

पाल्पा , रामपुर नगरपालिका वडा नं. २ तिलिङडाँडा पाल्पामा महिलादिदि बहिनिहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत मुल समुहद्धारा उपहार समुहलाई बाख्रा उपहार प्रदान गरिएको हो ।

    बाख्रा उपहार हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उपहार स्वरुप प्राप्त बाख्राको सही सदुपयोग गर्दै व्यवसायीक रुपमा बाख्रा पालनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले आर्थिक समृद्धि र आत्मनिर्भर बन्नका लागि व्यसायीक रुपमा बाख्रा पालन गरे नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । नगर प्रमुख थापाले बैंकबाट ऋण लिएर व्यवसायीक फर्म सञ्चालन गरे त्यसको व्याज नगरपालिकाले तिरिदिने बताउनु भएको छ । उहाँले व्यक्तिगत वा सामुहिक रुपमा फर्म दर्ता गरेर व्यवसायीक बाख्रा पालन गरि नगरलाई मासुमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो । साथै नगर भित्रका कृषि तथा पशु उत्पादनको बजारिकणका लागि नगरपालिकाले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपहारको रुपमा पाएको बाख्राबाट बढि भन्दा बढि उत्पादन गरेर उदहारणीय व्यवसायी बन्न आग्रह गर्नु भएको छ ।

यस्तै रामपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले राम्रो हेरचाह र लगनशिल भएर काम गरे वडा नं. २ बाख्रा पालनका लागि उपयुक्त स्थान रहेको बताउनुभयो । साथै महिला दिदिबहिनिहरु मार्फत प्राप्त माउ पाठी बाख्राबाट राम्रो आम्दानी गरि बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले महिला दिदिबहिनिहरुलाई बाख्रा पालन गरेर उद्यमी बन्न आग्रह गर्नु भएको छ । आर्थिक समृद्धिका लागि महिला दिदिहरुले बहिनि समुहलाई उपहार प्रदान गरेको भन्दै उहाँले यसको सही सदुपयोग गर्नु पर्ने बताउनुभयो । साथै उपहार प्रदान गरेका र उपहार प्राप्त गरेका सबै दिदिबहिनिहरुले बाख्रा पालनलाई निरन्तरता दिन सुझाउनुभयो । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा चौतलादेवि स्वाबलम्बन महिला समुहले कृष्ण देवि स्वाबलम्बन महिला समुहका दिदिबहिनिहरुलाई १८ वटा माउ पाठी बाख्रा हस्तान्तरण गरेको हो । चौतलादेवि स्वाबलम्बन महिला समुहका उपाध्यक्ष कल्पना थापाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सम्झना थापाको स्वागत र सचिव टकमाया थापाले गर्नु भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *