रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका संस्थाहरुको वार्षिक समिक्षा

पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत रहेको स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो मातहतका स्वास्थ्य संस्थाहरूकाे आर्थिक बर्ष ०७९/८० को वार्षिक कार्य प्रगति समिक्षा सम्पन्न गरेको हो ।

रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे वार्षिक कार्य प्रगति समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पा क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कोभिड महामारी लगाएत विभिन्न जटिल परिस्थितिमा पनि गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले राम्रो काम गरेको बताउनुभयो । स्वास्थ्य शाखाको वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रममा बाेल्दै उहाँले रिब्दिकाेटका स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दा कोही पनि सेवाग्राही वञ्चित नहुने गरि कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुक भट्टराईले रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको गतिविधिलाई विश्वस्निय र सेवामैन्त्री भएर प्रभावकारी ढंगबाट सेवाप्रवाह गरि रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य शाखाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत सुनिल अधिकारीले रिब्दीकोटमा स्वास्थ्य सेवालाई प्रभावकारी र नागरिकमैत्री भएर स्वास्थ्य सेवा प्रदान गर्ने गरेको बताउनुभयो ।रिब्दीकोट गाउँपालिकामा मापदण्ड बमोजिमका छ वटा स्वास्थ्य संस्थाकाआफ्नै भवन रहेकाे बताउनुहुदै उहाँले स्वास्थ्य संस्थामा ७२ जना स्वास्थ्य स्वयंसेविका रहेको रिब्दिकाेट गाउँपालिकाकाे स्वास्थ्य शाखा अन्तर्गत २८ वटा खोप केन्द्र रहेको वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रममा स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य अधिकृत अधिकारीले बताउनुभयो । गाउँपालिकामा २१ स्थानबाट गाउँघर क्लिनिक सञ्चालन भई रहेको छ, ५ वटा स्थानमा वर्थिङ सेण्टर, ३ स्थानमा सुरक्षित गर्भपतन सेवा, ३ स्थानमा ईम्प्लाण्ट सेवा, ३ वटा स्थानमा आईयूसिडि, ८ स्थानमा डट्स सेण्टर एक वटा ल्याब सेवा सञ्चालनमा रहेको रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखाले वार्षिक प्रगति समीक्षा कार्यक्रममा जनाएको हाे ।गाउँपालिकाकाे स्वास्थ्य शाखा अन्तर्गत ४५ जनाकाे स्वीकृत दरबन्दी रहेकोमा अहिले स्वास्थ्य शाखामा ३१ जना करारबाट पदपुर्ति गरिएको उहाँले बताउनुभएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत अधिकारीले स्वीकृत दरबन्दी भन्दा धेरै संख्यामा रिब्दिकाेटका स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेकाे जानकारी गराउनुभएको हाे । कार्यक्रममा कर्मचारी अभावले कुनैपनि सेवा रोकिन नपरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

रिब्दीकोटमा ईओसी फण्ड स्थापना तथा सञ्चालन नसकेको बताउँदै जनस्वास्थ्य अधिकृत अधिकारीले कार्यसम्पादनकाे आधारमा उत्कृष्ठ कर्मचारीकाे चयन र सेवाग्राही सन्तुष्टि सर्वेक्षण हुन सकेको छैन भनी स्वीकार गर्नुभयो । उहाँले नेपाल सरकारबाट निशुल्क उपलब्ध हुनुपर्ने धेरै जसो औषधी उपलब्ध भएको जनाउँदै रिब्दिकाेट गाउँपालिकाबाट भाैगाेलिक हिसाबले केही औषधी थप गरि स्वास्थ्य शाखाले उपलब्ध गराएको बताउनुभयो ।

वार्षिक कार्य प्रगति समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकमा सेवा लिनेको संख्या बढ्दो हुनु खुसीको कुरा भएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले रिब्दीकोट गाउँपालिकाकाे स्वास्थ्य संस्थाहरूप्रति दिनहुँ नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो ।वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रमका अध्यक्ष एवं रिब्दिकाेट गाउँपालिका सामाजिक विकास समितिका संयोजक सुनिल बस्यालले रिब्दीकोटका नागरिकलाई जटिल प्रकृतिका समस्या बाहेक अन्य समस्या लिएर अन्यत्र अस्पताल जान नपर्ने गरि स्वास्थ्य संस्थाले सेवा दिईरहेको बताउनुभयो । वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रममा पालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुखहरूले आआफ्नो शाखाको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *