रिब्दीकोट– जलेश्वर : चिनारी, विकास र सम्भावनाहरू

– रुद्रप्रसाद आचार्य

१. परिचय

रिब्दीकोट : नेपालको विभिन्न ठाउँहरुलाई त्यहाँका कोट, थुम, थोकबाट पनि नामाकरण गरिएको पाइन्छ । त्यस मध्ये पश्चिम नेपालको पाल्पा जिल्ला अन्तरगत रिब्दीकोट ५ साविकको कुसुमखोला गा.वि.स. वार्ड नं. ७ ( हाल रिब्दीकोट गाउँपालिकको वडा नं. ५ मा) पर्ने कुसुमखोला, ठिमुरे र पालुङ्ग मैनादीको संगम स्थलको रुपमा रहेको रिब्दीकोट पनि एक हो । रिब्दीकोटको बारेमा पाल्पा बाहिरका मानिसहरुलाई थाहा नहुन पनि सक्छ । रिब्दीकोट जलेश्वर महादेवको महिमा चल्दा धेरै जनालाई थाहा हुन सक्छ । अझ नेपालको राज्य विस्तार अभियान भन्दा अघिको इतिहासलाई पल्टायो भने नेपाल अघि राज्यमा विलय हुनुपूर्व चौविसे राज्य अन्र्तगत पाल्पाको सेनराज्य चर्चामा आउने गर्दछ । सेनवंशले चलाएको सेनकालीन पाल्पा राज्यको चकचकी त्यस बखतको सांस्कृतिक, धार्मिक, सामाजिक साथै राजनैतिक विकासहरु साथै चौधौं शताब्दीमा मुकुन्द सेनले पूर्वमा कोशी नदीदेखि पश्चिममा हरिद्धारसम्म विस्तार गरेको वृहत पाल्पा राज्यको राजधानीको रुपमा रहेको रिब्दीकोट हाम्रो सामु आउने गर्दछ । (दिवरुङ वि.स. २०७१ पेज ५)

मध्यकालको उत्तरार्द्धताका नागराजले स्थापना गरेको खसराज्यको विघटन पछि पन्ध्रौ शताब्दीको पूर्वाद्र्धमा आएर यस भेगमा विभिन्न स्थानीय प्रशासकहरुलको आफ्नै तरिकाको स–साना रियासतहरु मध्ये रिब्दीकोट पनि एक हो । ईश्वी सन् १४२९ मा धर्मपाल सेनले रिब्दीकोट नामक रियासत खडा गरी राज्य संचालन गरेका थिए (पाल्पा शैक्षिक दर्पण, वि.स. २०७२, पेज ५) । जुन रियासत पछि गएर पाल्पा राज्यको प्रख्यात भएको थियो । सेनवंशले राज्य संचालन गर्दाको सुरुताका राजधानीको रुपमा रहेको यस रिब्दीकोट मा मणिमुकुन्द सेनको जन्म पनि भएको हो भन्ने भनाई छ । यस ठाउँको ऐतिहासिक तथ्यहरु थाहा हुन शोधखोज र उत्खनन हुनु जरुरी छ ।

रिब्दीकोटको नामाकरण कसरी रह्यो भन्ने विषयमा नियाल्दा पाल्पा र पाल्पाको सेरोफेरोका धेरै जसो ठाउँहरुको नामाकरण मगर भाषामा भएको पाइन्छ । यो क्षेत्र पहिले मगराँत राज्य रहेको र वाह्र मगरात भित्र पर्ने भएकोले यस क्षेत्रका धेरै जसो ठाउँंहरुको नामाकरण मगर भाषामा भएको पाइन्छ । सेनकाल भन्दा पहिले नै मगराँत राज्य भएकाले मगर भाषाको निरन्तरता पछिसम्म भएको पाइन्छ । अहिले सम्म पनि पाल्पा र पाल्पाका सेरोफेराका ठाउँहरुको नाम मगरभाषामा रहि आएको छ । रिब्दीकोटको नामाकरण पनि मगरभाषामा भएको पाइन्छ । मगर भाषामा “रिप” भन्नाले सधै ओस रहने ठाउं, चिसमिरो जमिन भन्ने बुझिन्छ भने “डी” भन्नाले पानीको मूल भन्ने बुझिन्छ (थापा, वि.स. २०६६, पेज ४७५, ८४८) । सधै ओस रहने भू–भाग जहा पानीको मूल पनि रहेको छ, त्यस ठाउँको कोट भएकोले यस ठाउँको नामाकरण रिब्दीकोट रहन गएको देखिन्छ । त्यसवेला “रीप डी कोट” भनेर भनिने यस ठाउँलाई कालान्तरमा रिब्दीकोट हुन गएको हुनुपर्दछ । किनभने रिब्दीकोटको भौगोलिकतालाई हेर्दा उत्तर फर्केको भू–भागमा जो ओसिलो जमिन छ र त्यस ठाउँमा पानीका मूलहरु पनि रहेका छन् । जहाको पानी साविकका ७ वटा गा.वि.स.मा वितरण भएको छ । त्यस ठाउँमा कोट रहेको भन्ने बुझिन्छ । भाषागत नामाकरणलाई विश्लेषण गर्‍यौं भने सेनहरुले यस क्षेत्रमा राज्य संचालन गर्नु र यस ठाउँमा आफ्नो राजधानी बनाउनु अघि नै यस ठाउँमा मगर राजाहरुको कोट भएको हुनुपर्ने देखिन्छ । यस कोटमा कोटकिदेबि मन्दिर,भैरब मन्दिर,दक्षिणपट्टी मैदानदेबि थान,प्रतिक्षालय र राडर जडानकोलागि एक भवन रहेको छ।यसमा जाने पर्यटकहरुको लागि गाडि पार्किङ्ग स्थल छ ।

समुन्द्री सतहदेखि १८९३.५ मिटर उचाईमा (शैक्षिक दर्पण २०७२, पेज ३) रहेको यस रिब्दीकोट पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट हार्थोक—कुसुमखोला–बतासे सम्म १७ किलोमीटर यात्रा पार गरेर बतासे बजारमा (कुसुमखोला र पालुङ्गमैनादीको संगम स्थल, बजार) पुगेपछि त्यहाँबाट अगाडि लगभग ४ किलोमिटर गाडी वा पैदल यात्राबाट रिब्दीकोटमा पुगिन्छ । सिख्रिदैे गएको अग्लो डाँडा टुप्पामा पुगेपछि मठारिएको छ । रिब्दीकोट बाट चारै चौरास देख्न सकिन्छ । यस स्थानबाट एक्काइस जिल्ला देखिन सक्ने भन्ने भनाइ छ । यस ठाउँबाट रातमा गोरखपुर र नौतनवाको रेलको हेडलाइट पनि देख्न सकिन्छ भन्ने पनि गर्दछन् । यस ठाउँबाट सफा मौसम भएको अवस्थामा दक्षिण तर्फको समथर भू–भाग तराई, उत्तरतर्फ विहानीको सूर्यको किरणले चाँदीका थुप्रा झैं टल्केका हिमवत पर्वत श्रृंखलाहरु धवलागीरी, अन्नपूर्ण, माछापुच्छ्रे,मनास्लु,गणेश हिमाल, लमजुङ्ग,सिमिकोट सेटशिखर लगायत अन्य सानातिना हिमशिखरहरु सामुन्नेमा नै भए झैं देखिन्छ । रिब्दीकोटबाट उदाउदो सूर्य (SUNRISE) र अस्ताएको सूर्यको (SUNSET) स्वर्णिम आलोक देख्न सकिन्छ ।

जलेश्वर: रिब्दीकोटबाट केहि तल अर्थात समुन्द्री सतहबाट करिब १७२५ मिटर उचाईमा धार्मिक महिमा बोकेको प्रख्यात जलेश्वर महादेवको मन्दिर रहेको छ । यस मन्दिरमा विशेषश्रद्धाका साथ दर्शनको लागि सोमबारका दिन श्रद्धालुहरु जाने गर्दछन् र महाशिवरात्रीका दिन यहाँ श्रद्धालुहरुको ठुलो घुइँचो लाग्दछ । यसै मन्दिरमा सेतो प्रस्तरले वनेको शिव लिङ्ग सुन्दर आकर्षणको रुपमा रहेको छ । यस शिव लिङ्गलाई जलेश्वर महादेव भनि महिमा भएको हुनु पर्दछ । यस मन्दिरमा एउट घण्ट रहेको छ । यहाँ रहेको सत्तलको वगलमा पूर्व मोहोडा भएको शिखर शैलीमा बनेको मन्दिर छ । यस मन्दिर भित्र रहेको मूर्तिलाई जलेश्वर महादेव भनि आस्था एवम् विश्वासका साथ दर्शन गरेको पाइन्छ । यस मन्दिरमा विश्वको ५१ अखण्ड धुनी मध्ये १ धुनी रहेको छ । उक्त धुनीको हाल मन्दिरको रुपमा ब्यबस्थापन गरिएको छ । पुरानो धुनी रहेको स्थान मुनि करिब १५० बर्ष पुरानो तत्कालिन जोगिको अवशेषको रुपमा टाउको र हात फेला परेको छ ।यस मन्दिरको केही तल एउटा कुण्ड रहेको छ । त्यस कुण्डलाई जलेश्वर कुण्ड भनिन्छ । किम्वदन्ती अनुसार वालापूरी स्वामीले चिम्टा गाडेर भागिरथी नदिको पानी निकालेको भन्ने भनाई छ । वालापूरी स्वामीका चेला करमपुरीलाई इ.वी. सम्वत १९२४ वैशाख १२ गते श्री ३ महाराज जंग बहादुर राणले त्यस क्षेत्रको जग्गा फिर्ता दिएको सनतमा लेखिएको छ । उक्त मन्दिरमा बुद्धको मूर्तिमा मृगाशन गरी बसेको मूर्तिलाई नै मुख्य देवताका रुपमा पुजा गर्ने चलन रहेको छ । त्यसै स्थानमा बालापूरी स्वामीले खराउले ढुङ्गामा टेक्दा उक्त खराउको छाँप रहेको देखिन्छ ।

रिब्दीकोट गाउँपालिका अन्तर्गत वडा नं. ५ कुसुमखोलामा रहेको रिब्दीकोटको सेरोफेरोमा साविकको कुसुमखोला, ठिमुरे र पालुङ्ग मैनादी गा.वि.स. सहितको क्षेत्रफलमा जङ्गल रहेको (करिब ३०० हेक्टर) छ । यस रिब्दीकोट क्षेत्रको मुहानबाट कुसुमखोला लगायत अन्य ५ वटा साविकको गा.वि.स.मा स्वच्छ खानेपानी उपलब्ध भएको छ । करिब १५,०००जनसंख्या लाई खानेपानी उपलब्ध भएको छ । रिब्दीकोट वरिपरिको जङ्गलमा विभिन्न प्रकारका बोटविरुवा जडिवुटीको भण्डार रहेको छ । यस जंगलमा सदावहार वनस्पति पनि पाइन्छन् । यस जङ्गलमा पाइने वनसम्पदा अन्तरगत चांप, उत्तीस, मलायागिरी, सउर, सल्लो, पियाले, धार्ने, चिलाउनो, ओखर, चिउरी, वकैनो, काफल, लालीगुराँस (सेतो/रातो), दुधी, खरी, महुवा, विलाउने, रुदिलो, पाती, असुरो, धयाँरो, असुरो, चौतारो, ऐसलु, लोथसल्ला, वर,पिपल, पाँकुरी, लाँकुरी, टुनी, खल्लुक, साल, चिराइतो, सुनगाभा जस्ता विभिन्न प्रजातिका वोटविरुवा तथा करिब ३०० थरिका जडीवुटी रहेको विभिन्न जडीवुटी विदहरुको भनाइ रहेको छ । रिब्दीकोटको उत्तरपूर्वी जङ्गलमा सातपत्रे जंगल रहेको छ । यस क्षेत्रलाई पनि वनसम्पदाको दृष्टिकोणबाट गन्तव्य स्थल बनाउन सकिने देखिन्छ ।

२. “रिब्दीकोट” विकासका लागि भएका प्रयासहरु

रिब्दीकोटको चिनारीको लागि गाउँपालिकाको नामाकरण यसै बाट गरिएको छ । केन्द्र, प्रदेश, पुनः निर्माण प्राधिकरण, रिब्दीकोट गाउँपालिका तथा रिब्दीकोट क्षेत्र पर्यटन विकास समितको पहलमा भएको बिकासको लागि निम्न पहलहरु भएका छन् ।
क) प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमबाट जलेश्वर क्षेत्रमा बृक्षारोपण तथा रिब्दीकोट क्षेत्रमा झाडी सुधार
ख) पार्क (बोटानिकल गाडेन)निर्माणको लक्ष्य ।
ग) जलेश्वर क्षेत्रमा जडिबुटि रोपण ।
घ) बतासे देखि जलेश्वर – रिब्दीकोट क्षेत्र हुदै ठिमुरेसम्म बाटो बिस्तार र ग्राभेल ।
ङ) १ पोखरी निर्माण र १ पोखरी निर्माण योजना ।
च) चिया रोपण गरी त्यसको पकेट क्षेत्र बनाउने लक्ष्य रहेको ।
छ) जलेश्वर मन्दिर परिसरमा धुनि मन्दिर, शिवपार्वतीको मूर्ति, शिवलिङ्ग र त्रिशुलको स्थापना ।
ज) सत्तल तथा पुजारी घर निर्माण ।
झ) प्रतिक्षलय (२) निर्माण ।
ञ) पुरानो धुनिघर पुनः निर्माण हुदै ।
ट) रिब्दीकोटमा विद्युतको लाइन जडान ।
ठ) गर्गरे हुदै रिब्दीकोटसम्म लिफ्टिङ्ग खानेपानि योजना ।
ड) पुनः निर्माण प्राधिकरणको सहयोगमा रिब्दीकोटमा कोटकी देवी मन्दिरको निर्माण सम्पन्न भएको ।
ढ) विगत दुई बर्षदेखि रिब्दीकोट गा.पा. तथा रिब्दीकोट क्षेत्र पर्यटन विकास समितिको पहलमा शिवरात्रिको दिन पुजा तथा मेलाको आयोजना भइरहेको छ ।

जलेश्वर मन्दिर परिसरमा कुसुमखोलामा बसोबास गर्ने र भवानी .मा.वि. संग सम्बन्धित महानुभावहरुको पहलबाट गठन भएको जलेश्वर भवानी संगमको उद्देश्यहरु साविकको कुसुमखोला गा.वि.स. वार्ड नं. ७ स्थित जलेश्वर महादेव र सेन वंशीय राजाले राज्य गरेको कोट रिब्दीकोटको बारेमा ऐतिहासिक र पुरातात्विकको खोज तथा प्राकृतिक सम्पदाको संरक्षण, सम्वर्धन र सम्भावनाहरुको पहिचान गरी त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गराउने गरी क्रियाशील रहेको छ । त्यस्तै जलेश्वर एवम् त्यसको सीमावर्ती क्षेत्रमा समेत धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गराउने संगमको मूलभूत उद्देश्य रहेको छ । रिब्दीकोट, जलेश्वरको विकास संरक्षण र सम्बर्धन मुख्य उद्देश्य साथ जलेश्वर भवानी संगमको स्थापना भएको छ । यस संस्थाको पहल र प्रयासबाट यस क्षेत्रको विकासको लागि समयसमयमा अवलोकन, वनभोज कार्यक्रम, प्रचारप्रसार तथा केन्द्रीय बजेट पर्यटन मन्त्रालय मार्फत पार्न सहयोग गर्दै आएको छ । भवानी मा.वि.संग सम्बन्धित पूर्व विद्यार्थीहरु, शिक्षकहरु, समितिका पदाधिकारीहरु तथा शुभचिन्तकहरुको संयुक्त प्रयासबाट स्थापना भएको भवानी अल्मुनाई एसोसियसन, काठमाण्डौंले पनि भवानी मा.वि. को शैक्षिक, भौतिक पक्षमा सहयोगको साथै रिब्दीकोटलाई पर्यटकीय क्षेत्रको विकासको लागि त्यसका पूर्वाधारहरु तयार गर्न, पर्यटन मन्त्रालय मार्फत बजेट पार्न सफल भएको छ ।

रिब्दीकोटलाई पर्यटकीय, धार्मिक र प्राकृतिक रुपमा विकास गर्न कुसुमखोला र पालुङ्ग मैनादीको पहलमा “रिब्दीकोट क्षेत्र पर्यटन विकास केन्द्र” को स्थापना गरी पर्यटन मन्त्रालय मार्फत आएका बजेटहरुबाट प्रतिक्षालय रिब्दीकोट जाने बाटो ढुङ्गा छाप्ने, सत्तल, पूजारीघर, निर्माणकार्य सम्पन्न गरेको छ । त्यस संस्था मार्फत यस क्षेत्रको वन सम्पदाको संरक्षण गर्न जिल्ला वनकार्यालय पाल्पाको समन्वयमा जडीवुटी नर्सरी, वृक्षरोपण, लोधसल्ला वृक्षरोपाणका साथै करिब ३०० हेक्टरमा फैलिएको वन क्षेत्रर्लाइ सामुदायिक वन बनाई जि.व.का., पाल्पामा दर्ता गर्ने योजनामा रहेको छ । रिब्दीकोट क्षेत्रको वनको संरक्षण गरी पानीको मूललाई सुक्न नदिनको लागि साविकको केही वार्डहरुबाट वन हेरालु कर्मचारीले व्यवस्था गरिएको थियो । विभिन्न व्यक्तिहरु, पाल्पाका स्थानीय पत्रिकाहरु, गा.वि.स.को प्रोफाइल, स्रोत केन्द्रहरुको क्यालेन्डर, आदिमा रिब्दीकोट सम्बन्धि लेख, रचना, कविता, वुर्सर, सामाजिक संजालमा महत्व दिएर लेखेको पनि पाइन्छ । युवा तथा खेलकुद समूह कुसुमखोलाले कुसुम्दी बजारमा कुसुमखोलाको नक्सामा रिब्दीकोट पर्यटन क्षेत्रलाई महत्वका साथ उल्लेख गरिएको छ ।

२०५३/०५४ मा पुरातत्व विभागबाट एक टोली आई रिब्दीकोटको क्षेत्र अवलोकन गरि त्यसको उत्खनन गर्नुपर्ने भनेता पनि पछि त्यस कार्यालयबाट कुनै चासो नदेखाएको देखिन्छ ।यस क्षेत्रसंग सरोकार राख्ने महानुभावहरुबाट रिब्दीकोटको चिनारी स्वरुप आफ्ना व्यक्तिगत सवारी साधन तथा उद्योग व्यवसायको नाममा रिब्दीकोट र जलेश्वरलाई महत्वदिएर लेखिएको पाइन्छ ।

३. “रिब्दीकोट”का सम्भावनाहरु
यस रिब्दीकोट क्षेत्र विभिन्न पक्षहरुसंग सम्बन्धित गराई विकसित गर्दै लगेमा विविध सम्भावनाहरु रहेको पाइन्छ । जसमध्य केहीको संक्षपमा उल्लेख गर्न सान्दर्भिक ठान्दछु ।
क) पर्यटकीय स्थल/पाल्पाको नवीन गन्तव्य
“रिब्दीकोट”को प्रमुख सम्भावना पर्यटकीय क्षेत्रको रुपमा विकास गरी पाल्पाको नवीन गन्तव्य बनाउन सकिने रहेको छ । पहिलो पर्यटन क्षेत्रको विकासको लागि धार्मिक, सांस्कृतिक, ऐतिहासिक, (पुरातात्विक), प्राकृतिक वा मानवनिर्मित वस्तुहरुको दृष्टिले अरु ठाउँको भन्दा खास भिन्न विशेष पहिचान बोकेको ठाउँ हुन आवश्यक पर्दछ । यस क्षेत्रमा रिब्दीकोट, जलेश्वर महादेव मन्दिर, जलेश्वर कुण्ड, विभिन्न प्रकारका वनसम्पदा, वन्यजन्तु÷पंक्षीहरु भएको क्षेत्र हो । त्यस्तै दोस्रो पर्यटनको लागि यातायातको सुविधा, वस्ने ठाउँको अतिरिक्त अबलोकन गर्ने ठाउँ र बाटोमा आउने/जाने तथा घुम्ने कुराको सुरक्षाको राम्रो प्रवन्ध हुनुपर्दछ । त्यस अन्तरगत यो क्षेत्र तानसेन—हार्थोक—कुसुमखोला—सातमुरे ट्रयाक नजिकै र डुम्रे–लुलेभट्टी–वतासे बाटोले पनि छोएकोले बाटोको सुधार गरेमा यातायातबाट सुगम स्थल रहन सक्दछ । तेस्रो पर्यटकलाई आकर्षण गर्नको लागि त्यस क्षेत्रको विशेषताहरु बारे अवलोकन गर्ने इच्छा राख्ने मानिस समक्ष सूचना र संचार भएको हुनुपर्दछ । त्यसको लागि स्थानीय निकाय (वडा कार्यालय, गाउँपालिका÷ जी.वि.स.÷ विद्यालय) हरुबाट प्रचारप्रसार, सामाजिक संजालमा समावेश, विभिन्न होटल तथा पर्यटन केन्द्रमा पनि यस स्थलको विशेषताहरुलाई समावेश गर्न सकेमा पर्यटक समक्ष सूचना र संचार प्रवाह हुन सक्छ ।

ख) प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्धनबाट आयवृद्धि
रिब्दीकोट क्षेत्रमा खानेपानी र वनसम्पदा (काठ, दाउरा, जडीबुटी, चट्टान)को प्रचुर सम्भावना रहेको छ । नेपालको उच्च भेगमा पाइने जडिबुटि यहाँको जङ्गलमा पाइने हुनाले त्यसको प्रबर्धन गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका वन्यजन्तु र पन्छीहरु रहेका छन् । यस क्षेत्रलाई वन सम्पदाको संरक्षण गर्ने सामुदायिक वनको गठन साथै राष्ट्रिय रुपमा नै “रिब्दीकोट संरक्षित क्षेत्र” स्थापना गरी खानेपानीको मुहान संरक्षण, यस क्षेत्रमा भएका पशुपंक्षीको संरक्षण, जडीवुटीको संरक्षण र विस्तार गरी प्रशोधन तथा विक्रि वितरण गरी यस क्षेत्रका वासिन्दाहरुको आयमा वृद्धि गर्न सकिन्छ ।

ग) अध्ययन/अनुसन्धान केन्द्र
रिब्दीकोट क्षेत्रमा विभिन्न जैविक तथा भूगर्भिय सम्बन्धि विविधता भएकोले यस क्षेत्र जैविक/वानस्पतिक र भुगर्भ अध्ययनका पारखीहरुको अध्ययन÷अनुसन्धानको केन्द्र बनाउन सकिन्छ । त्यसका साथै यस रिब्दीकोटको समिपमा रहेका विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत कृषि/वन/भुगर्भ विज्ञान विषयहरु संकाय स्थापना गरेमा विद्यार्थीहरुको अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिने संभावना रहेको छ । त्यसका साथै स्थानीय पाठ्यक्रमका विषयबस्तु अन्तरगत रिब्दीकोट र यसमा पाइने धार्मिक, पर्यटकीय र प्राकृतिक सम्पदालाई विद्याको रुपमा समेट्न सकिन्छ ।

घ) संचार / अवलोकन केन्द्र
पाल्पा जिल्लाका अग्ला चुचुरहरु मध्ये रिब्दीकोट पनि पर्ने भएकोले यस क्षेत्रबाट एक्काइस जिल्ला देख्न सकिन्छ । ती एक्काइस जिल्लाका साथै अन्य क्षेत्रमा संचार हुने गरी एफ.एम. रेडियो प्रसारण केन्द्रको स्थापना साथै एउटा दृश्य अवलोकनको लागि भ्यू ९ख्ष्भध० टावर बनाउन सकेमा यसबाट धेरै ठाउँमा संचार तथा अवलोकनको केन्द्रको रुपमा स्थापित गर्न सकिन्छ । नेपाल सरकारको संघिय बजेट मध्यबाट नेपालका ३ स्थानहरु मध्य मौसमको अनुसन्धानको लागि राडर राख्न बजेट विनियोजन भइ काम सुचारु भएको छ ।

ङ) खेलकुद पर्यटन
पाल्पा जिल्लाको पश्चिम क्षेत्रमा रिब्दीकोटको समिपमा रहेका विद्यालयहरु मध्ये श्री नारायण मा.वि. ठिमुरे, श्री भवानी मा.वि., कुसुमखोला र श्री लक्ष्मी आधारभूत विद्यालय नयँंटोलामा रहेका खेलमैदानमा फुटवल, भलिवल, क्रिकेट तथा वास्केट बल, गल्फ लगायतका खेलको लागि प्रयाप्ट मैदानहरु रहेका छन् । यसको रुपमा विकास गरी रिब्दीकोटको चिनारी दिन सकिन्छ । अझ रिब्दीकोट नजिकै रहेको ठिमुरेको श्री नारायण मा.वि.को चउरलाई एउटा उत्कृष्ट “गल्फ खेल” खेल्ने फिल्डको रुपमा विकास गरी पर्यटकको आकर्षक केन्द्र बनाउन सकिने सम्भावना प्रसश्त छ ।

च) मौसम छल्ने स्थल
सुरम्य हावापानी भएको सुन्दर हिमाल देखिने रिब्दीकोट जहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुछ्रे, मनास्लु लगायतका हिमश्रृङ्खला देखिनुका साथै तानसेन, भैरवस्थान, रेसुङ्गा लगायत २१ जिल्लाको अवलोकन गर्न सकिन्छ । गर्मी मौसममा वुटवल, भैरहवा, नवलपरासी, कपिलवस्तुदेखि उत्तर भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा गर्मी छल्न भ्रमणमा निस्कने पर्यटकलाई “सैनामैनाबाट रिब्दीकोटसम्म” केवुलकार संचालन गरी त्यो खालको पूर्वाधार विकास गरेमा गर्मी मौसम छल्ने आरामदायी स्थल बनाउन सकिन्छ ।

४. निष्कर्ष

रिब्दीकोटलाई पर्यटकीय ऐतिहासिक, धार्मिक, सम्पदायुक्त क्षेत्रको रुपमा विकास गर्न रिब्दीकोट गाउँपालिकको महत्वपूर्ण भूमिका रहन जरुरी छ । प्रत्येक आर्थिक वर्षमा केही न केही बजेट छुट्टाएर एकिकृत रुपमा माथि देखिएका सम्भावनाहरुको पूर्वाधार तयारीको लागि अग्रसर हुन आवश्यक छ । त्यसका साथै यसका समीपमा रहेका विद्यालयहरुको माध्यमबाट प्रचार/प्रसार साथैका पिढीहरुमा यसको महत्वलाई हस्तान्तरण गर्नको लागि स्थानीय पाठ्यक्रममा एउटा अध्ययन विद्याको रुपमा राख्न जरूरी छ । स्थानीय रुपमा विद्यार्थीहरुलाई भ्रमण अवलोकनको क्षेत्र बनाउन जरुरी छ । यससँग सम्बन्धित संघ/संस्थाहरुले पर्यटन विकासको लागि विभिन्न मिडियाहरुमा सूचना केन्द्रहरुमा प्रचार/प्रसार, पर्यटन स्थलको निर्माण, पर्चा, नक्सा, वुर्सर/पुस्तकको प्रकाशन, होटल/लज निर्माण गरी विभिन्न सूचना प्रविधि मार्फत देश तथा विदेश प्रचारप्रसार गर्नुपर्दछ । कुसुमखोला, ठिमुरे र पालुङ्गमैनादी क्षेत्रसँग सम्बन्धित संस्थाहरुको पहलमा पर्यटन, यातायात, भू–संरक्षण तथा वन मन्त्रालय मार्फत केन्द्रिय बजेटहरु पहल गरी त्यस क्षेत्रको विकासको लागि जुट्न आवश्यक छ । नेपालको प्रख्यात भैरव मन्दिरको नजिकै रहेको स्थल भएकोले त्यहाँ आउने पर्यटक तथा श्रद्धालुहरलाई पनि गन्तव्यको स्थल बनाउन सकेमा यस क्षेत्रकै आयस्तरमा पनि वृद्धि गर्न सकिन्छ । यसका लागि दृढ सोच र योजना आवश्यक रहेको छ । पर्यटन विकासलाई सदरमुकाममा मात्र सांगुराउन खोज्यौं भने पर्यटकको बसाई छोट्टिन सक्दछ । पर्यटनका सम्भावित क्षेत्रहरुलाई उजागर गर्न सकियो भने पाल्पाले पनि पर्यटन विकासमा फड्को मार्न सक्दछ । सदरमुकामबाट यति छोटो दूरीमा रहेको ऐतिहासिक धार्मिक, सांस्कृतिक रुपमा प्रख्यात जलेश्वर महादेवलाई नविन पर्यटकीय केन्द्र बनाइनु पर्ने बेला आएको छ । जसले कल्पनालाई सत्यतामा परिवर्तन गर्नेछ भन्ने तथ्यमा दुईमत छैन ।

सन्दर्भ सामाग्रीहरु

  • दिवरुङ्ग राष्ट्रिय साप्ताहिक २०७१ (लुम्बिनी पर्यटन विशेष २०७१)
  • पाल्पा शैक्षिक दर्पण २०७२
  • कुसुम स्वर्ण महोत्सव २०६४
  • इ करुवामा लेख सेप्टेम्बर ११, २०१५
  • पाल्पा दर्पण २०५६
  • रिब्दीकोटको पर्यटन विकास केन्द्रमा रही विभिन्न समयमा कार्य गर्नुभएका बुद्धिजिजि तथा समाजसेविहरु श्री माधव प्र. आचार्य, श्री मेधराज आचार्य, श्री नारायण व. कुंवर, श्री रमेश आचार्यसंगका भेटवार्ता/छलफल




Leave a Reply

Your email address will not be published. Required fields are marked *