लुम्बिनी केबलकारमा एक महिना अवधिमा तीस हजार पर्यटक, ७ प्रतिशत भारतीय

रूपन्देही संम्वाददाता, लुम्बिनी प्रदेशकै पहिलो केबलकार लुम्बिनी केवलकारमा एक महिनाकाे अवधिमा करिब ३० हजार पर्यटकहरूले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी रहेकाे केवलकारमा स्थानीयको समेत लगानी रहेको छ। जेठ १५ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केवलकारकाे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गर्नुभएको थियो ।

एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेकाे र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा सञ्चालनकाे यस अवधिमा करिव ३० हजार जनाले यात्रा गर्न पुगेकाे लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जस मध्ये ८७.९४ प्रतिशत नेपाली पर्यटक, भारतीय र तेस्रो मुलुकका११ जना गरि ७.२५ प्रतिशत पर्यटकहरू रहेकाे लुम्बिनी केवलकार कम्पनीले जनाएको हाे ।

केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउँपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत, सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको बताउँदै कम्पनीले विशेषगरी जेष्ठ नागरिक, अपांगता भएकालाई पनि टिकटमा छुट दिएको बताएको छ ।

टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतीको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउँ सहितको संरचनाहरु रहेकाले पनि सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएकाे लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।

२-६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतह देखि करिब तीन हजार फिट उचाईमा रहेकाले त्यहाँको माैसम र हावापानी गर्मीमा शितल र जाडोमा न्यानो हुने भएकाले पनि आन्तरिक तथा भारतीय पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको हाे । टप स्टेशनमा एक अर्ब ५० करोडकाे लागतमा १५० कोठा, क्यासिनो, एक हजार क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल लगायतको पाँचतारे होटेल बन्ने प्रक्रियामा रहेकोले छिट्टै त्यो पनि सञ्चालन हुने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुराकानीमा बताउनुभयो ।

लुम्बिनी केबलकारकाे सञ्चालनले बुटवल पाल्पा लगायतका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य थपिएको बताउँद यसले यहाँकाे पर्यटकहरूको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले भन्नुभयो ।

लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेश राजधानी दाङ सरेको सट्टामा व्यवसायीक क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग र साथ हुनुपर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बताउनुभयो।

केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले कुराकानीमा जानकारी दिनुभयो ।

नेपालमा सञ्चालित ६ केबलकार मध्ये दोस्रो र लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि रू.७५० रुपैया तथा भारतीयका लागि रू.७५० भारु रहेको छ ।

केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुई बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिनेगरि सम्झौता भएकोले दुवै स्थानीयतहको दीर्घकालीन विकासमा यसले ठूलो योगदान पुर्‍याउने तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *