विपद्का घटनाबाट क्षति बेहाेरेका परिवारले नीजि आवास निर्माण गर्न अनुदान पाउने

तानसेन, विपद्का घटनाबाट क्षति बेहोरेका परिवारले निजी आवास निर्माण गर्न अनुदान पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानमा विपद्जन्य घटना बाढी, पहिरो, आगलागीबाट क्षति पुगेका ५७ घरपरिवारले निजी आवास निर्माण गर्न चार लाख अनुदान पाउने भएका हुन् ।

जिल्लाको निस्दी गाउँपालिका–३, का १९ घरपरिवारले निजी आवास निर्माण गर्न निवेदन दिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।विगत दुई वर्षअघि र यो वर्ष पहिरोले क्षति पुगेको   १९ घर परिवारको निजी आवास निर्माणका लागि चार लाख रूपैयाँ अनुदान पाउने उहाँले जानकारी दिनुभयो । यस्तै तानसेन नगरपालिका २५,रामपुर नगरपालिका ६,रिव्दीकोट गाउँपालिका ३ र बगनासकाली गाउँपालिका ४ घरपरिवारले पनि निजीआवास निर्माण गर्नका लागि अनुदान पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा विपद् प्रभावित निजीआवास पुनर्निर्माण तथा पुनस्थापनाअनुदान कार्यविधि २०७८अनुसार  पीडित परिवारको विवरण अनलाइन इन्ट्री गरिएको प्रशासनले जनाएको छ । उक्त कार्यविधि अनुसार चार किस्तामा विपद्बाट पीडित परिवारले चार लाख रुपियाँ अनुदान पाउने जिल्ला प्रशासन कार्यालय पाल्पा प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो ।प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार गाउँपालिका बाट १०,नगरपालिकाबाट १५ , प्रदेशबाट ३० प्रतिशत र संघीय सरकारबाट बाँकी रकम बेहोर्ने कार्यविधिमा उल्लेख भएको बताउनुभयो। प्रदेश सरकारले दिने अनुदान रकम प्राप्त भइसकेकोले अब अन्य निकायबाट रकम प्राप्त हुना साथ लाभग्राहीसँग सम्झौता गरेर निजी आवास निर्माणको काम अगाडि बढाउने प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

विपद्बबाट बसाई सर्नुपर्ने भएका र घरबारबिहीन हुने परिवारका लागि चार लाख रुपियाँ अनुदानले ठूलो राहत पुग्ने स्थानीयतहले बताएका छन् । यसअघि अनलाइनमा इन्ट्री नहुँदा पाल्पाका विपद् प्रभावित घरपरिवारले निजी आवासका लागि अनुदान पाउन सकेका थिएनन् ।

विपद् प्रभावित परिवारले निजी आवास बनाउन चाहेमा निवेदन दिएपछि राहत रकम पाउने तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो ।आवास निर्माणको अनुदान रकमबाट विपद्बबाट बिस्थापित हुने परिवारलाई ठूलो राहत पुग्नुका साथै उनीहरू सुरक्षित रुपमा पुनस्थापित हुन ठूलो  मद्दत पुग्ने उहाँले बताउनुभयो ।

यो वर्ष विपद्का घटनाबाट घरमा क्षति पुगेर बिस्थापित भएका माथागढी,पूर्वखोला,रम्भा,तिनाउ,रैनादेवी छहरा गाउँपालिकाका पीडित परिवारको अनलाइनमा विवरण प्रविष्टकरण इन्ट्री गर्ने कार्य सम्पन्न भएको कारितास नेपालका कार्यक्रम संयोजक हरिष कुँवरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *