विपद् व्यवस्थापनकाे बजेट वृद्धि गर्दै : तानसेन नगर सरकार

पाल्पा,तानसेन नगरपालिकाले जलबायु परिवर्तन कारण हुन सक्ने सम्भाव्य विपद् तथा जाेखिम व्यवस्थापनका गर्नका लागि आवश्यक बजेटलाई वृद्धि गर्दै लैजाने जनाएको छ ।नगरपालिकाले अघिल्लोआर्थिक वर्षको तुलनामा चालु आर्थिक २०८०/८१ मा दस लाख रुपैयाँ वृद्धि गरेको हाे । तानसेन नगरपालिकाको कुल जनसंख्या करिब ५५ हजार बढी रहेकोमा जसमध्ये अधिकांश नागरिक खेतीकिसानीमा आबद्ध रहेका छन् ।

पछिल्लो समय जलवायु परिवर्तनको असर कृषिक्षेत्रमा पनि देखिन थालेपछि जलवायूको असर व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले रकम वृद्धि गर्दै लैजाने काम नगरपालिकाले गरिरहेको छ। तर पनि यस विषयमा तानसेन नगरपालिकाले गर्दै आएको कामबाट स्थानीयवासीहरू खासै सन्तुष्ट भएको देखिदैन ।समयमा वर्षा नहुँदा समयमै बाली लगाउन नपाइने र जसले गर्दा उत्पादनमा कमि हुने समस्या बढेको छ, कृषकहरुको भनाइ छ ।

यस्तो समस्या न्यूनीकरणका लागि अनुकूलनका योजनामा चासो दिएर स्थानीय सरकार अगाडि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको कृषक सबिता भट्टराईको गुनासो रहेको छ ।तानसेन नगरपालिकाले भने जलबायु परिवर्तनका कारण तानसेन नगरवासीलाई पर्ने समस्या न्यूनीकरणका लागि समयमै आर्थिक व्यवस्थापन तथा जनचेतना जगाउने गतिविधि विस्तारै बढाउँदै लगेको जनाएको छ ।

आर्थिक वर्षकाे बजेटमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनका लागि मात्रै तीस लाख बजेट छुट्याएको तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।उहाँले विपद् व्यवस्थापन कोषमा तीस लाख र वातावरण संरक्षण कोषमा पाँच लाख गरी पैँतीस लाख बजेट विनियोजन गरेर काम भैरहेको तानसेन नगरपालिका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का कार्यक्रम गत वर्ष देखि नै निरन्तर हेर्दै आएको र बाढी,पहिरोले क्षति पुगेका घरहरूको अवस्था हेरेर तल्काल पाँच हजार देखि दश हजार सम्म राहत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।चालु आर्थिक वर्षमा पनि पन्ध्र जनाले नगरपालिकाबाट राहत लिइसकेको वरिष्ठ अधिकृत आचार्यले बताउनुभएको छ ।उहाँका अनुसार तानसेन नगरपालिकाले गत वर्ष मात्रै जलवायु परिवर्तन र विपद् व्यवस्थापनका लागि बीस लाख रूपैयाँ रकम छुट्टाएको थियो ।

जलवायु परिवर्तनबाट देखा पर्ने असर व्यवस्थापन र न्यूनीकरण गर्न नगरपालिकाले अनुकूलन हुने योजनाहरू ल्याउनुपर्ने माग नगरवासीको रहेको छ । तर जनाताको माग अनुसार नगरपालिकाले सहयोगी भएर काम गर्न सकेको छैन स्थानीयकाे गुनासो छ ।

त्यस्तै तानसेन नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन व्यक्ति एवं वरिष्ठ अधिकृत विष्णु पौडेलले जलवायु परिवर्तन देश भरकै समस्या रहेको हुँदा यसको निराकरणको लागि तानसेन नगरपालिका मात्र लागेर नहुँने बताउनुभयो । उहाँले सक्ने प्रयास नगरपालिकाले गरेको बताउदै तत्काल राहत र उद्दारका लागि बजेट व्यवस्थापन गरेको दावी समेत गर्नुभयो ।वरिष्ठ अधिकृत पाैडेलले नगरपालिकाले विपद् व्यवस्थापनसँग जोडेर बजेट ल्याए पनि जलवायु परिवर्तनको असर न्यूनिकरण र सामनाका लागि छुट्टै शीर्षकमा बजेट व्यवस्था गरेको छैन भन्दै उहाँले गत आर्थिक वर्ष विनियोजन भएको पैँतीस लाख रुपैयाँ रकमबाट चालु आर्थिक वर्षमा वृक्षरोपण, वातावरण सरसफाई, जनचेतना मूलक कार्यक्रम लगायत जलवायु परिवर्तन सम्बन्धित कार्यक्रम गर्ने योजना तानसेन नगरपालिकाको रहेको उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *