व्यवसायिक किवी खेतीले हराभरा पूर्वखाेलाकाे ढाेलीमारा

पाल्पा, पूर्वखोला गाउँपालिकाकाे जल्पा-२ ढोलीमारा,घाेर्लेखर्क यति बेला किवी खेतीले हराभरा भएको छ । सातवर्ष अघिसम्म बारीमा लगाएको मकै बाँदरबाट जोगाउन मुस्किल पर्ने ढोलीमाराका किसानकाे बारीमा अहिले किवी खेतीकै कारण अहिले हराभरा देख्न सकिन्छ । ढाेलीमारा घाेर्लेखर्कका किसान यतिबेला व्यावसायिक रुपमा किवी खेतीमा लागेपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवी खेतीले सफलता पाउन थाले पछि किसानहरू निकै खुशी छन् ।

यहाँका स्थानीय मिलेर सामुहिक रुपमा पच्चीस रोपनी जग्गाकाे क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिरहेका किसानले किवी खेती सफलता भएपछि खुशीहुदै यहाँकाे चिसो हावापानी रहेको कारण पनि याे सफलता मिलेको ढोलीमारा, घोर्लेखर्कका किसान बारीमा ५ हजार बोट किवी रहेका छन् । जहाँ लटरम्म किवी फलेको छ । यहाँका ढोलीमारा कबुलियत वन समूह र बेन्डाँडा कबुलियत वन समूहमा आवद्ध कृषकहरुले २०७३/०७४ बाट किवी खेती थालेका हुन् । यहाँका ६० घर परिवार समूहमा आवद्ध रहेका छन् । उनीहरुले सुरुमा ५/६ बोटबाट खेती सुरु गरेका थिए । त्यसबाट राम्रो उत्पादन हुन थालेपछि अहिले ५ हजार विरुवा लगाएका छन् । यहाँ ५ वर्षको लागि जग्गा भाडामा लिएर सामूूहिक खेती गरिएको छ ।

विस्तारै किवीले उत्पादन दिन थालेको बेण्डाँडा कबुलियत वन समूहका अध्यक्ष चित्रबहादुर कुंवरले बताउनुभयाे। उँहाका अनुसार गत वर्ष एक क्विन्टर किवी उत्पादन भएको थियो । यहाँ एलिसन र हेवार्ड प्रजातीको किवी लगाइएको छ । किवीका लागि यहाँको जमिन र हावा पानी उपयुक्त रहेकाले उत्पादन पनि राम्रै हुनेमा विश्वास लिइएको ढोलीमारा कबुलियत वन समूहका अध्यक्ष पहलसिं घर्ती मगरले बताउनुभयाे । किवी खेतीका लागि गोठको प्राङ्गारिक मल मात्र प्रयोग गरिने र अन्य रासायनीक मल तथा विषादी नहालिने भएका कारण यहाँ अग्रानिक किवी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन किवी स्थानीय बजारमै विक्री हुने गरेको छ । प्रतिकिलो तीन सय देखि पाँच सय सम्म मूल्य पर्ने गरेको जनाइएको छ ।

डिभिजन वन कार्यालय पाल्पा र पूर्वखोला गाउँपालिकाकाे सहयोगमा ढाेलीमाराका किसानले किवी खेती गरिरहेका छन् । डिभिजन वन कार्यालयले व्यवसायिक किवी खेतीका लागि विरुवा सहयोग गरेको हाे भने गाउँपालिकाले तार, जाली, ट्रस निर्माणमा सहयोग गरेको छ ।गाउँपालिकाले ढोलीमारालाई गत वर्ष किवी पकेट क्षेत्र समेत घोषणा गरेको थियो । केही दिन अघि डिभिजन वन कार्यालयले पत्रकार सहित टाेली ढाेलीमारा घाेर्लेखर्क पुगेर व्यवसायिक रूपमा किसानबाट भइरहेको किवी खेतीको अवलोकन समेत गरेको थियो ।

अवलोकनमा पुग्नुभएका डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले भन्नुभयो गरे के हुन्न र भन्ने उदाहरणलाई ढोलीमाराका किसानले देखाएको उहाँले बताउनुभयाे । उहाँले यसक्षेत्रमा बाँदरबाट हैरानी भएका किसानले परम्परागत खेती छोडेर व्यवसायिक किवी खेतीमा लागेर आयआर्जजनको राम्रो स्रोत बनाएको बताउनुभयाे । ‘हामीले व्यवसायिक रुपमा किवी खेती गर्न चाहाने किसानहरुलाई आवश्यक परेमा विरुवा उपलब्ध गराउने छौं।’ अधिकृत भट्टराईले भन्नुभयाे । व्यवसायिक किसानलाई विरुवा र रोप्नका लागि मल समेत डिभिजन वन कार्यालय पाल्पाबाट सहयोग गर्ने गरेको उहाँले पत्रकारहरूसंग कुराकानी गर्दै बताउनुभएकाे हाे ।

ढोलीमारा किवीको लागि उपयुक्त रहेकाले व्यवसायिक रुपमा लाग्न यहाँका किसानहरुलाई आग्रह गरेकोमा सोही अनुसारकाे व्यवसायिक खेतीमा ढाेलीमाराका किसानहरू लागेको बताउँदै डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले खुसी हुदै उहाँले परम्परागत मकै खेती गर्दै आएका बारीमा किवी लगाएर कृषकले आर्यआर्जन गर्न थालेको बताउनुभयाे। ‘विपन्न घर परिवारको लागि कबुलियती वन गतिलो आयआर्जनको माध्यम बन्ने गरेको छ ।’ रेञ्जर पोखरेलले भन्नुभयाे। ‘आर्थिक समृद्धिका लागि व्यवसायिक किवी खेतीले महत्वपूर्ण टेवा पुग्नेछ ।’ किवी र कबुलियति वन कार्यक्रमले यस क्षेत्रका स्थानीय किसाहरूको जीवनशैलीमा सुधार आउने भन्दै उहाँले बताउनुभयाे। यहाँका किसानले किवी खेतीसँगै घुसुवा खेती पनि लगाउँदै आएका छन् । उनीहरुले मौसम अनुसार खुर्सानी, टमाटर, बण्डा, गोपी लगायत तरकारी समेत लगाउने गरेकाे रेञ्जर पाेखरेलले बताउनुभयाे । यस खेतीबाट भएको आम्दानीेले जग्गाको भाडामा खर्च गर्ने गरेका उहाँले बताउनुभयो ।

के हो किवी ?

किवीलाई बहुउपयोगी फल मानिन्छ । किवीका विभिन्न ७६ प्रजाति छन् । एक हजार दुई सय फिटदेखि माथिको उचाइमा यसको खेती हुने गर्दछ । यसको बजार मूल्य प्रतिकिलो पाँच सयदेखि एक हजार दुई सय रुपैयाँसम्म पर्छ । विभिन्न बाह्र प्रकारकाे फलकाे स्वाद एकै फलमा पाइने किवी किवीकाे विरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ र रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार पचास वर्षसम्म राम्रो उत्पादन दिने बताइएको छ।

चीनबाट व्यवसायिक रूपमा उत्पादन सुरु भएको किवी अहिले विश्वभरका विभिन्न देशमा व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । किवीमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘ई’ पाइन्छ । किबी निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग विश्वभर बढेको छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन `सी´को कमी पूर्ति गर्ने अधिक्तम रुपमा खनिज तत्व पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *