शिक्षा विधेयक : यी गल्ती गरेमा हुन सक्छन् सेवाबाट बर्खास्त

काठमाडाैं, शिक्षकहरू मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने विद्यालय शिक्षा सम्बन्धी विधेयकले व्यवस्था गरेको छ । बुधबार संसद्मा‌ दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।बहुबिवाह गरेमा पनि शिक्षकलाई सेवाबाट हटाउन सकिने प्रबन्ध उल्लेख छ ।

यस्तै प्रश्नपत्रको गोपनीयता भंग गरे, परीक्षामा अमर्यादित काम गरेमा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा लापरबाही गरे पनि पदबाट बर्खास्त गर्न सकिने भनिएको छ ।राजनीतिक दल वा दलसँग आबद्ध संगठनका सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा समेत पदमुक्त हुने उल्लेख छ । बिनास्वीकृत ९० दिनभन्दा बढी अनुपस्थित भएमा पनि शिक्षक बर्खास्तमा पर्नेछन् ।

विधेयकको व्यवस्थाअनुसार समय पालना नगरे, आदेश पालना नगरे, पदीय मर्यादा पालना नभए, पठनपाठनमा लापरबाही गरे स्थानीय तहले शिक्षकलाई चेतावनी दिन सक्नेछ । चेतावनी दिँदासमेत सुधार नभए नसिहत दिन सक्ने व्यवस्था गरिएको छ ।अनुशासनहीन काम भए,अध्यापन कार्य जिम्मेवारी पूर्वक नगरे, निर्देशन पालना नगरे, अध्यापनमा ढिलासुस्ती र लापरबाही गरेमा पाँच वर्षसम्म तलब वृद्धि रोक्का र बढुवा रोक्का गर्न सकिने व्यवस्था गरिएको छ ।विद्यार्थीलाई शारीरिक वा मानसिकरुपमा दुर्व्यवहार गरेसमेत सोही कारबाही हुने विधेयकमा उल्लेख छ ।बिनास्वीकृत पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा पनि बढुवा र तलब वृद्धि रोक्का गर्न सकिने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *