शैक्षिक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाको शिक्षा शाखाको बार्षिक समिक्षा तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरको समग्र शैक्षिक अवस्था , विद्यालयको अवस्था , शैक्षिक गुणस्तर , समस्या र चुनौति लगाएतको विषयमा समिक्षा गरेको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको शैक्षिक सुधार र गुणस्तर वृद्धिका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षक विद्यालय शिक्षाको मेरुदण्ड भएको बताउँदै विद्यालयको शैक्षिक सुधार गर्ने पहिलो जिम्मेवारी शिक्षकको भएको औँल्याउनुभयो । थापाले शिक्षकको अध्ययपन शैलीमा विद्यालयको शैक्षिक स्तर निर्भर रहने बताउनुभयो । नगर प्रमुख थापाले विद्यालयमा प्राप्त स्रोत साधनको प्रयोग गरि हरेक विद्यालयको शैक्षिक गुणस्तरवृद्धि गर्न आग्रह गर्नुभयो । नगर प्रमुख थापाले नगरपालिकाले सञ्चालनमा ल्याएको बुक फ्रि फ्राईडे कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भएको छ । उहाँले विद्यालयमा प्राप्त स्रोत र विद्यार्थीको चहानाको आधारमा बुक फ्रि फ्राईडे कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । नगर प्रमुख थापाले नगरका हरेक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको भन्दै विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालने गरिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले समग्र नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि सबै संग समन्व्य गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले अन्य क्षेत्रको विकास भन्दा शैक्षिक क्षेत्रको विकास गर्न सके मात्र अन्य विकासले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले शैक्षिक विकासका लागि विद्यालय सुधारको योजना कार्यक्रम बनाएर जान आवश्यक रहेको बताउनुभयो ।

यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले नगरभित्रका विद्यालयको शैक्षिक सुधारका लागि अनुगमनको पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । यस्तै वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले विद्यालयमा सक्षम नेतृत्व र दक्ष जनशक्ति छनौट गर्नु पर्ने भन्दै हरेक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले विद्यालयमा विद्यार्थीको संख्या घट्नुको कारण बारे छलफल गर्नु पर्नेमा जोड दिनुभयो । वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले विद्यालय शैक्षिक सुधारका लागि कम विद्यार्थी भएका विद्यालय मर्ज गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले प्राविधिक धारमा संचालन भएका विद्यालय संकटमा रहेकोले यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि सुन्दर प्रसाद देवकोटाले नगर सरकारले लागु गरेको स्थानीय पाठ्यक्रमलाई परिस्कृत गर्दै लैजानु पर्ने बताउनु भएको छ । यस्तै गंगा माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि विद्यार्थीको अनुपातमा शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागिले सार्वजनिक शिक्षाको रुपान्तरणको लागि १९ बँुदे प्रतिबद्धा पत्रमा हस्ताक्षर समेत गरेका छन् । सहभागिले स्थानीय सरकारले सार्वजनिक शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड बनाई कार्यान्वय गर्ने , शिक्षक कर्मचारी , जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन प्रोत्सहान गर्ने , विद्यालय शिक्षामा आवद्ध हुन नसकेका बालबालिका पहिचान गरी विद्यालय सम्म ल्याउने , प्रभावकारी र जिम्मेवारी बोध अनुरुपको अनुगमनका लागि प्रतिबद्ध हुने , नर्स स्वास्थ्य सेवा सहितको बालिका मैत्री विद्यालयका रुपमा विद्यालयलाई रुपान्तरण गर्दै लैजाने ,विद्यालयको बार्षिक उत्सव लगायतका कार्यक्रम भड्किलो शैलीमा नगरी मौलिक कला संस्कृतिलाई प्रसय दिई गर्ने र असल संस्कारयुक्त शिक्षालाई व्यवहारमा लागु गर्ने लगाएतका प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शिक्षा शाखा प्रमुख विकल काफ्लेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा समितिका सदस्य र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *