समाजवादी शिक्षा नीति र नेपालको सन्दर्भ

gg

–गणेश ज्ञवाली

विषय प्रवेश :

शिक्षा त्यो औजार हो जसले हरेक व्यक्ति भित्र रहेको अन्तर्निहित क्षमताको प्रष्फुटन गराउँछ । शिक्षाले मानिसको बौद्धिक, शारीरिक, नैतिक, सामाजिक, आदि समग्र पक्षको विकास गराउन मद्दत गर्दछ । मानिस पशुभन्दा पृथक् छ र यसले जीवन र जगतप्रति दृष्टिकोण प्रकट गर्न सक्दछ । शिक्षाले ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्दछ । यो निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षाले मानिसको सोँच्ने क्षमतामा प्रगतिशील रूपान्तरण गराउँछ । साथै उसको जीवन जिउने संघर्षमा सहयोगीको भूमिका निर्वाह गर्दछ । शिक्षाले व्यक्तिलाई बदल्छ, संसारलाई परिवर्तन गर्दछ । शिक्षा मानिसको चेतना र उत्पादन क्षमता बृद्धि गर्ने साधन पनि हो । मानव समाजको विकासक्रमसँगै शिक्षासम्बन्धी सोच र मान्यता पनि बदलिँदै आएको छ ।

मानव समाजको विकासक्रममा पूँजीवादी व्यवस्था पछि समाजवादी व्यवस्था आउँछ । यी व्यवस्थाहरूको चरित्रमा गुणात्मक रूपमै फरकपन हुन्छ । व्यक्तिलाई प्रदान गरिने शिक्षा विद्यमान व्यवस्थाप्रति सहयोगी र बफादार समेत हुने भएकोले व्यवस्था परिवर्तनसगै शिक्षाको चरित्रमा पनि बदलाव आउँछ । पूँजीवाद व्यक्तिवादको पर्याय हो भने समाजवाद सामुहिकता र सामाजिक हितको पक्षधर हो । पूँजीवाद नाफा र शोषणमा टिकेको व्यवस्था हो । तसर्थ पूँजीवादमा शिक्षाले मानिसलाई बढीभन्दा बढी आत्मकेन्द्रित, नाफामुखी र जीवनसंघर्षमा अर्कालाई पछार्न सिकाउँछ । समाजवादमा ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मान्यता रहेको हुन्छ । हरेक व्यक्तिबाट ‘क्षमता अनुसार काम लिने र काम अनुसार दाम दिने’ व्यवस्था समाजवादमा हुन्छ । यसकारण समाजवादी व्यवस्थामा शिक्षाले सहकार्यात्मक सामुहिकतावादी र लोककल्याणकारी चरित्र ग्रहण गर्दछ । समाजवादी शिक्षामा व्यक्तिगत स्वार्थको बदलामा सामुहिक हित गर्ने शिक्षा सिकाइन्छ । समाजवादी राज्यव्यवस्था निर्माणको निम्ति समाजवादी शिक्षा र सोच आवश्यक हुन्छ । समाजवादी शिक्षाले नै समाजवादी ‘नवमानव’को निर्माण गरी समाजवाद निर्माणको अभियानलाई सहयोग गर्दछ ।

समाजवादी शिक्षाको सैद्धान्तिक मान्यता :

माक्र्स एंगेल्सले सन् १८४८ मा ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ प्रकाशन गरेपछि समाजवादी शिक्षाको बहस प्रारम्भ भयो । कम्युनिष्ट घोषणापत्रमा भनिएको छ, “कम्युनिष्टहरूले शिक्षादीक्षाको चरित्र बदल्न चाहेका हुन् र शासकवर्गको प्रभावबाट त्यसलाई मुक्त गर्न मात्र खोजेका हुन् ।” त्यस्तैगरी “सारा केटाकेटीहरूको निम्ति सार्वजनिक र निःशुल्क शिक्षा व्यवस्था । कारखानामा केटाकेटीहरूको श्रमको वर्तमान रूपमा उपयोगको अन्त्य । शिक्षा र भौतिक उत्पादनको संयोजन ।” भन्ने कुराको उल्लेख कम्युनिष्ट घोषणापत्रमा गरिएको छ । एंगेल्सद्वारा लिखित ‘साम्यवादका सिद्धान्तहरू’ नामक पुस्तिकामा उल्लेख गरिएको छ, “आमाबाट हेरचाहको आवश्यकता नरहने समयदेखि नै राजकीय संस्थाहरूमा र राज्यकै खर्चमा सबै केटाकेटीहरूको शिक्षादीक्षा । कारखानाको श्रमसित शिक्षादीक्षाको सहमेल ।” सोही पुस्तिकामा उल्लेख गरिएको छ,“शिक्षादीक्षाले तन्नेरी मानिसहरूलाई व्यवहारिक रूपमा सम्पूर्ण उत्पादन प्रणालीलाई छिटो बुझ्ने सम्भावना दिन्छ । ….शिक्षादीक्षाले उनीहरूलाई त्यस एकलकाँटेपनबाट मुक्त तुल्याउँछ जुन वर्तमान श्रम–विभाजनले प्रत्येक मानिसमाथि थोपरिदिएको हुन्छ । यसप्रकार साम्यवादी सिद्धान्त अनुसार संगठित भएको समाजले आफ्ना सदस्यहरूलाई बहुमुखी रूपमा विकसित आफ्ना क्षमताहरूको चौतर्फी उपयोगको सम्भावना प्रदान गर्ने छ ।” सारमा भन्दा माक्र्र्स एंगेल्सका यिनै वाक्यहरू भित्र समग्र समाजवादी शिक्षाको सारतत्त्व अन्तर्निहित रहेको छ ।

समाजवादी राज्यले सम्पूर्ण बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै शिक्षालाई उत्पादन श्रमसँग जोड्दछ । सार्वजनिक विद्यालयमा सबै बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिनुपर्छ र उनीहरूलाई कारखानामा श्रमिकका रूपमा काम गर्न प्रतिबन्ध लगाउनु पर्दछ । शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्नु पर्दछ । समाजवादी शिक्षाले श्रम र श्रमिकप्रति सम्मानभाव जगाउँछ । समाजवादमा काम नगर्नेलाई घृणा गरिन्छ र जसले काम गर्दैन उसले खान पनि पाउँदैन भन्ने मान्यता स्थापित गरिन्छ । समाजवादी शिक्षा लागु गर्न समाजवादी व्यवस्था नै चाहिन्छ । पूँजीवादले जनतालाई झुक्याउनको लागि समाजवादका केही कुराहरू अनुकरण गरेपनि सारमा उक्त शिक्षाले श्रमजीवी वर्गलाई दिग्भ्रमित पार्ने काम मात्र गर्दछ । जनताबाट सिक्ने, श्रमसँग जोडिने, व्यक्तिभित्र सामुहिकतावादी चरित्र निर्माण गर्ने, एकांगी शिक्षाको सट्टा बहुप्राविधिक शिक्षामा जोड दिने र मान्छेलाई बहुसंख्यक श्रमजीवी वर्गको हितको निम्ति संघर्ष गर्न सिकाउने शिक्षा नै समाजवादी शिक्षा हो । समाजवादी शिक्षाले हरेक व्यक्तिमा द्वन्द्वात्मक भौतिकवादी सही विश्व दृष्टिकोणको विकास गराउनु पर्दछ । उत्पादनको निम्ति संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगको सही आलोकमा शिक्षालाई अघि बढाउन सकेमा मात्र त्यो समाजवादी शिक्षा बन्न पुग्दछ । वुर्जुवाहरूले शिक्षाको वर्ग चरित्र हुँदैन; शिक्षा भनेको वर्ग, वर्ग संघर्ष र विचारभन्दा माथि उठेको हुन्छ भन्ने पाखण्डपूर्ण प्रचार गर्दछन् । यथार्र्थमा शिक्षाको पनि वर्गीय स्वरूप हुन्छ । पूँजीवादी शिक्षाले पूँजीपति वर्गको सेवा गर्दछ । समाजवादी शिक्षामा सर्वहारावर्गको राजनीति मुख्य कमाण्डमा रहन्छ । निरक्षरताको अन्धकारमा समाजवादको निर्माण हुन नसक्ने भएकोले समाजवादी शिक्षाले निरक्षरताको पूर्ण उन्मूलनका लागि साक्षरता अभियान चलाउनु जरूरी हुन्छ । यसले समाजमा विद्यमान हरेक खालका कुरीति, अन्धविश्वास र रूढीवादलाई समूल नष्ट गर्दै हरेक नागरिकमा वैज्ञानिक, प्रगतिशील एवं भौतिकवादी सोचको विकास गर्ने नीति लिन्छ । ‘पूँजी’ खण्ड–१ मा माक्र्सले लेख्नुभएको छ, “मानिसको सम्पूर्ण विकासका लागि शिक्षामा उत्पादक श्रम र व्यायामको तालमेल एउटा जरूरी शर्त हो । ” स्वस्थ मनसँगै स्वस्थ शरीर नभई समाजवादको निर्माण असम्भव भएकोले बौद्धिक र प्राविधिक ज्ञानसँगै शारीरिक शिक्षालाई पनि महत्त्वका साथ समावेश गरिनु पर्दछ । समाजवादी शिक्षाले समाजमा विद्यमान रैथाने सीप र प्रविधिको संरक्षण र आधुनिकीकरण गर्दै विज्ञान र सूचना प्रविधिका नवीनतम् आविष्कारहरूमा नगरिकहरूलाई दक्ष बनाउनु पर्दछ । यसका साथै हरेक प्रतिभाहरूलाई नवीनतम् आविष्कारमा प्रेरित गर्दै समग्र मानव समुदायको सेवामा लगनाउनु आवश्यक हुन्छ ।

समाजवादमा शिक्षाले मेसिन होइन मान्छे जन्माउछ । माक्र्सले भनेझैँ समाजवादको लक्ष्य भनेको सबैको खुला विकासमा प्रत्येकको खुला विकास निहित हुने व्यवस्था हो । यो एक यस्तो अर्थ व्यवस्थामा आधारित समाज हो जसले सामाजिक उत्पादक शक्तिको उच्चतम विकाससँगै मानव जातिको जतिसक्दो उच्च र समतापूर्ण विकास सुनिश्चित गर्नेछ । पूँजीवादी व्यवस्थामा विद्यालय र शिक्षा वुर्जुवा शासक वर्गको नियन्त्रणमा रहेको हुन्छ, उसले त्यो नियन्त्रण आफ्नो फाइदाको निम्ति प्रयोग गर्दछ । पूँजीवादले अज्ञानी, आज्ञाकारी र प्रश्न नगर्ने मान्छेको रूपमा कामदार वर्गलाई परिणत गर्ने शिक्षा प्रणाली अपनाउँछ । यसले बढीभन्दा बढी अतिरिक्त मूल्यको उत्पादन गर्नका लागि विद्यालयमा पढाउने शिक्षालाई केवल दक्ष नोकरहरू तालिम दिने साधनको रूपमा मान्दछ । समाजवादी शिक्षा नीतिले यी सबै परिस्थितिहरूलार्ई उल्ट्याउँछ । समाजवादमा शिक्षा सामाजिक संगठन र कल्याणको विषय बन्दछ । शिक्षालाई नियमित घरायसी र करेसाबारीको श्रमसँग जोड्नेदेखि लिएर उच्च वैज्ञानिक र प्राविधिक ज्ञानसम्म विस्तार गरिनु पर्दछ । समाजवादी शिक्षाले एउटा पूर्ण मानव निर्माण गर्नको निम्ति व्यक्तिको शारीरिक विकासलाई मानसिक विकाससँग जोड्ने काम गर्दछ । चौतर्फी विकसित र चौतर्फी प्रशिक्षित मानिसहरूको तयारी गर्नु समाजवादी शिक्षाको ध्येय हो । यसले अतितका शिक्षासम्बन्धी धरोहरहरूलाई पूर्ण इन्कार गर्दैन र गर्नु पनि हुँदैन । समाजका सारा मानिसहरूको व्यक्तिवादी सोचलाई सामुहिकतावादी मानसिकतामा बदल्ने समाजवादी समाजको आवश्यकता अनुरूप समाजवादी शिक्षा नीति अघि बढ्दछ ।

समाजवादी राष्ट्रका अनुभव, अभ्यास र नीति :

लेनिनको नेतृत्वमा सन् १९१७मा रुसमा (सोभियत संघ) सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्ति पछि समाजवादी शिक्षाको बहस र कार्यान्वयनको क्रम शुरु भयो । त्यसपछि चीन, कोरिया, क्युवा, भियतनाम आदि देशमा सम्पन्न भएका समाजवादी क्रान्तिले आफ्नो देशको विशिष्टतासहित समाजवादी शिक्षाको व्यवहारिक कार्यान्वयनलाई अघि बढाए । यो लेखमा उपर्युक्त देशका अनुभव, अभ्यास र नीतिहरूलाई संक्षिप्त चर्चा गरिने छ ।

पूर्व सोभियत संघ :

समाजवादको स्थापनासँग सोभियत संघमा शिक्षामा राज्यको नियन्त्रण कायम गरियो । जनसंख्याको ठूलो हिस्सा निरक्षर रहेको र निरक्षरताको अन्धकारमा समाजवादको निर्माण गर्नु असम्भव भएकोले व्यापक रूपमा “साक्षरले निरक्षरलाई पढाऊ” भन्ने साक्षरताको अभियान चलाइयो । यसका निम्ति उद्योग र कृषि फार्महरूमा सबै युवा, विद्यार्थी, शिक्षक एवं बौद्धिक व्यक्तित्वहरूलाई परिचालन गरियो । एक दशक भित्र सम्पूर्ण रुसभरी विद्युतीकरण सम्पन्न गर्ने गरी शैक्षिक र प्राविधिक जनशक्ति उत्पादनको तयारी गरियो । लेनिनको निर्देशनमा समाजवादी शिक्षाको मोडेल तयार गर्ने जिम्मेवारी विशेषगरी लुनाचास्र्की र नाजेज्दा क्रुप्सकायालाई प्रदान गरिएको थियो ।समाजवादी रुसका निम्ति क्रुप्सकायाको विशेष जोड बहुप्राविधिक शिक्षामा थियो । सोभियत रुसको संविधानमा शिक्षा अनिवार्य र निःशुल्क गराइयो । उच्च शिक्षालाई सर्वसुलभ बनाउदै मजदूर, किसानका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरियो । शिक्षामा सबैको पहुच स्थापित भयो, शिक्षा सर्वव्यापी भयो र मातृभाषामा शिक्षा दिने व्यवस्थाको सुरुवात गरियो । ठूलाठूला उद्योगको स्थापना गर्ने र कृषिको सामुहिकीकरण र यान्त्रिकीकरण गर्दै त्यसका निम्ति आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय र प्रशिक्षण केन्द्रहरू खोलिए । समाजवादी रुसले विकसित पूँजीवादी देश अमेरिकालाई समेत पछि पार्दै रकेट प्रक्षेपण प्रविधि, अन्तरिक्ष अन्वेषण र सो अनुसार जनशक्ति उत्पादनको अभियानलाई अघि बढाउने नीति तय गरेको थियो ।

सोभियत शिक्षाको दार्शनिक आधार माक्र्सवाद लेनिनवाद थियो । साम्यवादी विचारप्रति समर्पित रहने, समाजवादी मतृभूमिलाई माया गर्ने, श्रम र श्रमजीवी वर्गप्रति सम्मान गर्ने, समाजवादी कला र संस्कृतिको विकास गर्ने वैज्ञानिक र प्राविधिक विषयमा जोड दिने, अनिवार्य शारीरिक र सैनिक तालिम लागु गर्ने, समाजवादी व्यवस्थाप्रति प्रतिवद्ध इमान्दार र उच्च कम्युनिष्ट नैतिकतायुक्त नागरिक तयार गर्ने नै सोभियत शिक्षा पद्धतिको उद्देश्य थियो । सोभियत संघमा सामान्य शिक्षा, बहुप्राविधिक शिक्षा र व्यावसायिक शिक्षा गरी शिक्षालाई तीन भागमा वर्गीकरण गरिएको थियो । शिक्षा सम्पूर्ण नागरिकको अधिकारको विषय बन्यो । शिक्षामा महिलालाई पुरुषसरह समान अधिकार, आमा र बालकको हितमा राज्यको सुरक्षा, सुत्केरी भत्ता र पछि तलब सुविधा सहित विदाको व्यवस्था, शिशुशाला र बालोद्यानहरूको बृहद् बन्दोबस्त गर्ने कुरा संविधानमा उल्लेख गरियो । शिक्षामा राज्यको पूर्ण लगानी हुनुका साथै निजीकरण पूर्णत बन्द गरियो । सबैका निम्ति समान खालका विद्यालयहरू सञ्चालन गरियो । हरेक विद्यालयमा डाक्टर र नर्सको व्यवस्था गरी विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था कायम भयो । शारीरिक र बौद्धिक अपांगता भएका विद्यार्थीहरूको लागि आवासिय सुविधासहितको शिक्षा उपलब्ध गराइएको थियो । प्रतिभाशाली विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति सहितको उच्च शिक्षा अध्ययनको अवसर प्रदान गरिन्थ्यो । देशको आवश्यकता र मागको आधारमा मात्र उच्च शिक्षाको कोटा निर्धारण गरी प्रवेश परीक्षाको योग्यता क्रमका आधारमा उच्च शिक्षा दिइन्थ्यो र उच्च शिक्षा पढ्न नपाउनेहरूलाई आफ्नो रूचि र क्षमता अनुसारका व्यवसायहरू चयन गर्नका निम्ति प्रेरित गरिन्थ्यो । डाक्टर, इन्जिनियर, अनुसन्धानकर्ता एवं हरेक क्षेत्रका उच्च दक्षतायुक्त प्राविधिक जनशक्ति उत्पादन गर्दै, श्रम शिक्षा र चरित्र निर्माणमा जोड दिदै समाजवादी मूल्यमान्यता सहितको विश्वकै अग्रणी समाजवादी राष्ट्र निर्माण गर्न सोभियत शिक्षा प्रणाली सफल भएको थियो ।

जनवादी गणतन्त्र चीन :

माओत्सेतुङ्गको नेतृत्वमा सन् १९४९मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । क्रान्तिपश्चात् पुरानो शिक्षा प्रणालीलाई ध्वस्त पार्दै नयाँ शिक्षा प्रणाली स्थापित गरियो । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिन शुरु ग¥यो । श्रमिक जनताको बीचमा जाने, उनीहरूको आवश्यकता पहिचान गर्ने, जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति लिइयो । विशाल जनसंख्या भएको मुलुक, जुन लामो समयसम्म आन्तरिक सामन्तवादी शोषण र बाह्य साम्राज्यवादी दमनमा पिल्सिएको थियो, लाई समाजवादी मार्गमा डो¥याउने काम निकै नै चुनौतीपूर्ण रहेको थियो । राज्यले निरक्षरता उन्मूलन गर्दै मजदूर, किसान तथा अन्य कामदार जनतालाई राजनैतिक, वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गर्ने र समाजवादी शैक्षिक व्यवसायहरू विकास गरी सारा राष्ट्रको वैज्ञानिक एवं सांस्कृतिक स्तर उठाउने नीति लिइएको थियो । राज्यले समाजवादलाई सेवा गर्ने सबै क्षेत्रका विशेषज्ञहरूलाई तालिम दिने, बुद्धिजीवीहरूको संख्यालाई बढाउने र समाजवादी आधुनिकीकरणको परिस्थिति तयार गर्ने संवैधानिक व्यवस्था मिलाइयो । उच्च आदर्शहरू र नैतिकताका शिक्षा प्रचार गरेर समाजवादी सभ्यताको निर्माणलाई बलियो बनाउदै सार्वजनिक शिक्षा, अनुशासन र आचारसंहितालाई सूत्रबद्ध गर्ने नीतिगत व्यवस्था गरियो । समाजवादी मातृभूमि, जनता, श्रम, विज्ञान र समाजवाद प्रतिको पक्षधरता लिदै सामुहिकतावाद, अन्तर्राष्ट्रियतावाद, साम्यवाद एवं द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद बारे जनतालाई शिक्षित गर्ने र सामन्ती पूँजीवादी विचारहरूसँग संघर्ष गर्ने शैक्षिक नीति कायम गरियो । सन् १९५८ पछि चीनमा ‘महान् अग्रगामी छलाङ्ग’को समाजवादी नीति अघि सारियो । त्यो बेला माओले भन्नुभएको थियो, “क्रान्तिलाई पक्र र उत्पादन बृद्धि गर ।” चीनमा क्रान्तिकालमा नै ‘मीन–बान’ श्रेणीका स्कूलहरू थिए जसको अर्थ हुन्थ्यो स्थानीय उत्पादन एकाइद्वारा चलाइएका विद्यालय । यी विद्यालयहरूमा औपचारिक शिक्षा र उत्पादक श्रम दुबैलाई समान समय र महत्त्व दिइन्थ्यो । त्यो वेला चीनमा विद्यालय र उत्पादन स्थलबीचको पर्खाल ढालिनु पर्छ भन्ने शैक्षिक मान्यता विकसित भयो ।

सांस्कृतिक क्रान्तिकालमा ‘आंशिक काम, आंशिक अध्ययन’ सम्बन्धी विद्यालयहरूमा अधिक जोड दिइएको थियो । यस्तो विद्यालयले श्रमप्रति सम्मान गर्ने, समाजप्रति जिम्मेवार रहने र समाजवादी व्यवस्थाप्रति इमान्दार रहने उच्च नैतिकतायुक्त नागरिक तयार पार्न सघाउ पु¥याउँथ्यो । विद्यालयको अवधि छोटो हुनुपर्छ भन्ने मान्यता थियो । क्रान्तिकारी योद्धाहरूको जीवनीलाई पाठ्यक्रममा समावेश गरियो । माक्र्सवाद लेनिनवाद र माओत्सेतुङ्ग विचारधाराको अध्ययन अध्यापनलाई विशेष जोड दिइयो । सन् १९६६मा शिक्षा सम्बन्धि निर्देशन दिँदै माओले भन्नुभएको थियो, “विद्यार्थीको मुख्य काम पढ्नु हो । पढ्नुको साथै उनीहरूले औद्योगिक काम, कृषि र सैनिक विषय पनि सिक्नु पर्दछ ।” किताबी ज्ञानभन्दा शारीरिक श्रम र जनताबाट सिक्ने कुरामा बढी जोड दिइयो । समाजवादी देशका विद्यार्थीलाई आफ्नै पौरखले देश बनाउनु र आत्मनिर्भर हुनु गौरवपूर्ण काम हो भन्ने मान्यताले प्रशिक्षित गरियो । समाजवादी चीनले “उत्पादनका लागि संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग” भन्ने माओको मार्गदर्शनलाई शैक्षिक क्षेत्रमा मूलमन्त्र मानेर अघि बढ्यो । उद्योग, कृषि फारम र सिंगो समाजलाई नै कक्षाकोठा मान्नुपर्छ र तिनैबाट सिक्नुपर्छ भन्ने मान्यता अनुसार नै चीनको शिक्षानीति अघि बढेको थियो ।

शिक्षामा सिद्धान्त र व्यवहारलाई समायोजन गर्ने माओको चिन्तनलाई कार्यान्वयन गर्नका निम्ति चीनमा धेरैजसो प्राथमिक तथा माध्यमिक विद्यालयहरूले कारखानाहरू सञ्चालन गर्ने नीति लिइएको थियो । जन कम्युनहरूले पनि विभिन्न विद्यालयहरू सञ्चालन गरेका थिए । इन्जिनियरिङ्ग, प्रविधि, कृषि र स्वास्थ्य सेवामा प्रगति गर्ने शिक्षा नीति तय गरियो । राजनीति, गणित, साहित्य, एउटा विदेशी भाषा, भौतिक विज्ञान, रसायन विज्ञान, भूगोल, इतिहास, आधारभूत कृषि, शारीरिक प्रशिक्षण र क्रान्तिकारी संस्कृति गरी ११ वटा विषय क्षेत्रलाई पढाउने काम गरियो । आम ग्रामीण जनताको स्वास्थ्य सेवाका लागि देशैभरि “नाङ्गाखुट्टे डाक्टर”हरू परिचालन गरियो भने प्रौढ गरीव किसानहरूलाई “खाली खुट्टावान” शिक्षकका रूपमा कम्युनहरूमा पठाइयो । सारमा भन्दा सांस्कृतिक क्रान्तिकालमा तपसिल बमोजिमको शैक्षिक नीति अपनाइएको थियो । जसअनुसार,
– प्राथमिक शिक्षा देखि लिएर उच्च शिक्षासम्ममा समाजवादी चेतना र संस्कृतिले लैस भएका मजदूरहरू पैदा गर्ने ।
– व्यापक मात्रामा मजदूर र किसानहरूका केटाकेटीहरूलाई शिक्षा दिने ।
– पाठ्यक्रमको अवधि छोट्याउने ।
– पाठ्य सामग्रीहरूलाई व्यवहारिक काम र शारीरिक श्रमसित जोड्ने ।
– घोक्ने कुरामा जोड नदिई प्रबोधनद्वारा पढाउने ।
– सपुस्तकीय परीक्षा, त्यसले घोकन्ते पढाइको साटो ज्ञानको खोज र संयोजनमा जोड दिन्छ ।
– जीवन्त अध्ययन र माओ विचारधाराको प्रयोग ।
तर सन् १९७६मा माओको निधनपश्चात् चीनीया शिक्षा नीति समाजवादी मान्यताबाट अलिकति बिचलित हुँदै पूँजीवादी मार्गतर्फ अघि बढेको प्रष्ट अनुभूत हुन्छ ।

क्युवा :

फिडेल क्यास्त्रो र चे ग्वेभाराको नेतृत्वमा सन् १९५९मा क्युवामा समाजवादी क्रान्ति सम्पन्न भयो । क्युवाले आफ्नो शैक्षिक र सांस्कृतिक नीतिको आधार विज्ञान र प्रविधिमा भएको प्रगति, माक्र्सवाद लेनिनवाद र जोसेमार्र्टीको सिद्धान्त तथा सार्वभौम एवं क्युवाली प्रगतिशील शैक्षिक परम्परालाई बनायो । शिक्षा राज्यको दायित्व हो, यो अनिवार्य र निःशुल्क हुन्छ, राज्यले विद्यार्थीहरूलाई व्यापक छात्रवृत्तिको व्यवस्था गर्दै मजदूरहरूलाई उच्चस्तरको ज्ञान, सीप हासिल गर्न चौतर्फी अवसर दिनुपर्छ भन्ने संवैधानिक व्यवस्था गरियो । वैज्ञानिक र प्राविधिक अनुसन्धान ,समाजवादी मूल्यको विपरित नजानेगरी कला सिर्जनाको स्वतन्त्रता, शारीरिक शिक्षा, खेलकूद र सैनिक अभ्यास तथा नागरिकहरूको आन्तरिक विकास गर्ने शिक्षा नीतिको तय गरियो । सबै तहको शिक्षाको लागि विद्यालय अर्धआवासीय र पूर्ण आवासीय विद्यालयहरूको निःशुल्क व्यवस्था भयो । प्रौढ शिक्षा कार्यक्रम र साक्षरता अभियानलाई विशेष महत्त्वका साथ अघि बढाइयो । क्युवाको समाजवादी शिक्षाको अभियान चे ग्वेभाराको ‘नयाँ मान्छे’ निर्माणको सपना सहित अघि बढेको थियो । चे ग्वेभाराका अनुसार समाजवादी ‘नयाँ मान्छे’ निर्माण गर्नका निम्ति सम्पूर्ण समाज नै ‘बृहद् विद्यालय’ बन्नु पर्दछ ।

समाजवादी मान्यता अनुरुप धर्म र धनीहरूको सेवा गर्ने निजी विद्यालयहरूलाई सरकारीकरण गरी सार्वजनिक शिक्षाको एकल अभियान अघि बढाइयो । निरक्षरता उन्मूलन गर्नको लागि लाखौँ ‘साक्षरता शिक्षक’ र विदाको समयमा स्वयम्सेवी युवाहरूलाई परिचालन गरियोे । ‘कामदार किसान’ साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । क्युवाको साक्षरता कार्यक्रम संसारभरकै लागि अनुकरणीय मानिन्छ र यसलाई युनेस्कोले ‘महान् लोकप्रीय साँस्कृतिक क्रान्ति’ मानेको थियो । क्युवाको शिक्षा प्रणाली पढाइ, काम र सैनिक तालिमको एकीकृत स्वरूप हो । शिक्षालाई विद्यालय र विश्वविद्यालय तहबाटै उत्पादन कार्य र समाजसँग जोडियो । क्रान्तिका शुरु वर्ष देखि नै ‘गाउँले शिक्षा’ कार्यक्रम लागू गर्दै, शिक्षक र विद्यार्थीलाई कृषिसँग जोड्दै, ‘कर्मथलो शिक्षा’मा जोड दिइयो । सोभियत समाजवादको पतन पछि क्युवा अप्ठेरो परिस्थितिबाट गुज्रिएको बेला आत्मनिर्भरताको लागि स्थानीय पाठ्यक्रमलाई जोड दिदै कृषि स्कूलहरू खोलिएका थिए । क्युवामा क्रान्ति लगत्तै प्राविधिक र व्यावसायिक शिक्षाका केन्द्रहरू खोलियो र समाजवाद निर्माणको निम्ति पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिइयो । सन् १९७० मा सक्षम र प्रतिबद्ध शिक्षकहरू उत्पादन गर्नको निम्ति शैक्षिक केन्द्रहरू स्थापना गरिएको थियो । शिक्षा विकासको नेतृत्व कर्मचारीतन्त्र र गैरसरकारी क्षेत्रले नभई राजनैतिक (कम्युनिष्ट) पार्टीले गर्नुपर्छ भन्ने मान्यता राखियो । अनुसन्धानलाई थप जोड दिदै शिक्षा प्रणालीलाई थप परिस्कृत बनाउँदै लागियो । क्युवाको मेडिसिन शिक्षा र डाक्टरहरू संसारभरमै उत्कृष्ट मानिन्छन् । क्युवाले कुल बजेटको २३ प्रतिशत शिक्षामा लगानी गरेको छ । क्युवामा माध्यमिक तहसम्मको आधारभूत शिक्षालाई अनिवार्य गरिएको छ तर विश्वविद्यालयमा भर्ना हुन कडा प्रवेश परीक्षाको सामना गर्नु पर्छ । विश्व विद्यालय शिक्षामा प्रवेश गर्न नपाउनेहरू व्यावसायिक र प्राविधिक शिक्षा तर्फ लाग्दछन् । क्युवामा विद्यार्थीहरूलाई सानै उमेरदेखि समाजवादी मूल्य, विचार, चरित्र र व्यवहारहरू सिकाउने काम गरिन्छ । प्राथमिक र माध्यमिक तहका पाठ्यक्रमहरू कडा परिश्रम, आत्म अनुशासन, राष्ट्रभक्ति जस्ता सिद्धान्तमा आधारित छन् । विद्यालयमा स्वतन्त्रता र अन्तर्राष्ट्रिय भाइचारा जस्ता मूल्यहरू सिकाइन्छन् । विद्यालयहरू दण्डरहित छन् र व्यवस्थापनमा अभिभावकको सहभागिता अनिवार्य छ । निष्कर्षमा भन्नु पर्दा यहाँको निःशुल्क शिक्षा, गुणस्तरीय प्राविधिक शिक्षामा उत्कृष्टता, पेशाप्रति सन्तुष्ट र समर्पित शिक्षक, प्रभावकारी अनुगमन प्रणाली तथा समाजवादी भविष्यको स्वर्णिम सपनाले क्युवाको शिक्षा प्रणालीलाई उत्कृष्ट तुल्याएको छ ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया :

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको समाजवादी शिक्षा नीतिका मुख्य आर्किटेक्ट किम इल सुंग हुन् । माक्र्सवाद लेनिनवाद र जुछे विचारधाराको मार्गदर्शनमा कोरियाको शिक्षा प्रणालीले आकार लिएको छ । किम इल सुंगका अनुसार वर्गीय शिक्षा नै कम्युनिष्ट शिक्षाको मुख्य उद्देश्य हुनुपर्दछ । उहाँले भन्नुभएको छ, “एक कम्युनिष्टले प्रकृति र समाजको साथै साम्यवादी विचार बारे पनि ज्ञान राख्नु पर्दछ । ” कोरियामा समाजवादी व्यवस्थालाई अघि बढाउनका निम्ति तीन क्रान्तिहरू; विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र साँस्कृतिक क्रान्तिलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ । समाजवादी शिक्षाको आधारभूत सिद्धान्त भनेको मानिसलाई क्रान्तिकारी, कामदार र कम्युनिष्ट बनाउनु हो । समाजवादी शिक्षाले जनताको दिमागमा लामो समयदेखि रहिआएको पुरातन र पश्चगामी विचारका अवशेषहरूलाई पूर्णरूपमा निर्मूल गर्नु पर्दछ । समाजवादी शिक्षाले हरेक व्यक्तिको स्वस्थ शरीर र स्वस्थ मष्तिष्क निर्माण गर्नु पर्दछ ।साथै हरेक व्यक्तिमा प्रकृति, समाज र आधुनिक प्रविधिको गहन ज्ञानले भरिपूर्ण बनाउन सक्नुपर्छ समाजवादी शिक्षाले । शिक्षालाई क्रान्तिकारी व्यवहारसँग समन्वय गरिनुपर्दछ । राजनैतिक र विचारधारात्मक शिक्षा, वैज्ञानिक र प्राविधिक शिक्षा तथा शारीरिक शिक्षा नै कोरियाली समाजवादी शिक्षाका मुख्य विषयवस्तुहरू हुन् । अन्वेषणात्मक शिक्षण विधि, सैद्धान्तिक शिक्षाको उत्पादक श्रम र प्रयोगात्मक तालिमसँगको समन्वय ,सामाजिक शिक्षा र विद्यालयको एकीकरण एवं पूर्व विद्यालय, विद्यालय र प्रौढ शिक्षाको निरन्तरता आदिले यहाँको समाजवादी शैक्षिकविधिको प्रतिनिधित्व गर्दछन् । बौद्धिकहरूलाई मजदूर बनाउने र मजदूरको बौद्धिकीकरण गर्नु यहाँको शिक्षाको मुख्य विशेषता हो । नारा नै छ, “पार्टी, जनता र सैनिकले अध्ययन गर्नै पर्दछ ।” समग्र राष्ट्रभरी नै कम्तीमा पनि दैनिक २ घण्टाको पठन संस्कृतिको विकास गरिएको छ ।
सर्वव्यापी अनिवार्य शिक्षा, सर्वव्यापी निःशुल्क शिक्षा, ‘काम गर्दै पढ्दै’ भन्ने पद्धति यहाँको शिक्षाका विशेषता हुन् । यहाँ ११ वर्षे अनिवार्य विद्यालय शिक्षा लागू छ । शारीरिक र मानसिक रूपमा असक्तहरूका निम्ति आवासीय सुविधा सहित विशेष विद्यालयहरूको व्यवस्था छ । विद्यालय शिक्षालाई प्राथमिक र माध्यमिक गरी दुई भागमा बाँडिएको छ । २ वर्षे किन्डर गार्डेन, ४ वर्षे प्राथमिक विद्यालय र ६ वर्षे माध्यमिक विद्यालयको व्यवस्था गरिएको छ । विश्वविद्यालयमा भर्ना हुनको निम्ति अनिवार्य शैक्षिक सेवा गरेको हुनु पर्ने तथा कामको अनुभव भएको सिफारिस पत्रसमेत अनिवार्य गरिएको छ । यहाँ बच्चाहरूको क्रियाकलापको आधारमा उनीहरूको रूचि र अन्तर्निहित क्षमता पत्ता लगाई सोही आधारमा व्यावसायिक र माथिल्लो शिक्षा प्रदान गर्ने नीति लिइएको छ । शिक्षामा निजीकरण पूर्णतः बन्द गरिएको छ । शिक्षा प्रणालीमा बहुप्राविधिक शिक्षाका सिद्धान्तहरू प्रयोग गरिएको छ, श्रम अनिवार्य र सम्मानित छ । अध्ययनको क्रान्तिकारी संस्कृति विकास गर्दै युवा पुस्तालाई समाजवाद निर्माणको उद्देश्यसहित प्रशिक्षित गर्नु, सर्वहारा अन्तर्राष्ट्रिवादी भावनाको विकास गर्नु, काम र अध्ययनलाई सँगसँगै लैजानु, कम्तीमा पनि एउटा विदेशी भाषामा विशेषज्ञता हासिल गराउनु, आफ्नो विशिष्टताको क्षेत्रमा पूर्ण ज्ञान हासिल गराउनु र समाजवादी मूल्यमान्यतासहितको पूर्ण नागरिक तयार गर्नु प्र.ज.ग. कोरियाली शिक्षाको मुख्य उद्देश्य हो । शिक्षकको मुख्य दायित्व भनेको विद्यार्थीलाई विद्यालयमा राम्ररी पढाउनु हो । विद्यालय बाहिरका सामाजिक र अतिरिक्त क्रियाकलापमा निर्देशित गर्नु पनि शिक्षकको मुख्य काम भित्र पर्दछ । समाजवादी क्रान्तिकारी गुण नभएका शिक्षकहरूले समाजवादी चेतनाका विद्यार्थीहरू उत्पादन गर्न सक्दैनन् तसर्थ हरेक शिक्षकहरूले आफुलाई समाजवादी मूल्यमान्यतामा पोख्त बनाउनु पर्छ भन्ने मान्यता पनि यहाँ स्थापित छ । समग्रमा भन्दा समाजवादी चेतनाले युक्त; प्राविधिक रूपमा दक्ष, शारीरिक रूपमा स्वस्थ र नैतिकवान नागरिकहरू प्रशिक्षित गर्दै सम्पूर्ण कोरियाली समाजलाई बुद्धिजीवी बनाउँदै समृद्ध समाजवादी राष्ट्र निर्माण गर्ने ध्येयका साथ यहाँको शिक्षानीति अघि बढेको छ ।

नेपालको सन्दर्भ :

वर्तमान नेपाल समाजवादी राष्ट्र होइन । संविधानमा लेखिए बमोजिम लोकतान्त्रिक गणतन्त्रात्मक र समाजवाद उन्मुख राष्ट्र भनिए पनि व्यवहारमा यहाँको राज्यसत्ताको चरित्र दलाल नोकरशाही पूँजीवादी नै छ । यसका साथै नव औपनिवेशिक उत्पीडन र प्रचुर मात्रामा सामन्तवादी अवशेषहरू वाँकी रहेका छन् नेपाली राज्यसत्तामा । रूपमा केही हदसम्म अग्रगामी परिपाटी तर सारमा पुरानै प्रतिक्रियावादी मूल्य र संस्कृतिको जकड । रूप र सारको अन्तर्विरोधबाट नेपाल चलिरहेको छ । यसले यहाँको शिक्षा प्रणालीलाई पनि प्रभावित पारिराखेको छ । आजसम्म पनि वि.सं.२०२८ सालकै शिक्षा ऐन चालु छ । शिक्षामा व्यापक निजीकरण कायम छ र अझै बढ्दो क्रममा छ । सार्वजनिक शिक्षा नाम मात्रको छ र त्यो पनि खस्कदो क्रममा छ । संविधानमा नीतिगत रूपमा अग्रगामी प्रावधानहरू भएपनि शैक्षिक माफिया र दलालहरूसँग ठूलै संघर्ष नगरी नेपालको शिक्षा प्रणालीलाई समाजवादउन्मुख मार्गमा अघि बढाउन सकिदैन ।

शिक्षासम्बन्धी संवैधानिक र नीतिगत व्यवस्था :

वर्तमान नेपालको संविधानको प्रस्तावनामा “…….लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न…..” भन्ने वाक्यांश उल्लेख गरिएको छ । संविधानको धारा ५०(३) को निर्देशक सिद्धान्त अन्तर्गत “सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत् उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ ।” भनिएको छ । यस अनुसार सैद्धान्तिक रूपमा नेपाल एउटा समाजवाद उन्मुख देश हो भनी मान्न सकिन्छ । संविधानको धारा ३१ मा शिक्षासम्बन्धी पाँचवटा हकहरू व्यवस्था गरिएका छन् । जसअनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने, अपांग र विपन्नहरूलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षाको हक हुने, दृष्टिविहीन, वहिरा आदिलाई ब्रेल लिपी तथा सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुने तथा हरेक नेपाली समुदायलाई मातृभाषामा शिक्षा प्राप्त गर्ने हक हुने व्यवस्था गरिएको छ । त्यस्तै गरी धारा ४०(२) अनुसार दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानून बमोजिम विशेष व्यवस्था गरिने छ भनिएको छ । यिनै संवैधानिक व्यवस्थाहरूलाई कार्यान्वयनमा लैजाने उद्देश्यमा सहयोगी हुनेगरी अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ समेत जारी गरिसकिएको छ ।

नेपालमा समाजवादी शिक्षा कस्तो हुने ?

पूर्व सोभियत संघ, चीन, क्युवा र उत्तर कोरियामा जस्तो कम्युनिष्ट पार्र्टीको एकल सत्ता नभएको हुनाले नेपाली समाजवादी शिक्षाको मोडेल ती देशहरूभन्दा फरक हुनेछ । र त्यहाँको मोडेल हुबहु यहाँ लागू गर्न पनि सम्भव छैन । नेपालको समाजवाद लोकतान्त्रिक मूल्य र प्रतिस्पर्धामा आधारित समाजवाद हो । यसर्थ शिक्षा नीति पनि सोही अनुसार प्रभावित हुन्छ । शिक्षा देश विकाससँग जोडिनु पर्दछ । यहाँको शिक्षाले मानिसलाई समुदायमुखी, उत्पादनशील, राष्ट्रप्रेमी, श्रमप्रेमी बनाउँदै राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने तथा साम्राज्यवादी औपनिवेशिक उत्पीडन विरुद्ध संघर्ष गर्ने नागरिक तयार गर्नु पर्दछ । उत्पीडित वर्ग, क्षेत्र, लिंग र समुदायका हरेक व्यक्तिको गुणस्तरीय शिक्षामा समतामूलक पहुँच हुनु पर्दछ । शिक्षामा भएको चरम व्यापारीकरण एवं निजीकरण पूर्णरूपमा बन्द हुनु अनिवार्य छ । माध्यमिक तहसम्म वास्तविक अर्थको निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्दछ भने इन्जिनियरिङ्ग, चिकित्साशास्त्र जस्ता प्राविधिक शिक्षामा भएको चरम व्यापारीकरण बन्द गरी देशलाई आवश्यक सो क्षेत्रको कोटा निर्धारण गर्दै प्रतिभाशाली विद्यार्थीहरूलाई छात्रवृत्ति सहित अध्ययनको अवसर प्रदान गरिनुपर्छ । निजी र सामुदायिक दुई खालका शिक्षाको अन्त्य नगरी समाजवादी समाजतर्फ उन्मुख हुन सकिदैन । उच्च शिक्षाको नाममा पूँजी र विद्यार्थीहरू विदेशिने बढ्दो क्रमलाई तत्काल रोक्नु पर्दछ । हाम्रो देशको पाठ्यक्रम र शिक्षा नीतिले साम्राज्यवादी राष्ट्रका निम्ति अघोषित रूपमा जनशक्ति उत्पादन गरिरहेको छ । यो कुरा अन्त्य हुनुपर्छ । साथै देशको आवश्यकता अनुसारका जनशक्तिहरू उत्पादनको नीति लिनु पर्दछ । समाजवादी शिक्षाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोगी हुने गरी रोजगारीमूलक शिक्षा प्रदान गर्नु पर्दछ । स्वास्थ्य र शिक्षाक्षेत्र नाफा कमाउने क्षेत्र हुनु हुँदैन । जीवनोपयोगी सीप एवं व्यवहारिक शिक्षालाई उच्च प्राथमिकता दिदै औपचारिक शिक्षासँग अनौपचारिक र अनियमित शिक्षालाई जोड्नु आवश्यक छ । समुदायमा विद्यमान रैथाने सीप र प्रविधिलाई संरक्षण गर्ने, आधुनिकीकरण गर्ने र विस्तार गर्ने नीति लिनु पर्दछ । समाजवादी शिक्षाले विविधताको सम्मान गर्नुपर्छ र बहुभाषिक नीति अपनाउनु पर्छ । समालोचनात्मक सोच भएको, तार्किक, भ्रष्टाचार विरोधी, अन्याय अत्याचार विरुद्ध संघर्षशील नागरिक तयार गर्नु समाजवादी शिक्षाको उद्देश्य हुनुपर्दछ । शिक्षाले स्थानीय र विश्वव्यापी ज्ञानलाई जोड्नु पर्छ । निजी र सामुदायिक दुई खालका शिक्षाको अन्त्य नगरी समाजवादी व्यवस्थातर्फ उन्मुख हुन संभव छैन ।

नेपालको सन्दर्भमा माक्र्सवादी दर्शन र पूर्वीय ज्ञानको वैज्ञानिक पक्षलाई संयोजन गरी समाजवादी शिक्षाको खाका तयार गर्दा उपयुक्त हुने देखिन्छ । अबको शिक्षाले नेपाली समाजमा प्रचलित कुप्रथाहरू हटाउने, अन्धविश्वास हटाउने तथा सामाजिक कलंकको रूपमा रहेको छुवाछुत प्रथालाई शीघ्र अन्त्य गर्ने संकल्प लिनै पर्दछ । वर्तमान परीक्षा प्रणालीमा आमूल परिवर्तन गरेर व्यक्तिको घोक्ने क्षमता भन्दा सिर्जनात्मक रूपले सोच्न क्षमतालाई टेवा दिने खालको परीक्षा प्रणाली अपनाउनु पर्दछ ।वर्तमानमा प्रचलित घोकन्ते शिक्षाको सट्टामा अनुसन्धानात्मक शिक्षामा जोड दिनसके मात्र त्यो समाजवाद उन्मुख हुन सक्दछ। शिक्षा अहिलेजस्तो बेरोजगारहरू उत्पादन गर्ने साधनमा परिणत हुनुहुँदैन ।

निष्कर्ष :
समाजमा वर्गको उत्पत्तिसँगै शिक्षाको स्वरूप पनि वर्गीय हुन पुग्यो । शिक्षा राजनीतिबाट अलग हुँदैन । पूँजीवादी समाजमा शिक्षाले केवल पूँजीपति वर्गको मात्र सेवा गर्दछ । वुर्जुवा शिक्षाले श्रम र श्रमिकलाई घृणा गर्ने, कामचोर, उत्पादनबाट अलगिने, चरम स्वार्थी, व्यक्तिवादी र ठालुवादी मानसिकता बोकेका परजीवीहरू मात्र पैदा गर्दछ । पूँजीवादी समाजमा शिक्षालाई व्यापारीकरण गर्दै नाफा नोक्सानको विषय बनाइन्छ । यस्तो समाजमा सम्पन्न र विपन्नले समान खालको शिक्षा प्राप्त गर्ने कुराको कल्पना नै गर्न सकिन्न । उच्च शिक्षा र प्राविधिक शिक्षा केवल धनाढ्यका छोराछोरीको निम्ति मात्र हुन्छ । पूँजीवादी व्यवस्थामा प्रतिभाको कुनै कदर हुँदैन, अर्थात् प्रतिभाशाली तर विपन्न छ भने त्यस्ता व्यक्तिहरूले गुणस्तरीय शिक्षा पाउन सक्ने कुरै हुँदैन । शिक्षामा भएको वर्ग विभाजनले समाजमा झन् ठूलो वर्गीय खाडल तयार गर्दछ । यसको विपरीत समाजवादी शिक्षाको उद्देश्य उन्नत र न्यायपूर्ण समाज निर्माण गर्नु हो । निजी र नाफामुखी वुर्जुवा शिक्षालाई समाजवादी शिक्षा पद्धतिले विस्थापित गर्दछ । समाजवादी शिक्षाले समाज र राष्ट्रको आवश्यकता अनुसार पाठ्यक्रम तयार पार्दछ । बालबालिकाको रूचि, क्षमता र बाल मनोविज्ञान अनुरूपका विषयवस्तु छनौटको सुविधा हुन्छ । व्यक्तिगत हित र स्वार्थलाई भन्दा सामुहिक हित र सामाजिक स्वार्थलाई ख्याल गरिन्छ । आम नागरिकलाई समाजवादी मूल्यमान्यताद्वारा प्रशिक्षित गर्दै उन्नत र न्यायपूर्ण समाज निर्माणमा सहयोग पु¥याउनु समाजवादी शिक्षाको उद्देश्य रहन्छ । समाजवादी शिक्षा प्रणालीमा शिक्षा राज्यको दायित्व भित्र पर्नुका साथै शिक्षामा राज्यको लगानी, नियन्त्रण, निर्देशन, परिचालन र नियमन हुन्छ । पुरातन समाजका खरावीहरू हटाउँदै नवीनतम समाजव्यवस्था निर्माण गर्ने उच्च आदर्शबाट प्रेरित हुन्छ समाजवादी शिक्षा ।

विगतमा सोभियत संघ, समाजवादी चीन, प्र.ज.ग. कोरिया आदि राष्ट्रले आर्जन गरेका समाजवादी शिक्षा प्रणालीको अनुभवहरूको गहन अध्ययन र अनुसन्धान गरी आगामी समाजवादी शिक्षा पद्धतिको महान् राजमार्ग निर्माण गर्न सकिन्छ । ज्ञान, सीप र प्राविधिक शिक्षालाई उत्पादन र नवीन आविष्कारहरूसँग एकीकरण गरेर मात्र समाजवादी शिक्षाको आधारभूमि तयार हुन्छ । समाजवादी शिक्षाले सम्पूर्ण क्षेत्रमा सामन्तवाद र पूँजीवादका सबै अवशेषहरू समाप्त पार्नु पर्दछ । पूँजीवादी शिक्षाले पूँजीवादको सेवा गर्छ, समाजवादी शिक्षाले समाजवादको सेवा गर्दछ । सिकारुहरूमा सामूहिक भावनाको विकास गराउने, शोषण, दमन, अन्याय, अत्याचारविरुद्ध प्रतिरोध गर्न सिकाउनुका साथै संसारभरकै समस्त श्रमजीवी समुदायप्रति भातृत्वको भावनाको विकास गराउने महान् र उदात्त उद्देश्य समाजवादी शिक्षाको हो । समाजवादी शिक्षा प्रणाली द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित हुन्छ र यो सबै श्रमजीवी जनताको मौलिक अधिकारको रूपमा प्राप्त हुन्छ । पुरानो शिक्षा प्रणालीले किताब मात्र पढाउँछ । समाजवादी शिक्षाले किताब होइन जीवन पढाउनु पर्दछ ।

सन्दर्भ पुस्तकहरू :
१.श्रम, शिक्षा र चरित्र निर्माण–नाजेज्दा क्रुप्सकाया (अनुवाद–नारायण गिरी)
२.शिक्षा विमर्श भाग–१ –राजकुमार बराल
३.शिक्षा र जनवादी शिक्षा –गुणराज लोहनी
४.जनवादी शिक्षा अवधारणा, संभावना ंर भविष्य –यादव आचार्य
५.कम्युनिष्ट पार्टीको घोषणापत्र –कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स (अनु. कृष्णप्रकाश श्रेष्ठ)
६.साम्यवादका सिद्धान्तहरू– फ्रेडरिक एंगेल्स (अनु. कृष्णप्रकाश श्रेष्ठ)
७.महान् सर्वहारा सांस्कृतिक क्रान्ति – विलियम हिन्टन (अनु. युवराज पन्थी)
८.नेपालको संविधान, २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *