सहकारी सञ्चालक पदाधिकारीलाई विकास तालिम

पाल्पा,पूर्वखोला गाउँपालिकासहकारी शाखाकाे आयोजनामा गाउँपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूका पदाधिकारी सञ्चालक एवं कर्मचारीका लागि चारदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिका छ वटै वडामा रहेका सहकारी संस्थाको संस्थागत विकास तथा सहकारी संस्थाका पदाधिकारी सञ्चालक तथा संस्थामा कार्यरत कर्मचारीहरूको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी गराउनुभयाे ।पूर्वखोला गाउँपालिकाका छ वडामा चाैध वटा सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेका छन् । जस मध्ये दस वटा सहकारी संस्था सक्रिय रुपमा नागरिकहरूलाई सेवा गरिरहेका छन भने चारवटा सहकारी संस्था निष्कृय रहेका छन् ।गाउँपालिकामा सञ्चालित सहकारी संस्थाबाट तालिममा ३२ जनाको सहभागिता रहेको थियो ।

तालिममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डे,जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनी, पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक यज्ञप्रसाद श्रेष्ठ र गाउँपालिका स्तरीय सहकारी समन्वय समिति संयोजक यमबहादुर खत्रीले सहकारी व्यवस्थापन र क्षमता विकासका विषयमा सहजीकरण गर्नुभएको सहकारी शाखा प्रमुख शर्मिला चौधरीले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सहकारी संस्था हुँदा खाने वर्गको सारथी भएको बताउनुहुदै उहाँले सहकारीहरु उद्देश्य अनुसार आर्थिक रुपमा पछाडि परेको वर्गलाई उत्थान गर्ने गरि काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो पछिल्लो समय सहकारीहरूका विषयमा आइरहेका नकरात्मक समाचारले सहकारीमा कारोबार गर्नेहरुलाई पनि सहकारी प्रति अविश्वास बढिरहेको अवस्था रहेको अध्यक्ष थापाले बताउनुभयो । त्यसैले पनि सहकारीका जिम्मेवार पदाधिकारी सञ्चालक तथा संस्थाका कर्मचारीहरुलाई सहकारीको मर्म अनुसार काम गर्नुपर्छ भन्ने उत्साह थप्न तालिम आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष भागीरथी शर्मा भट्टराईले सहकारीसंग आबद्ध नागरिकलाई समय अनुसार सीप तथा क्षमता विकास तालिम सञ्चालन गर्दा सेवा प्रवाहमा सहयोग पुग्ने बताउँदै उहाँले तालिममा सिकेका कुरा व्यवहारमा लागु गरेर सहकारीलाई थप व्यवस्थित गराउन आग्रह गर्नुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले सहकारी संस्थाका सञ्चालकहरुलाई जिम्मेवार बनाउन र कर्मचारीको क्षमता विकासका लागि तालिम सफल भएको विश्वास व्यक्त गनुभयो । उहाँले प्रशिक्षणमा सिकाइएको ज्ञान र विषयबस्तुलाई प्रतिबद्धता अनुसार पूर्वखाेला गाउँपालिका भित्र सञ्चालित सहकारीहरुले थप प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने बताउनुभयो ।यसै बीच गाउँपालिकाभित्र दर्ता भएर निष्कृय रहेका सहकारी संस्थाहरुका लागि एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा दुई वटा वडामा रहेका निष्कृय सहकारी संस्थाका पदाधिकारी सञ्चालकहरुलाई भेला गराई अन्तरक्रिया छलफल गरिएको हो । जसमा सहकारी संस्थालाई प्रश्नावली फाराम भर्न लगाई निष्कृय सहकारी संस्थाहरुको सहकारी संस्था सञ्चालक समितिका पदाधिकारीहरुलाई सहकारी संस्थालाई पूर्ण रुपमा सक्रिय सञ्चालनमा ल्याउने प्रतिबद्धता सहित हस्ताक्षर समेत गराइएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले ती निष्क्रिय रहेका सहकारी संस्थालाई आवश्यक पर्ने सहयोग एवं सहजीकरण सेवा उपलब्ध गराउने तर नागरिकको सेवाका लागि स्थापना भएका सहकारीहरु नागरिक मैत्री भएर सञ्चालन हुनुपर्नेमा गाउँपालिकाले जोड दिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *