सात करोडको साँस्कृतिक डबली सञ्चालन नहुँदै   जीर्ण

पाल्पा, लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपैयाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको साँस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो। श्रीनगर साँस्कृतिक डबली सञ्चालन गर्नका लागि  कार्यविधि र निर्देशिका बनाउन लुम्बिनी प्रदेश सरकारको ध्यान पुगेको छैन। स्थानीय बासिन्दाले प्रदेश सरकारको बेवास्ताका कारण नै जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको बताएका छन्।

तानसेन–७, कैलाश नगरका स्थानीय बासिन्दा बलबहादुर रानाले साँस्कृतिक डबली सञ्चालन गर्ने भनेको डेढ वर्ष बितिसकेको भएतापनि उहाँले अहिलेसम्म सञ्चालन नआएको बताउनुभयाे ।‘ कहिले नगरपालिकाले सञ्चालन गर्ने भन्ने सुनिन्छ, कहिले लुम्बिनी प्रदेश सरकारबाट सञ्चालन गर्ने भन्ने सुनिन्छ’, तर यथार्थ केहाे आफुलाई जानकारी  नभएको उहाँले भन्नुभयाे।

बनेको डबली भित्र झारपात उम्रिएकाे र निर्माण भएको संरचनामा समेत क्षति पुगेको छ। तर लामो समयसम्म पनि प्रदेश सरकारले साँस्कृतिक डबली सञ्चालन गर्नेबारेमा निर्णय गर्न नसकेको तानसेन नगरपालिकाले जनाएको छ।

तानसेनमा साँस्कृतिक डबली बन्नु राम्रो भएता पनि निर्माण सम्पन्न भएको डवलीलाई लामो समयसम्म  सञ्चालनमा ल्याउन नसक्नुले पनि आम नागरिक  नगरपालिका माथि प्रश्न उठाउँनु स्वभावतः सकारात्मक नै भएको तानसेन नगरपालिका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी भरत आचार्यले बताउँनुभयाे। नगरपालिकाले डबली सञ्चालन गर्न दिनु भनेर लुम्बिनी प्रदेश सरकारलाई पत्र पठाएकाे भएपनि लुम्बिनी सरकारबाट पत्रकाे जवाफ नआएको उहाँले बताउँनुभयाे।

वि.स.२०७७ असारमा सम्झौता भइसुरु भएको निर्माण गरिएको साँस्कृतिक डबली निर्माण सम्झौताको म्याद भन्दा एक वर्ष ढिला गरी डेढ वर्षअघि निर्माण कार्य सकिएको थियो। लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपैयाँकाे लगानीमा श्रीनगर साँस्कृतिक डबली निर्माणको भएको थियो। सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस,पार्किङ स्थल,बाउन्ड्री,बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको भएपनि अहिले   ती संरचनाहरूमा झारपात उम्रिएका छन्।

यत्रतत्र फोहोर देखिन्छ। डबलीभित्र स्वास्थ्य जाँच केन्द्र , टिकट घर तथा सुरक्षा गार्ड बस्ने घर निर्माण गरिएको छ। जसमा सांस्कृतिक डबलीभित्र बसेर पाँच सय जनाले विभिन्न जातजाति,भाषाभाषीको नाच तथा साँस्कृतिक प्रस्तुतिलाई अवलोकन गर्न सक्नेछन्। 

सांस्कृतिक डबली सञ्चालन संगै स्वदेश विदेशका  पर्यटक आवागमनमा वृद्धि हुने भनिएता पनि बीना  सञ्चालन डवलीका संरचनाहरू जीर्ण हुँदै गएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउँनुभयाे। उहाँले बनेको संरचनाको संरक्षणका लागि पनि तत्कालै सांस्कृतिक डबली सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष भट्टराईले बताउँनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *