सार्वजनिक शिक्षा सुधारका लागि १९ बुँदे प्रतिबद्धता

पाल्पा, जिल्ला समन्वय समिति पाल्पा र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाकाे आयोजना,सामाजिक स्रोत विकास केन्द्रकाे सहकार्यमा “सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सराेकारवाला बीच अन्तक्रिर्या “कार्यक्रम भएको छ । जिल्लाका दस स्थानीय तहहरूमा शिक्षासंग सराेकार राख्नेहरू शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक अभिभावक तथा अन्य सम्वन्धित ब्यक्तिहरू सहित स्थानीय सरकारका प्रतिनिधि , संघीय प्रतिनिधि सभाका प्रतिनिधि, प्रदेश सभाका प्रतिनिधि सहित सार्वजनिक पद धारन गरेका विशिष्ट ब्यक्तित्वहरूकाे उपस्थितिमा पाल्पामा जिल्ला स्तरीय भेला गरिएको हाे।

जिल्ला स्तरीय भेलाबाट १९ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ । जिल्लाका दस स्थानीयतहमा शिक्षा क्षेत्रकाे काम गरिरहेका संघ संस्था,सरोकारवालासंगको भेलाबाट सार्वजनिक शिक्षा सुधार गर्नका लागि १९ वटा बुँदामा प्रतिबद्धता जनाउँदै कार्यक्रममाअठोटका साथ अघि बढ्ने धारणा ब्यक्त गर्नुभएकाे थियोे ।स्थानीय सरकार, प्रतिनिधिसभाका प्रतिनिधि, प्रदेश सभाका प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूले सार्वजनिक शिक्षालाई सुधार गर्न सबै एकमतका साथ अघि बढ्न प्रतिबद्धता ब्यक्त गर्नुभएकाे हाे ।

जिल्ला भेलामा घाेषणा गरिएको प्रतिबद्धतापत्रमा स्थानीय सरकारले सार्वजनिक शिक्षाको न्युनतम गुणस्तरको मापदण्ड बनाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । यस्तै सरकारी तलब भत्ता बुझ्ने शिक्षक,कर्मचारी,जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका विशिष्ट व्यक्तित्वहरूका छोराछोरी लाई सामुदायिक विद्यालयमा अध्यापन गराउने,सुरक्षित बालमैत्री पूर्वाधार सहितको भौतिक संरचनाको निर्माण गर्ने जस्ता विषय घाेषणा- पत्र जारी गर्दै प्रतिबद्धता गरिएको छ ।

घाेषणा-पत्रमा निःशुल्क तथा अनिवार्य गुणस्तरीय सार्वजनिक शिक्षा सुनिश्चितताको लागि स्थानीय सरकारले कक्षा कोठाको शिक्षण सिकाई क्रियाकलापसँग सम्वन्धित शैक्षिक सामग्रीकाे उपलब्धता, शिक्षकहरूको क्षमता विकास तथा बालमैत्री बसाई, शिक्षा शाखामा जनशक्ति व्यवस्थापन लगायतका क्षेत्रमा लगानी बढाउने, प्रत्येक शैक्षिक सत्रको सुरुवातमा विद्यालयका शिक्षकहरूले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले पालिकासँग शैक्षिक सत्रको अन्त्यमा देखाउनुपर्ने नतिजाको करार संम्झौंता गर्ने कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता जनाउनुभएकाे छ ।

यस्तै विद्यालय शिक्षामा आबद्ध हुन नसकेका बालवालिकाको पहिचान गरी विद्यालयसम्म ल्याउने, टिकाउने र तिनीहरुलाई समाजमा जीवनयापन गर्न सक्षम गराउने, साताको एक दिन रचनात्मक क्रियाकलाप गर्ने, आईसिटीको माध्यमबाट विद्यालय शिक्षाको गुणस्तरमा सुधार ल्याउन प्रतिबद्धतामा उल्लेख छ ।यस्तै हरेक पालिकामा बीग स्कुल निर्माण गर्ने, पाठ्यघण्टामा कमी नहुने गरी विद्यालय सञ्चालन गर्ने, विद्यार्थीहरूको भोक मेटिने गरी खाजा नास्ताको व्यवस्थापन गर्ने, शैक्षिणिक योजना अनुसार अघि बढ्ने, प्रभावकारी अनुगमन गर्ने, अभिभावकको सहभागितालाई प्रभावकारी बनाउने, विद्यालयकाे गुरुयोजना, सुधार योजना तयार गरी कार्यान्वयन गर्ने, विद्यालयमा नर्सको व्यवस्था गर्ने, विद्यालयमा भड्किलो संस्कृतिक कार्यक्रम नगर्ने जस्ता प्रतिबद्धता जनाइएको छ ।

प्रतिबद्धताले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले बताउनुभयो । कार्यक्रममा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले नेतृत्वको नियत सही भएको खण्डमा विद्यालय सुधार गर्न सकिन्छ उहाँले भन्नुभयो । अहिलेको समस्या भनेको नियत नै हो, पद, प्रतिष्ठा, पैसाको रहेकाले त्यसलाई अन्त्य गरेर मात्र सबै क्षेत्रको सुधार गर्न सकिन्छ उहाँले भन्नुभयो । जिल्लाको शिक्षा क्षेत्रमा लगानी कम भएकाले त्यसलाई बढाउनुपर्ने र त्यसलाई इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्ने सभामुख घर्तीमगरको भनाई रहेको छ । यस्तै प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले देशका लागि आवश्यक जनशक्ति पहिचान गरेर देशभक्त विद्यार्थी तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशका लागि सेवा गर्ने र विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न आवश्यक रहेकोमा कुरामा जोड दिनुभयो ।यस्तै अर्का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले शिक्षा क्षेत्रमा भइरहेको लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सबैको महत्वपूर्ण भूमिका रहेकोले त्यसतर्फ सबैकाे ध्यानजान जरुरी रहेको बताउनुभयो ।

लुम्विनी प्रदेशसभा सदस्य वीरबहादुर राना, खेमबहादुर सारु, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेसका कार्यवाहक सभाापति झपेन्द्र गहिरे, रास्वपाका उपसभापति सुमन गैरे, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा एकीकृत समाजवादीका सचिव मोहनलाल गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्याब्सन पाल्पाका अध्यक्ष महेशलाल शाक्य लगायतले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदी ,सामाजिक विकास स्राेत केन्द्र नेपालका निर्देशक चाेपलाल गिरी,नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्णबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।कार्यक्रम जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालको अध्यक्षतामा सामाजिक स्राेत विकास केन्द्रकाअध्यक्ष राजेश श्रेष्ठकाे स्वागत र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *