साहित्यकार अर्यालकाे घुस्सा र प्रा. डा. लामिछानेको राराकाे डिलमा कृति लोकार्पण

पाल्पा, तरङ्ग साहित्य सङ्गम पाल्पाको आयोजनामा लेखक तथा साहित्यकार रामप्रसाद अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध सङग्रह ‘घुस्सा’ पुस्तक एक कार्यक्रमका बीच विमोचन गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री तथा साहित्यकार प्रदीप ज्ञवालीले अर्याल र लामिछानेले लेख्नुभएको पुस्तकलाई सार्वजनिक गर्दै राष्ट्रगानसँगै पानसमा दीप प्रज्जवलन गरि कृति लाेकार्पण कार्यक्रमकाे उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमकाे उद्घाटन मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि ज्ञवालीले फोटोग्राफी र साहित्यमा फरक रहेको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले लाेकार्पण कार्यक्रममा बाेल्नुहुँदै स्रष्टाले समाजको चित्रण मात्र नगरीकन पुनर्सिर्जना पनि गर्छ भन्ने मान्यता आफुले राख्ने गरेको बताउँदै ज्ञवालीले असतबाट सत्यतिरको अनवरत यात्रा नै मानव सभ्यता हो भन्नुभयो । उद्घाटन मन्तब्यमा उहाँले भन्नुभयो यस क्रममा स्रष्टाहरूले सिर्जनाबाट नै सकारात्मक हस्तक्षेप गर्दै आएको र सकारात्मक सन्दर्भ पनि रहेको कुरा उहाँले उल्लेख गर्नुभयो । प्रा.डा.कपिल लामिछाने र साहित्यकार तथा लेखक रामप्रसाद अर्याल उद्देश्यमूलक ढंगले सिर्जनामा लाग्ने स्रष्टाहरू रहेको यथार्थलाई पनि उहाँले उल्लेख गर्नुभयो । “कपिल लामिछानेले नियात्राका माध्यमबाट पाठकलाई सँगै हिँडाउने काम गर्नुभएको छ । हामी घुमिरहेका हुन्छौँ तर लेख्ने सामर्थ्य सबैमा हुँदो रहेनछ” उहाँले भन्नुभयो ।

त्यस्तै लेखक, साहित्यकार, व्यङ्ग्यकार रामप्रसाद अर्यालका सम्बन्धमा उहाँको टिप्पणी थियो-”रामप्रसाद अर्याल व्यङ्ग्य लेखनमा निर्मम नै हुनुहुन्छ । उहाँका निबन्धमा सिस्नोपानी लगाउनुपर्ने प्रवृत्तिमाथि सटीक व्यङ्ग्य गरिएको छ ।” ज्ञवाली भन्नुहुन्छ सामाजिक मूल्य स्थापनाका लागि स्रष्टाहरूबाट यस्तै किसिमले खबरदारी गर्नुपर्ने र हुनुपर्ने सुझाव राख्नुहुँदै उहाँले इतिहासको सन्दर्भ उल्लेख गरी साहित्यकारले सधैँ सत्तालाई खबरदारी गर्दै आएको कुरा समेत स्मरण गर्नुभयो । वर्तमानको समयका सिर्जनामा सन्तुलन खस्किएको हो कि भन्ने आशंका व्यक्त गर्दै उहाँले धेरै निराशा मात्रै नदेखाऔँ भन्दै सकारात्मक सन्देश दिने सिर्जना आजको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । ”साहित्यकारले सियोले जस्तै सिउने काम गर्नुपर्छ कैँचीले झैँ काट्ने होइन” भन्ने उहाँको निष्कर्ष थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा ‘राराको डिलमा’ कृतिका लेखक प्रा.डा.कपिल लामिछानेले नियात्राको प्रवृत्तिलाई झल्काउनुका साथै राराको डिलमा कृतिको रचनागर्भका बारेमा उल्लेख गर्नुभयो । “जीवन नै यात्रामय छ, हाम्रा सबै गतिविधि यात्रामय छन्, तिनै कुरालाई निबन्धको ढाँचामा प्रस्तुत गरिएको हो” उहाँको कथन थियो ।कृतिकार रामप्रसाद अर्यालले कृति लेखनको सन्दर्भ उल्लेख गरी सम्पूर्ण व्यक्ति र संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । “यस सङ्ग्रहभित्र समाजमा भित्रिएका विकृतिको सुधारका लागि लेखिएका रचनाहरू रहेका छन् । व्यङ्ग्य मेरो रुचिको क्षेत्र भएकाले यसैमा कलम चलाएको हुँ” उहाँले भन्नुभयो ।

लाेकार्पण कार्यक्रममा साहित्यकार समिक्षक डा. टंक पन्थले साहित्यकार,लेखक,व्यङ्ग्यकार रामप्रसाद अर्यालको ‘घुस्सा’ निबन्ध सङ्ग्रह माथि टिप्पणी गर्दै अर्यालले लेख्नुभएको कृतिले हास्यव्यङ्ग्य निबन्धका माध्यमबाट समाजका विकृतिहरूमाथि व्यङ्ग्यको झटारो हान्नुका साथै सुधार र परिष्कारको आग्रह समेत राखेको कुरा उल्लेख गरियो । सबै नीतिको मूलनीति राजनीति नै प्रदूषित हुनाले राज्यका सबै क्षेत्रलाई असर पारेको निष्कर्ष सहित समिक्षक पन्तले भन्नुभयो त्यस्ता प्रवृत्तिलाई घुस्सा हान्ने काम भएकोले पनि निबन्धको शीर्षक सार्थक रहेको कुरा प्रष्टाउनुभयाे । उहाँले भाषिक अनुप्रास र उखान टुक्का र लोकोक्तिको मनग्गे प्रयोगले कृतिलाई रोचक र घोचक बनाएको कुरालाई उल्लेख गर्नुभयो । त्यस्तै अर्का समिक्षक साहित्यकार रूद्र ज्ञवालीले प्रा.डा. कपिल लामिछानेको ‘राराको डिलमा’ लिखित कृतिमाथि टिप्पणी गर्ने काम गर्नुभयो । उहाँले नियात्राले समेटेको विषयबस्तु र अनुभूति पक्षलाई प्रकाश पार्नुभयो । कपिल लामिछानेले आफूले भ्रमण गरेका ठाउँहरूको चित्रात्मक झलक प्रस्तुत गर्नुका साथै सौन्दर्यपूर्ण कलात्मक प्रस्तुतिद्वारा अभिव्यक्तिलाई सजाउन सफल रहेको कुरालाई उहाँले कृति समिक्षाकाे क्रममा प्रस्तुत गर्नुभयो ।कृति लाेकार्पण कार्यक्रममा राजेशकुमार अर्याल, सोमनाथ अर्याल, युवराज पौड्याल, पुष्करराज रेग्मी, रेखीराम राना, वरिष्ठ पत्रकार मेघराज शर्माले आ-आफ्नो भनाइ सहितको शुभकामना मन्तब्य राख्नुभएको थियोे । उहाँहरूले कृतिकारद्वय प्रा.डा. कपिल लामिछाने र रामप्रसाद अर्याललाई बधाई ज्ञापन गरी उत्तरोत्तर साधनाका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

तरङ्ग साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्माकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण अधिकारीकाेस्वागत र संस्थाका सचिव प्रेमराज खरालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *