सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्न सुरु

पाल्पा, राष्ट्रिय गौरवकाे आयोजनाकाे रुपमा लिएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल -पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्ने काम सुरुभएको छ । सुरुङ निर्माण कामको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार एक सय छब्बीस मिटर (१.१२६ किलोमिटर) सुरुङ खन्ने काम सुरु गरेको हो ।सिद्धबाबाको पाल्पातर्फ सिद्धबाबा मन्दिरदेखि दोभानकाे राम पिथेकस पार्क हेडबक्ससम्म निर्माण हुने सुरुङमार्गको पोर्टल, बाइपास टेल तथा स्लोपसँगै सुरुङ खन्न सुरु भएको जानकारी सुरूङमार्ग निर्माण आयोजना प्रमुख रामपुकार जयसवालले गराउँनुभयाे ।सुरुङमार्गको मुख्य टनेल खन्ने काम थालनी भए पनि परियोजना भने २०७७ देखि नै सुरु भएको हो । ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण हुँदै गरेको याे सुरूङमार्ग परियोजनालाई राष्ट्रिय योजनाआयोगले बहुवर्षीय परियोजनाकाे रूपमा स्वीकृत गरेको उहाँले बताउँनुभयाे । बहुवर्षीय ठेक्का मापदण्ड- २०७६ बमोजिम निर्माण कार्य अघि बढेको परियोजनाको समयावधि पाँच वर्षको रहेको उहाँले भन्नुभयो ।चिनियाँ निर्माण कम्पनीले सन् २०२७ मा परियोजना सम्पन्न गर्नुपर्ने सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख जैसवालले जानकारी दिनुभयो ।‘परियोजनाको काम अघि देखि नै भइरहेको छ । साइट क्लियरिङ्ग, डिजाइन तथा अध्ययनको काम भइरहेको थियो । मुख्य टनेलको काम केहि दिन यता अन्य काम सकेर सुरु भएको हो,’ परियोजना प्रमुख जैसवालले भन्नुभयो।

सिद्धबाबा–पाल्पा छेड्ने मुख्य टनेलको लम्बाइ एक हजार छब्बीस मिटरको छ भने सहायक टनेलहरुको लम्बाइ दुई हजार मिटर भन्दा बढी हुने परियोजना प्रमुख जैसवालले बताउँनुभयो । खासगरी बुटवल-पाल्पा सडक खण्ड अन्तर्गतको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडकक्षेत्र पहिरोको उच्च जोखिमका कारण खतरापूर्ण छ । प्रायः बर्खायाममा पहिरो झरिरहने यो चट्टानी क्षेत्रमा हिउँदमा समेत सुक्खा पहिरोको कारणले उत्तिकै जोखिम रहेको छ । बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउँदै आएको यस क्षेत्रलाई मृत्युमार्गका नामले समेत चिन्ने गरिन्छ । यहि समस्याको दीर्घकालीन समाधानका लागि सरकारले आफ्नै लगानीमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *