स्थानीय पाठ्यक्रम पुनरावलोकनका लागि माथागढीमा अभिभमुखीकरण कार्यक्रम

पाल्पा, माथागढी गाउँपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम पुनरावलोकन तथा (मातृभाषा) मगर भाषाको पाठ्यपुस्तक निर्माण र छपाइका लागि अभिमुखीकरण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।माथागढी गाउँपालिकाले मातृभाषाको पाठ्यक्रम पुस्तक प्रकाशन र स्थानीय पाठ्यक्रमका विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया छलफल गरेको हो ।

अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकले स्थानीय मौलिकतालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य खेमबहादुर सारुले संविधानको व्यवस्था अनुसार स्थानीयतह हरूले आ-आफ्नै पाठ्यक्रममा आधारित भएर स्थानीय पाठ्यपुस्तक प्रकाशन गरेको बताउँदै अव त्यसलाई समय अनुकुल बनाउनुपर्ने बताउनुभयो ।

भाषा आयोगका सदस्य एवं भाषाशास्त्री अमृत योन्जन तामाङ्गले नेपालका रैथाने भाषाहरु लोप हुने क्रम बढेको बताउँदै त्यसको संरक्षणमा स्थानीय सरकारहरु बढी जिम्मेबार हुनुपर्ने बताउनुभयो ।

यस्तै मगर भाषाविद्  विष्णुकुमार सिंजाली मगरले मगरभाषा समेत लोपहुने क्रममा रहेको बताउँदै ७४ प्रतिशत मगर बसोवास रहेको माथागढीमा मगरभाषा र संस्कृतिको केन्द्र बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा तिनाउँ गाउँपालिकाका पूर्व अध्यक्ष ओमबहादुर घर्ती, गाउँ पालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, सामाजिक विकास समिति सदस्य राजकुमार पन्थी लगायतले गाउँपालिकाले आगामी दिनमा स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमलाई पुनरावलोकन गरेर जाने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष बोमबहादुर ठाडा, तेज बहादुर घर्तीमगर, गाउँ कार्यपालिका सदस्य, वडा सदस्य, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रअ, शिक्षक, प्रतिनिधि, कर्मचारी पत्रकार लगायत  व्यक्तित्वकाे उपस्थिति रहेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली र भाषाविद्  विष्णुकुमार सिंजाली मगर भाषाविद् तथा प्राज्ञ सभा सदस्य,  अमृत योन्जन तामाङ्ग, भाषा शास्त्री, सदस्य, भाषा आयोगले प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *